कथा: भुलाँ

शनिवार |


2019-09-14-1308


 रत्न प्रजापति

सुतेकै ओछ्यानमा तुलसीराम कवाँको निधन भयो । उनी लामो समयदेखि बिरामी थिए । एकाध पटक उनका छोराहरूले जँचाउनका लागि अस्पताल लगेका थिए तर रोग निको भएन । अलिअलि दमको रोगी थिए उनी । पछि सुगरले समेत समातेपछि आँखा पनि कम देख्न थाले । हिँड्डुल गर्नै नसक्ने भए । अलिकपछि प्रेसर पनि थपियो । पछिल्लो समय उनी दम, प्रेसर र सुगरले गर्दा सिकिस्तै बनेका थिए ।
असारको बेला भएकाले छोराबुहारी रोपाइँमा गएका थिए । तुलसीरामकी जहान ज्ञानीथकुँ मात्रै उनलाई कुर्न घरमा बसेकी थिइन् । उनी आफैँ पनि बाथरोगले गर्दा सजिलैसँग यताउति गर्न सक्दिनथिन् । उनी एकैछिन माथि बुइँगलको भान्सामा गएकी थिइन् । त्यही बेलामा तुलसीरामको प्राण फुस्स उडेछ !
ज्ञानीथकुँ भान्साबाट तल आउँदा तुलसीराम आँखा चिम्म गरिरहेका थिए । ज्ञानीथकुँले बूढा निदाएछन् भन्ने ठानिन् । अरूबेला छिनछिनमा खोकिरहने बूढाले धेरै बेरसम्म नखोकेपछि उनी बूढाको नजिक गएर हेरिन् । सास फेरिरहेजस्तो लागेन । अत्तालिएर बूढाको जिउ हल्लाइन् । बूढा त मूढोजस्तै कडा भइसकेछन् । त्यसपछि ज्ञानीथकुँ डाँको छोडेर रुन थालिन् ।
उनी रोएको सुनेर छिमेकीहरू हतारिँदै आए । सबैले तुलसीराम कवाँ बितेको थाहा पाए । एकैछिनमा खेतमा रोपाइँ गर्न गएका छोराबुहारीसम्म पनि खबर पुग्यो । छोराबुहारी रोपाइँको काम छोडेर हस्याङ्फस्याङ् गर्दै आइपुगे । त्यतिन्जेलसम्ममा छिमेकीले तुलसीरामको मृत शरीरलाई आँगनमा ल्याएर राखिसकेका थिए । छोराबुहारी आँगनमै तुलसीरामको वरिपरि उभिएर बिलौना गर्दै रुन थाले ।
गुठियारहरू आएर तुलसीरामको लाशलाई घाटमा पु¥याए । उनका छोराहरू रुँदै गुठियारसँगै घाटमा गए । जेठो छोरा ज्ञानराम र कान्छो छोरा शान्तरामलाई गुठियार एकएक जनाले समातेर लिएर गए । बुहारी र अरू छोरीचेलीहरू घरमै बसेर रोइरहे । गुठियारहरू मिलेर घाटको काम पूरा गरे । हेर्दाहेर्दै तुलसीरामको शरीर आगोले खाएर खरानीमा परिणत भयो । त्यही खरानी पनि गुठियारले खोलामा बगाइदिए । तुलसीरामको भौतिक अस्तित्व समाप्त भयो ।
बाउको मृत्युमा पनि शोक मानेर घरमै बस्ने अवस्था रहेन । असारको बेला भएकाले सबैतिर रोपाइँ चलिरहेछ । मानो रोपेर मुरी फलाउने बेला हो यो । असारमा रोपाइँ नगरे मङ्सिरमा धान भिœयाउन पाइँदैन । मङ्सिरमा धान नभिœयाए वर्षभरि खान र चाडपर्व मान्न पाइँदैन । त्यसैले शोकलाई बिर्सेर तुलसीरामका छोराहरू रोपाइँको काममा लागे ।
तुलसीरामको भौतिक अस्तित्व समाप्त भयो तर घरमूली मरेपछि उसको सम्झनालाई बचाइराख्ने परम्परालाई तुलसीरामका छोराहरूले पनि पछ्याए । उनका छोराहरूले पनि रोपाइँकै बेला बाउको सम्झनामा एक पैसा जग्गा रोपाइँ नगरी बाँझै छोडिदिए । यसरी अरूले झैँ उनीहरूले पनि खेतको बीच भागमा भुलाँ राखे ।
त्यो एक पैसा बाँझो जग्गामा वर्षैपिच्छे खेतबाट निस्केका अनावश्यक माटो, घाँसपात र फोहोर थुपारिँदै गइयो । हेर्दाहेर्दै त्यो एक पैसा बाँझो जग्गा एउटा ढिस्कोमा परिणत भयो । त्यही ढिस्को नै भुलाँ हो । त्यही भुलाँ नै उनीहरूको मृत बाउको स्मृति हो ।
समयलाई निरन्तर चल्नबाट कसैले रोक्नसक्ने कुरा होइन । समय बित्दै गयो । अनेक कुरामा परिवर्तन पनि हुँदै गयो । समाजको चलनअनुसार तुलसीरामका छोराहरू पनि भिन्न भए । घर बाँडियो । सम्पत्ति बाँडियो । जग्गाजमिन पनि बाँडियो तर त्यो भुलाँ बाँडिएन । त्यो कसैको भएन । ज्ञानराम र शान्तराम कसैको होइन पनि । दुई भाग गर्दा खेतको बीचमा एउटा आली थपियो । त्यो भुलाँ जस्ताको तस्तै रहिरह्यो ।
भुलाँ अर्थात् ढिस्कोमा चराचुरुङ्गी बस्छन् । कीराफट्याङ्ग्रा, सर्प र भ्यागुता पनि बस्छन् । अनि खेतमा काम गर्दागर्दै थाकेको बेला थकाइ मार्न तुलसीरामका छोराबुहारी पनि बस्छन् । कहिलेकाहीँ खेतमा काम गर्दा खाजा खान त्यही ढिस्कोमा बस्छन् । त्यो ढिस्को सबैका लागि उपयोगी बनेको छ ।
जनसङ्ख्या बढ्नु एउटा नियमित प्रक्रिया हो, बढिरह्यो । नयाँनयाँ घर बन्नु पनि एउटा प्रक्रिया नै हो, बनिरहे । सहर पस्ने र सहरमै बस्नेहरूको चापले गर्दा सहरको जग्गा महँगो हुँदैगयो । स्वर्गीय तुलसीरामका छोराहरूले खेती गर्ने जग्गाको वरिपरि पनि अग्लाअग्ला घर बने । ज्ञानराम र शान्तरामका छिमेकी जग्गा बेचेर धनी बने । जग्गा बेचेको पैसाले नयाँ घर बनाए र परिवारै नयाँ घरमा सरे ।
ज्ञानराम र शान्तरामले पनि जग्गा बेच्ने सोच बनाए । जग्गा बेचेर आउने पैसा हिसाब गरे । हिसाब हेरेर उनीहरू दङ्ग परे । ज्ञानरामले आफ्नो भागको त्यो जग्गा बेचेर नयाँ घर बनाउने विचार ग¥यो । शान्तरामले चाहिँ आफ्नो भागको त्यो जग्गा बेचेर व्यापार गर्ने विचार ग¥यो । जग्गा बेच्नलाई जग्गाको नापजाँच भयो । ज्ञानराम र शान्तरामको भागको जग्गा छुट्टाछुट्टै नापियो । अन्तिममा प्रश्न उठ्यो, त्यो भुलाँ कसको ?
जग्गा नाप्ने अमिनलाई समस्या प¥यो, त्यो ढिस्को कसको भागमा पार्ने ? ज्ञानरामले सोच्यो– त्यो त मेरो भागको होइन । शान्तरामले पनि सोच्यो– त्यो त मेरो भागको होइन । फेरि त्यो एक पैसा जग्गाको मूल्य मनमनै सोचेपछि भने ज्ञानरामले मनमनमै भन्यो– त्यो ढिस्को त मेरो भागमा पार्नुपर्छ । उसैगरी शान्तरामले पनि मनमनै भन्यो– त्यो ढिस्को त मेरो भागमा पार्नुपर्छ । अन्त्यमा दुवै जनाले त्यो भुलाँ आफ्नो भागमा पर्नुपर्ने अडान लिन थाले ।
ज्ञानराम र शान्तरामको अडानले विवादको रूप लियो । मिलेर बसेका दाजुभाइमा त्यही ढिस्कोका कारण झगडा सुरु भयो । दुवैजना तँतँ र मम गर्न थाले । ढिस्को आफ्नो भागमा पार्ने अडानमा दाजुभाइमा हात हालाहालको स्थिति उत्पन्न भयो ।
ज्ञानराम र शान्तरामको झगडा हेर्न तमासेहरूको भीड लाग्यो । ज्ञानरामले आफ्नो दाबी प्रस्तुत ग¥यो– बाउलाई दागबत्ती मैले दिएको हो । त्यसैले त्यो ढिस्को मेरै भागमा पर्नुपर्छ । शान्तरामले पनि आफ्नो दाबी प्रस्तुत ग¥यो– म कान्छो छोरा । बिरामी बाउलाई मैले नै धेरै स्याहारेको हो । त्यसैले त्यो ढिस्को मेरै भागमा पर्नुपर्छ ।
विवाद बढ्दै गयो ।
यस्तो हुने थाहा पाएको भए किन राख्थेँ म त्यो भुलाँ, ज्ञानरामले मनमनै सोच्यो ।
यस्तो हुने थाहा पाएको भए किन राख्न दिन्थेँ म त्यो भुलाँ, शान्तरामले पनि मनमनै सोच्यो ।
पारिवारिक कलहको मूलकारण बन्यो भुलाँ । दाजुभाइमा बोलचालै बन्द भयो । बिचरी बूढीआमा बिलखबन्दमा परिन् । जेठोपट्टि लाग्नु कि कान्छोपट्टि लाग्नु !
भुलाँको विषयमा दाजुभाइमा उत्पन्न विवाद मुद्दामामिलासम्म पुग्यो । अन्त्यमा त्यो भुलाँ दुवैलाई आधाआधा बाँड्ने फैसला भयो । ज्ञानराम र शान्तराम दुवै मञ्जुर भए । भुलाँमा दुवैको आधाआधा भाग लाग्यो ।
एक दिन ज्ञानराम र शान्तराम जग्गा किन्ने साहु र दलालसँगै मालपोत गए । लेखनदासले तयार पारेको कागजमा दुवैले सहीछाप गरे । जग्गा किन्ने साहुको पैसा दलालले आधाआधा गनेर दियो । ज्ञानराम र शान्तराम दुवैले जग्गा बेचेको आधाआधा पैसा बाँडेर लिए । जग्गा बेचेको कागजमा सहीछाप गर्दा पनि दाजुभाइ बोलेका थिएनन् । जग्गा बेचेको पैसा आधाआधा बाँडेर लिँदा पनि दाजुभाइ बोलेनन् । नबोलीकनै दुवै जना पैसाको बिटो बोकेर घर फर्किए ।
जग्गा बेचेको पैसाको बिटो हेरेर ज्ञानराम खुसी भयो । उसकी जहान पनि खुसी भई । उसैगरी शान्तराम पनि खुसी भयो । उसकी जहान पनि खुसी भई । खुसी हुनेहरूको बीचमा एक्ली ज्ञानीथकुँ मात्रै दुःखी भइन् । छोराहरूले बाउको सम्झनाको चिनो भुलाँ पनि बेचेर खाए भनेर एकान्तमा बसेर रुन थालिन् ज्ञानीथकुँ । हेर्दाहेर्दै त्यो जग्गामा अग्लो घर बन्यो । अग्लो कम्पाउण्ड वाल लाग्यो । स्वर्गीय तुलसीरामको सम्झनामा छोडिएको भुलाँ सम्याएर आँगन बनाए । आँगनमा घरका केटाकेटी रमाएर खेल्न थाले ।
हेर्दाहेर्दै तुलसीरामको भौतिक अस्तित्व आगोमा जलेर हराएजस्तै आज उनको सम्झनाका लागि छोडिएको चिनो पनि उसैगरी हरायो । अब तुलसीरामलाई सम्झिने कुनै चिनो बाँकी छैन । उनका छोराहरूको मनमा पनि छ कि छैन बाबुको सम्झना !  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?