logo
२०८० चैत्र १६ शुक्रवार



दशैँको फेरिँदो शैली पुस्तक पढ्ने कलाकार

शनिवार |


दशैँको फेरिँदो शैली पुस्तक पढ्ने कलाकार


 ध्रुव लम्साल

कथानक चलचित्र ‘छ माया छपक्कै’ सुटिङअघि नै निर्माता दीपकराज गिरीले घोषणा गर्नुभएको थियो ‘दशैँमा रिलिज’ गर्ने भनेर । प्रायः फूलपातीको दिन फिल्म रिलिज गर्दै आउनुभएका गिरीले यसपालि पनि फूलपातीको साइत तोकेको अनुमान दर्शकदेखि अन्य निर्माता र हलमालिकसमेतले गरेका थिए ।
अघिल्ला फिल्म ‘छक्का पञ्जा’ सिरिज फूलपातीमै रिलिज गर्दै आउनुभएका दीपकराज यसपालि त्रयोदशीमा रिलिज गर्ने योजनामा पुग्नुभयो । कारण असोज १० गते अशोक शर्मा निर्देशित ‘रातो टीका निधार’ रिलिज हुने पक्का भयो भने यहीबीचमा ऋतिक रोशन अभिनीत हिन्दी फिल्म पनि दशैँ छेकोमै रिलिज हुने भएको छ । नेपाली दर्शकमा राम्रो प्रभाव पारेका ऋतिक रोशनले यसपालि पनि राम्रै छाप छोड्ने अनुमान गरिएको छ । साम्राज्ञी राणा र अङ्कित शर्मा अभिनीत ‘रातो टीका’को पनि व्यापार राम्रो हुने अनुमान फिल्मवृत्तमा गरिएको छ । यीबाहेक ‘बदनाम शेरे’ लगायतका फिल्म पनि दशैँमै रिलिज हुने तयारीमा छन् ।

दशैँप्रति निर्माताको आकर्षण
दशैंँ छेकोमा फिल्म प्रदर्शन गर्न चाहनु नेपाली फिल्म निर्माताको पुरानो चलन हो । दशैँंमा परिवारका सदस्य प्रायः जम्मा हुने र फुर्सदसमेत हुने भएकाले फिल्म हेरेरै मनोरञ्जन गर्ने चलन छ । अन्य समयमा फिल्म हल नजाने भए पनि दशैंँमा सिनेमा हलमै पुगेर रमाउने जमात ठूलै छ । त्यसो त मनोरञ्जनको साधन सीमित भएकाले पनि काठमाडौँलगायत मोफसलका सहरका सिनेमा हलमा दर्शकको भीड लाग्ने गरेको छ चाडपर्वमा । नायिका ऋचा शर्मा भन्नुहुन्छ, ‘हामीकहाँ मनोरञ्जनको साधन सीमित छ । त्यसकारण पनि बिदा भएको बेला सिनेमाहलमा दर्शकको भीड लाग्छ र निर्माताहरू यसको सदुपयोग गर्न चाहन्छन् ।’ अन्य कतिपय मुलुकमा फिल्मबाहेक मनोरञ्जनका अन्य साधनसमेत भएको उदाहरण दिँदै नायिका शर्मा भन्नुहुन्छ, ‘हाम्रोमा मनोरञ्जनको मुख्य साधन फिल्म नै हो अहिलेसम्म ।’ दशैंँ–तिहारजस्ता पर्वमा थिएटरहरू पनि बन्द हुने भएकाले सिनेमाहलप्रति दर्शकको आकर्षण बढी हुने निर्माताहरूको भनाइ छ ।

दशैंँ मान्ने शैलीमा परिवर्तन
कुनै समय थियो, दशैँंका परम्परागत शैलीमा मनाउँथे धेरै । प्रायः कलाकारहरूमा दशैँ–तिहारजस्ता पर्वमा जन्मघरै पुग्ने, घोर्ले खसी काट्ने, पिङ हाल्ने र गाउँघरमा रमाइलो गरेर मनाउने चलन थियो । काठमाडौँमा बस्नेहरू पनि दसैंँमा घरैमा खसी ढाल्थे । जब नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रमाउन थाले, धेरै कलाकारको गन्तव्य वैदेशिक भूमि बन्न थाल्यो । गाउँमा गएर चौतारोको पिङ खेल्न छोडेर विदेशमा बसेका नेपाली समुदायको बीचमा नाच्ने, गाउने परम्परा सुरु भयो । ‘आम्दानी पनि हुने विदेशमा बस्ने नेपालीसँग भेटघाट पनि हुने भएकाले विदेशको दशैँमा छुट्टै स्वाद हुन्छ,’ गायनमा सक्रिय हुनथाले पनि १५ वर्षजति विदेशमै दशैँ मनाउनुभएका गायक धीरज राईले अनुभव सुनाउनुभयो । पछिल्लो समय भने उहाँले घरमै दशैँ मनाउन थाल्नुभएको छ ।
विषेशगरी गायनमा सक्रिय कलाकारको दसैंँ यसपालि पनि विदेशमै हुने भएको छ । लोक, आधुनिक र पप गायनमा सक्रिय ३० बढी कलाकारको दशैँ विदेशमै हुने पक्का भएको छ । नेपालबाट विदेश जानेमात्रै हैन, लामो समय विदेशमै बस्नुभएका कलाकार पनि नेपाल आउँदा दशैँ छेको पारेरै नेपाल आउने गर्नुभएको छ । लामो समयदेखि अमेरिका बस्दै आउनुभएका भगवान भण्डारी यसपालि दशैँ छेकोमै नेपाल आउनुभएको छ । ‘दशैँको मौलिकता विश्वको जुनसुकै कुनामा पुगे पनि बिर्सन सकिँदैन,’ भन्नुहुन्छ उहाँ ।
खसी ढाल्ने परम्परा हराउँदै
दशैँ भन्नेबित्तिकै घरमा खसी ढाल्ने र खसीका मासुका विभिन्न परिकार बनाएर खाने चलन पुरानै हो । स्वास्थ्यप्रतिको चेतनाका कारण घरमै खसी ढाल्ने चलनलाई धेरैले छोडिसकेका छन् । ‘म त भेज हो, मेरो त भान्सा नै अलग हुन्छ । मेरो चुल्होमा माछा, मासु चल्दैन’ कलाकार दीपकराज गिरीले भन्नुभयो । कुनै समय दशैँ आउनु हप्ताअघि नै हजुरबाको खुत्रुके फुटाएर लङ्गुरबुर्जाको खालमा पुग्ने गिरी ती दिन सम्झेर आफैंँ हाँस्नुहुन्छ । ‘यतिसम्म कि मामाघरमा टीका लगाउन जाँदा पनि मेरा आँखा पैसामै हुन्थ्यो, दक्षिणा पाएपछि टीका नओभाउँदै लङ्गुरबुर्जाको खालमा पुगिहाल्थेँ,’ उहाँले भन्नुभयो । दीपकराजकै जस्तै अनुभव अन्य धेरै कलाकारसंँग छ । घोर्ले खसी डो¥याउँदै हिँडेको दिन सम्झँदै कलाकार जितु नेपाल भन्नुहुन्छ, ‘अहिले त ती दिन सम्झन्छौँमात्रै ।’

दशैँको साथी किताब
कलाकारहरू पढ्दैनन् भन्ने आरोप लाग्दै आएको भए पनि अहिलेका कलाकार भने पुस्तक पढ्न थालेका छन् । लगातारको सुटिङका कारण केही महŒवपूर्ण किताब पढ्न बाँकी रहेको धारणा राख्ने केकी अधिकारीको प्रायः दसैंँको साथी किताब हुने गरेको छ । दसैंँमा सुटिङलगायत अन्य काम नहुने भएकाले उहाँ किताब पढेरै दशैँ बिताउनुहुन्छ । ‘यसपालि पनि केही किताब किन्नु छ, त्यही किताब पढेर बिताउँछु,’ उहाँले भन्नुभयो ।केकी अधिकारीमात्रै होइन, नयाँ पुस्ताका थुप्रै कलाकारले दशैँको साथी किताबलाई बनाउने गर्नुभएको छ । ऋचा शर्मा, बेनिशा हमाल, सुरक्षा पन्तलगायतका कलाकारलाई केही किताब किनेपछि मात्रै दशैँ आउँछ । ‘मेरो मुख्य सपिङ भनेकै किताब हो,’ नायिका सुरक्षा पन्तले भन्नुभयो ।

पिङको सम्झना आउँछ
काठमाडौँलगायत मोफसलका सहरमा पिङ पातलिँदै गएको छ । सहरका छेउकुनामा कताकति पिङ हालिए पनि मध्यसहरमा पिङ दुर्लभ हुन थालेको छ । गजुरीबजार (माइती गाउँ)मा लिङ्गे पिङमा मच्चिएको कहिल्यै बिर्सनुहुन्न– नायिका रेजिना उप्रेती । ‘मलाई त पिङमा मच्चिन एकदमै रमाइलो लाग्छ तर काठमाडौँमा खेल्नै पाइन्न,’ उहाँले भन्नुभयो ।
विराटनगरमा हुँदा पिङमा राम्रै गरी मच्चिनुभएकी दीपाश्री निरौलाले पनि अहिले अरूले खेलेको हेरेरै चित्त बुझाउने गर्नुभएको छ, ‘पिङमा हल्लिन मज्जै लाग्थ्यो, काठमाडौँमा त्यो अवसर पाइन्न ।’ काठमाडौँमा पिङ खेल्न नपाए पनि हिँडडुल गर्नेक्रममा कताकति पिङ देखिन्छ । तर, विदेशी भूमिमा बसोबास गरेका कलाकारहरूले लगभग बिर्सिसके । लामो समयदेखि अमेरिका बस्दै आएकी नायिका ऋचा घिमिरेले फेसबुक म्यासेन्जरमा कुरा गर्दै भन्नुभयो, ‘हामीले त पिङ बिर्सिसक्यौँ भन्दा पनि हुन्छ ।’  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?