logo
२०८० चैत्र १६ शुक्रवार



सन्तान विदेसिएपछि घुमेरै सन्तोष

शनिवार |


सन्तान विदेसिएपछि घुमेरै सन्तोष


 विश्वनाथ खरेल

 

केही वर्षअघि एकजना लेखकले ‘छोरीज्वाइँ भेट्न अमेरिका’ भन्ने पुस्तक प्रकाशित गरेको सुनेथेँ । यो सुनेर रमाइलो पनि लागेथ्यो र आफ्ना पनि छोरीज्वाइँ अमेरिका भएका कारणले घुम्ने कल्पना जागृत भएथ्यो । यसरी मेरो अमेरिका भ्रमण गर्ने अत्यन्तै ठूलो धोको विक्रम संवत् २०७५ असारमा पूरा हुन लागेको थियो । विभिन्न देशका एयरपोर्टको ट्रान्जिटको सकस त छँदैथ्यो, अमेरिका पुगिसकेपछि पनि न्युयोर्कमा १३ घण्टाको ट्रान्जिट परेथ्यो । मैले घुमेका धेरै देशका एयरपोर्टभन्दा न्युयोर्कको अन्तर्राष्ट्रिय एयरपोर्ट विश्वकै ठूलो र राम्रोमा पर्दोरहेछ । सरसफाइका साथै व्यवस्थापनका दृष्टिकोणले पनि अति नै व्यवस्थित । असार १० गते यहाँबाट प्लेन चढेर १२ गते मध्यरातमा अष्ट्रिनमा अवतरण गरेँ । छोरीज्वाइँ एयरपोर्टमा तैनाथ भैरहनुभएकोले त्यसपछि भने ढुक्क भएथेँ । जब छोरीज्वाइँको घर पुगेँ, त्यहाँ लस्करै मिलेका एकनासका घर र घरबाहिर रहेको बगैँचाले बस्न अति राम्रो ठाउँ रहेछ अमेरिका जस्तो लाग्यो ।
अमेरिकाको मेरो बसाइका क्रममा केही समय पट्टाई नलागेको पनि होइन । उहाँहरू काममा गएपछि दिनभर घरमा एक्लै हुँदा नरमाइलो पनि लाग्थ्यो तर बस्दै जाँदा बानी पर्दै जाँदोरहेछ । बेलुकीको समयमा नजिकैको पार्कमा नातिनातिनीलाई घुमाउन लैजान थालेँ । त्यहाँ रहेको पार्कमा पिङ, सुरेली, भलिबल, बास्केटबल, साइकल खेल्ने राम्रो ठाउँ थियो । सोच्थेँ, यस्तै पार्क हाम्रो देशमा पनि यसरी नै ठाउँठाउँमा भए केटाकेटी र हामीजस्ता बूढाबूढीका लागि कति राम्रो हुन्थ्यो । यस्ता राम्रा र व्यवस्थित पार्कले मलाई सधैँ घचघच्याइरहन्थ्यो । यो भ्रमण मेरो दोस्रो पटकको भएकोले पहिलो पटकमा सँगालेका केही अनुभवले यतिबेला अलिक सजिलो बनाइदिएको थियो ।
एक हप्तापछि छोरीज्वाइँ र नातिनातिनीसहितको सातदिने भ्रमण तय भयो । भ्रमणमा न्युजर्सी, न्युयोर्र्क, मेरील्याण्ड, भर्जिनिया, डि.सी., ग्राउण्ड जिरो न्युयोर्क, सिकागो परेका थिए । गगनचुम्बी भवनहरू, मनमोहक सामुद्रिक दृश्य, विभिन्न सहरको डाउनटाउन, न्युयोर्कको म्यानहटन, टम्प टावर, स्ट्याचु अफ लिबर्टी हामी नेपालीका लागि जति मनमोहक थिए, त्यति नै आश्चर्यचकित पार्ने दृश्य पनि थिए । यसै यात्राको क्रममा नायग्रा फल्स पनि हेर्ने मौका मिल्यो । यो विशाल झरना ज्यादै नै मनमोहक रहेछ । विभिन्न देशबाट आएका हजारौँ अवलोकनकर्ता झरनाको मनोरम दृश्य हेरेर रमाइरहेका थिए ।
अमेरिका धेरै नेपालीका लागि सपनाको देश भएको छ । अमेरिका गएपछि डलर टिप्न पाइन्छ भन्नेहरू पनि छन् तर पूर्णतया यो सत्य होइन । मेरो छ महिनाको बसाइको अनुभवले के भन्यो भने अमेरिका मेहनती र जाँगरिला मानिसका लागि मात्र हो रहेछ । जुनसुकै दुःख गर्न पनि पछि नपर्नेका लागि अमेरिका अवसरको खानी रहेछ । त्यही भएर होला नेपालीहरूको अमेरिकाको मोह ज्यादै नै प्रबल भएको । नेपालमा जस्तो नातावाद, कृपावाद, भनसुन, राजनीतिक सोर्सफोर्स नचल्ने भएकोले सबैलाई समान अवसर प्राप्त हुने रहेछ । हामी टेक्सस राज्यको राजधानी अष्ट्रिनमा अवस्थित संसद् भवन
‘क्यापिटल हिल’ हेर्न गयौँ । संसद् भवनभित्रै गएर अवलोकन गर्ने अवसर पाइयो । त्यहाँको संसद् भवन निकै भव्य थियो ।
त्यसपछि हामी अर्को महिना छोरीज्वाइँको छुट्टी मिलाएर हुस्ट्रन भ्रमणमा गएका थियौँ । हुस्ट्रन तेल व्यापारका लागि विश्वप्रसिद्ध रहेछ । हामीले त्यहाँ विश्वप्रसिद्ध नासाको कन्ट्रोल सेन्टर र रकेट म्युजियमको भ्रमणसमेत गर्ने मौका पायौँ । चन्द्र धरातलमा पहिलो पटक मानव पठाएको रकेट एपोलोको पनि अवलोकन ग¥यौँ । अर्को पटकको छुट्टीमा सानआन्टोनियो गयौँ । । त्यहाँ हामीले सि वल्र्ड भ्रमण ग¥यौैँ । ठूल्ठूला माछाजस्तै ह्वेल, डल्फिन, सि लाइनजस्ता तालिमप्राप्त सामुद्रिक जीवजन्तुको अद्भुत प्रदर्शन देख्न पाइयो ।
अमेरिकामा हरेक कुरा व्यवस्थित हुनुका साथै नियम–कानुनमा चलेको देश रहेछ । सबै घर सरकारी मापदण्ड अनुसार बनेकाले घरको अगाडिपट्टि दुईटा रुख अनिवार्य रूपमा रोप्नुपर्ने कानुनी प्रावधान रहनुका साथै अगाडिपट्टि अरू कुनै किसिमको निर्माण कार्य गर्न नहुने रहेछ । दुबोेको हरियो बगैँचा राख्नैपर्ने, बगैँचामा रहेका झारपातलाई समयसमयमा गोड्नैपर्ने र झारपात हटाइएन भने सरकारले जरिवाना तिराउने रहेछ । त्यही भएर सबैका घरअगाडि सफा हरियाली देख्न पाइँदोरहेछ ।
अमेरिकामा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत कुराहरू व्यवस्थित रहेको पाइयो । छ महिनाको बसाइमा एकदुई पटक मात्र बिजुली बत्ती गएको अनुभव छ । त्यो पनि १०÷१५ सेकेण्डमै सुचारु भइहाल्थ्यो । इन्टरनेट पनि भरपर्दो र दु्रतगतिको रहेको अनुभव भयो । अष्ट्रिन पहिले ज्यादै गर्मी हुने स्थान रहेछ । यो ठाउँ पहिले मरुभूमिजस्तो रहेको कुरा त्यहाँका स्थानीयहरूबाट जानकारी पाएँ । सहजरूपमा बस्नयोग्य बनाउन त्यहाँको सरकारले धेरै मेहनत गरेर पर्यावरणयुक्त स्थान बनाएको रहेछ । अहिले पनि गर्मी मौसममा एक सय १० फरेन्हाइटसम्म तापक्रम पुग्दोरहेछ । वातावरण सन्तुलन मिलाएर स्वच्छ बनाउने रुखबिरुवाहरू छनोट गरी रोपिएको रहेछ । यसले गर्दा वातावरण अनुकूल भएको हो भन्ने बुझियो । हामी बसेको ठाउँ अष्ट्रिन सुक्खा भए पनि सबै कुराको व्यवस्था मिलाएको हुनाले यो सहर अमेरिकामा बस्न योग्य सहरमध्ये उत्कृष्टमा पर्दोरहेछ । अमेरिकामा रहेका ठूल्ठूला स्टोरजस्तै वालमार्ट, मेसी, एचईबी होम डिपोजस्ता विशाल पसल देखेर आश्चर्य लाग्छ । हुन पनि यस्ता स्टोरमा खाद्यान्न, लत्ताकपडा, औषधि, निर्माण सामग्री, इलेक्ट्रोनिक सामान लगायत सम्पूर्ण कुरा विना झन्झट पाइन्छन् । इन्डियन स्टोर, पाकिस्तान स्टोर, चाइनिज स्टोर र हालमा आएर नेपाली स्टोर पनि छ्यापछ्याप्ती हुन थालेका रहेछन् । स्कुलमा बच्चाहरूलाई होमवर्क कम दिएर खेलाउँदै पढाउने शैली मलाई असाध्य राम्रो लाग्यो । हाम्रो देशमा भने बच्चाहरूलाई जन्मन नपाउँदै बोक्न नसक्ने भारी किताब बोकाएर स्कुल पठाइन्छ । अमेरिकामा पाँच वर्ष नलागी पढाउन नपाइने चलन मलाई राम्रो लाग्यो ।
अमेरिकामा भाँडा माझ्ने, ग्याँस स्टेसनमा गएर घण्टे काम गर्ने मात्रै नभएर सुविधासम्पन्न जागिर खाने नेपालीहरूको जमात पनि ठूलै रहेछ । धेरै नेपालीले आफैँ ग्याँस स्टेशन खोलेर साहु बनेर बसेका उदाहरण पनि नभएको होइन । अरू नेपालीलगायत नेपाली मूलका भुटानी शरणार्थी टेक्ससमा जताततै भेटिने हँुदा कहिलेकाहीँ त नेपालमै पो छु कि जस्तो लाग्ने । यहाँ ७५÷८० घर नेपालीका रहेछन् । मेरो २६ हप्ताको बसाइमा विवाह, व्रतबन्ध, पास्नीलगायत प्रत्येक हप्ताको अन्तरालमा भोजभतेर परेको थियो । त्यस अवसरमा सबैभन्दा बढी त विभिन्न घरमा भएको जन्मोत्सव पार्टी थियो । नेपालीहरूले आयोजना गरेका कार्यक्रमहरू– तीज, जनैपूर्णिमा, गुरूपूर्णिमा, दशँैं, तिहारजस्ता चाडबाडका कार्यक्रममा नेपालीहरूको ठूलो जमघट हुने भएकाले रमाइलो हुने रहेछ ।
मेरो अमेरिकाबाट फर्किने समय विसं २०७५ मङ्सिर २० गते थियो । छोरीज्वाइँ र नातिनातिनासँगै एयरपोर्ट आयौँ । त्यस दिन नातिले हजुरबुबालाई एयरपोर्टसम्म पु¥याउन स्कुल नगई बसेथ्यो । नातिनातिनाले नजानु भन्दै रोइकराई गर्न थालेपछि मेरा पनि आँखा रसाए । फेरि अर्को साल भेट्न आउँछु भन्दै बिदा मागेर न्युयोर्कतर्फ प्रस्थान गरेँ । न्युयोर्कमा पहिलेकै जस्तो १३ घण्टाको ट्रान्जिट भएकोले यताउति घुमफिर गरेर समय बिताएँ । समय प्रशस्त भएकाले बाहिर निस्केर घुम्ने मौका पाएँ । त्यहाँका गगनचुम्बी घरहरू, ठूलाठूला फराकिला सडक र गाडीका ताँती देख्दा मनमनले ‘आहा’ भनिरह्यो । भोलिपल्ट बिहानको आठ बजे न्युयोर्कबाट कतारका लागि उडियो ।
१९औँ शताब्दीको अन्त्यतिरबाटै विश्वको शक्तिराष्ट्र बनेको अमेरिका २०औँ शताब्दीको नेता बन्नेछ भत्रे भविष्यवाणी मिडिया व्यवसायी हेनरी लुइसले सन् १९४० तिरै गरेका थिए । अमेरिका विश्वको एक मात्र शक्तिशाली, धनी र सम्पन्न देशको रूपमा स्थापित छ । यस देशमा पचास वटा राज्यमा भिन्नभिन्न किसिमको हावापानी पाइन्छ । आफू पुगेर हेरिसकेपछि मलाई लाग्यो– अमेरिका यस्तो देश हो जहाँ कामबिना कोही पनि टिक्न सक्दैन । अमेरिकीहरू कामलाई कहिल्यै पनि सानोठूलो भन्दैनन् र सबै कामलाई समानरूपले हेर्छन् । यहाँ समयको पनि त्यत्तिकै महŒव हुन्छ । हरेक कुरा समय अनुसार गरिन्छ । समय अनुसार नै चल्ने हुनाले अमेरिकी सिस्टम पनि भनिएको होला । कानुनी शासनको पालना, मानवअधिकारको पूर्णरूपमा पालना, जनताले पाएको सुविधावापत कर तिर्न उत्सुक रहेका करदाता, बालबालिका, महिला, वृद्धहरूलाई प्राथमिकतामा राखिएको व्यवहार हेर्दा कसैले पनि राज्यप्रति बेखुसी रहनुपर्ने अवस्था मैले देखिनँ । अमेरिकाका प्रायः सबै राज्यमा नेपालीहरूको उपस्थिति रहेछ । उच्च जीवनशैलीका नेपालीको सङ्ख्या भने निकै कम रहेछ । सुन्दर जीवनको कल्पना गर्दै अमेरिका आए पनि यहाँ आएपछिको धेरैको व्यथा भने अर्कै देखियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?