समृद्धि यात्रामा यिविन

शनिवार |


2019-09-07-987


श्रीधर आचार्य /डम्बरजङ्ग डाँगी

काठमाडौँबाट करिब सवा दुई घन्टाको हवाईयात्राबाट चीनको सिचुआन प्रान्तको छेन्दु सहरमा पाइला टेक्न सकिन्छ । छेन्दु नेपालबाट चीन प्रवेश गर्ने मुख्य हवाईमार्गको बिन्दु हो । एक करोडभन्दा बढी सहरी जनसङ्ख्या भएको छेन्दु सिचुआन प्रान्तको राजधानी र ठूलो सहर हो भने दक्षिण चीनका धेरै जनसङ्ख्या भएका तीन सहरमध्येमा एक पनि हो ।
छेन्दु सहरबाट दक्षिणतिर २६० किमिको दूरीमा रहेको अर्को सहर हो– यिविन । सडक मार्गबाट करिब चार घन्टा समय लाग्ने छेन्दुदेखि यिविनसम्मको यात्रालाई बुलेट रेलले सवा एक घन्टामा छोट्याइसकेको छ । यिविनबाट एक घन्टाको वृत्तमा छेन्दु पर्छ ।
चीनको प्रशासनिक, राजनीतिक संरचनामा यिविन तेस्रो तहको इकाइ हो । ‘यिविन स्थानीय जनसरकार’ भनिने प्रशासनिक इकाइअन्तर्गत तीन जिल्ला र सात काउन्टी छन् तर पनि यो स्थानीय सरकार नै हो । प्रशासनिक हिसाबले नेपालको स्थानीय तहसँग तुलना गर्न सकिने भए पनि क्षेत्रफल र जनसङ्ख्याका हिसाबले भने यो निकै ठूलो छ । नगर क्षेत्रमा साढे तेह्र लाख बसोबास भएको यिविनमा ५५ लाख जनसङ्ख्या छ । पूर्वाधारको विकासलाई हेर्दा कुनै पनि विकसित मुलुकका सहरभन्दा कम छैन । ठूला र फराकिला सडक, ठाउँठाउँमा ओभर हेड पुलले ट्राफिक जामको पत्तै पाइँदैन । फास्टट्र्याक, बुलेट रेल, हवाई तथा जल यातायातको विकास भइसकेको यिविन निरन्तर समृद्धितर्फ अगाडि बढिरहेको देखिन्छ । यस सहरले पाँचवटा संस्कृतिलाई अँगालेको सगर्व बताउँछन् यहाँका अधिकारीहरू– नदीको संस्कृति, रक्सीको संस्कृति, चियाको संस्कृति, बाँसको संस्कृति र खाङ युद्धको संस्कृति । सेतोमा रक्सी र कालोमा कोइलाले भरिपूर्ण यिविनको आर्थिक समृद्धिका प्रमुख आधारका रूपमा भने यिनै पाँच संस्कृति रहेका छन् ।

नदीको संस्कृति
मिङ र चिन्सा नदीको दोभानबाट याङ्जी नदी सुरु हुन्छ । याङ्जी नदी एसियाकै सबैभन्दा लामो र एक मुलुकभित्र बग्ने सबैभन्दा लामो नदी पनि हो । तिब्बती पठारको उत्तरतिरबाट उत्पत्ति भएर दक्षिण चीन हुँदै समुद्रमा मिसिने यो नदीले चीनको एक पचांश भू–भाग ओगट्छ र एक तृतीयांश जनसङ्ख्याको बसोबास क्षेत्र पनि यही हो । चीनको इतिहास, संस्कृति र अर्थतन्त्रमा यसको महŒवपूर्ण योगदान छ । याङ्जी नदी डेल्टाले चीनको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान गर्छ । प्रसिद्ध थ्री गर्ज ड्याम जलविद्युत् आयोजना यही नदीमा बनेको छ ।
यस नदीकिनार क्षेत्रलाई ‘इकोनोमिक वेल्ट’ का रूपमा विकास गरिएको छ भने उद्गमस्थल यिविनको नदीकिनारलाई ‘पर्यटकीय गन्तव्य’ का रूपमा विकास गरिएको छ । याङ्जी किनार र सँगैको जङ्गललाई जबरजस्त रूपमा रात्रिकालीन रमणीय पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको छ । सिङ्गो जङ्गलमा इन्द्रेणीजस्तै झिलिमिली प्रकाश र फोहोराको संयोजनले आकर्षक बनाएको छ ।

रक्सीको संस्कृति
यिविनमा रक्सी उत्पादनको इतिहास चार हजार वर्ष पुरानो छ । यहाँको उलाङ्गे ब्रान्डको रक्सी उत्पादनले अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको छ । सन् २०१८ मा नौ अर्ब ३१ करोड युआन अर्थात् करिब डेढ खर्ब नेपाली रुपियाँको कारोबार गरेको उलाङ्गे रक्सी कम्पनीमा पचास हजार मानिसले रोजगारी पाइरहेका छन् । यस कम्पनीबाट वार्षिक बीस टन विभिन्नप्रकारका रक्सी उत्पादन हुने गर्दछ ।

चियाको संस्कृति
चिया चिनियाँ संस्कृतिको अभिन्न अङ्ग बनेको छ । ‘ग्रीन टी’ भन्नेबित्तिकै चीनको सम्झना हुन्छ । चीनमा पाहुनाको स्वागतको सुरुवात नै ग्रीन टीबाट गरिन्छ । यहाँसम्म कि खानाको सुरुवात र अन्त्य पनि चियाबाटै हुन्छ । यिविनमा चिया खेती सुरु भएको तीन हजार वर्ष भएको छ । अहिले सिचुवान टी ग्रुप नाम दिएर आधुनिक चिया बगानको विकास गरिएको छ । वार्षिक ६५ हजार टन उत्पादन हुने यहाँको चिया विश्वका २३ मुलुकमा निर्यात हुन्छ । ४८ हजार रोपनी क्षेत्रफलमा बगान फैलिएको छ । यसै बगानबाट उत्पादन हुने छ प्रकार (ग्रीन, रेड, ह्वाइट, ब्ल्याक र अन्य) का चिया उत्पादनबाट गत वर्ष एक अर्ब ७३ करोड युआनको कारोबार भएको चिया ग्रुपका डाइरेक्टर लुओ योङले जानकारी गराउनुभयो । प्रतिकिलो २० हजार युआनसम्म पर्ने चिया उत्पादन हुने यस बगानबाट उत्पादित रेड र एलो चिया नै यिविनमा विशेष पाहुनाको स्वागतमा प्रयोग गरिन्छ ।

बाँसको संस्कृति
यिविनको बाँसको व्यावसायिक खेती अचम्मलाग्दो छ । आँखाले देख्नेजति सबै बाँसघारी जसलाई बाँसको समुद्र भनिन्छ । तीन लाख १० हजार रोपनीमा ४२७ प्रजातिका बाँसको संरक्षण गरिनु र वार्षिक १५ अर्ब युआनको व्यापार हुनु यहाँको विशेषता हो । यसैलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु अर्काे अनुकरणीय पक्ष हो । बाँसबाट ४५३ प्रकारका सामग्री बनाउने गरिएको छ । हामीले देखेजानेका पलङ, कुर्सीदेखि घर, झोला, जुत्ता, चप्पल र कपडासमेत बाँसबाट बनाइएको छ । यतिमात्रै होइन, दुई दर्जनभन्दा बढी खाद्य परिकार पनि बनाएर बाँसलाई आफ्नो संस्कृतिको अभिन्न अङ्ग बनाएका छन् ।
खाङ युद्ध संस्कृति
लिझुङ याङ्जी नदीकिनारमा अवस्थित चौध सय वर्षअघि बनेको प्राचीन सहर हो । जापानले साङ्घाई कब्जा गरेपछि त्यहाँ बस्न नसकेर एक हजारजति प्राध्यापक, बुद्धिजीवी यहाँ आएर आश्रय लिएपछि यो सहर बन्यो । विस्थापित भएर यहाँ आउनेहरूले विश्वविद्यालय र शैक्षिक संस्थाहरू पनि स्थापित गरे । यिविनवासीले ती बुद्धिजीवीलाई दिएको संरक्षण र सहयोगलाई अहिले पनि गर्व गर्छन् । उनीहरूलाई बसोवासको व्यवस्था गरिएको ठाउँलाई अहिले पनि संरक्षण गरिराखेका छन् । उक्त बस्तीलाई ‘खाङ वार रेजिडेन्स’ नाम दिएर इतिहासको संरक्षण गरिएको सिचुवान स्टाफ कलेजका डीन लिआओले बताउनुभयो ।

प्राचीन र आधुनिकताको मिश्रण
यिविनको सबभैन्दा महŒवपूर्ण विशेषता नै ऐतिहासिक र आधुनिकताको उच्चतम समिश्रण हो । ऐतिहासिक र साँस्कृतिक पक्षलाई संरक्षण गरेर पर्यटकीय गन्तव्यका रूपमा विकास गरेका छन् । चाहे चिया खेती होस् वा रक्सी उत्पादन, सबैलाई व्यावसायिकता दिइएको छ र पर्यटनसँग जोडिएको छ । यसले इतिहास र संस्कृतिको संरक्षणको साथासाथै आर्थिक उपार्जन भएको छ । आर्थिक समृद्धि हासिल भएको छ । चिनियाँले अहिले आन्तरिक पर्यटनलाई ठूलो महŒवका साथ प्रवद्र्धन गरिरहेका छन् भने बाह्य सम्पर्क र सम्बन्ध विस्तारलाई पनि त्यत्तिकै जोड दिइरहेको देखिन्छ ।
चीनका एक सय ३३ पुराताŒिवक सहरमध्येको एउटा सहर यिविन हुनुमा गर्व गर्छन्– यिविनवासी । सहरीकरणलाई विस्तार गर्दा वातावरणीय प्रभाव र पुराताŒिवक महŒवलाई भने ध्यान दिने गरेको पाइन्छ । सिचुवान स्टाफ कलेजका डीन लिआओ भन्नुहुन्छ– विकासको कामलाई अगाडि बढाउँदा वातावरणलाई ध्यान दिनुपर्ने राष्ट्रपति सी जिन पिङको भनाइलाई हामीले मूलमन्त्र बनाएका छौँ ।

समृद्धिको पथ
सन् २०१८ मा यिविनको कुल गार्हस्थ उत्पादन (जीडीपी) दुई खर्ब युआन रहेको र यसलाई सन् २०२१ सम्म तीन खर्ब युआन पु¥याउने योजना रहेको सिचुवान स्टाफ कलेजका डीन लिआओ लि ह्वाले बताउनुभयो । हाल चलिरहेका पूर्वाधार निर्माण र उद्योग, पर्यटनलगायतका क्षेत्रको विकासले यो लक्ष्य हासिल गर्न कठिनाइ नहुने उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ– यिविन नगर अर्थात् सहरी क्षेत्रलाई विस्तार गर्छौं । यातायातको पूर्वाधारलाई बलियो बनाउँछौँ । बुलेट रेललाई पाँच लेनमा विस्तार गर्छौं ।
यिविनको अवस्थिति महŒवपूर्ण छ । यो याङ्जी नदी गोल्डेन वाटरवेको सुरुको सहर हो भने सिचुआन युनान गुइझाउ क्षेत्रको रणनीतिक अवस्थितिमा छ । याङ्जी नदी आर्थिक पेटी, रेशममार्ग आर्थिक पेटी र सिनो इन्डिया–म्यान्मा मेङ्ग आर्थिक कोरिडोरमा पर्छ । यो तीन प्रान्त, आठ सहरका तीन करोड ७० लाख मानिसको केन्द्रमा पर्छ । त्यसैले यहाँ रेलमार्ग, राजमार्ग, जलमार्ग र हवाईमार्गको विकास भएको छ । यातायातको हबकै रूपमा विकास भएको छ । यो सिचुआनको दक्षिणी ढोका हो । यही रणनीतिक अवस्थितिले यिविनलाई नयाँ औद्योगिक क्षेत्रका रूपमा विकास गरिरहेको छ ।
विश्वका धेरै मुलुकलाई जोड्ने चीनका ठूला सहर ग्वाङ्जाओ, छेन्दु र कुनमिनकै मार्गमा यिविन आफूलाई चीनको दक्षिण–पूर्वी द्वारका रूपमा विकास गर्दै छ । अबको दुई वर्ष अर्थात् सन् २०२१ सम्म अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्यार्ई यिविन दक्षिण–पूर्वी एसियाका लागि उत्तरको प्रवेशद्वार बन्ने तर्खरमा छ । हरेक वर्ष मार्च १७ मा चिया सम्मेलन र डिसेम्बरमा मदिराको अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्दै आएको यिविनले सेवा उद्योगलाई पनि प्राथमिकतामा राखेर विकास गर्दै छ । चिया सम्मेलनमा नेपालीका साथै ३० भन्दा बढी देशका चिया उद्योगी तथा व्यापारीले भाग लिने र आ–आफ्ना उत्पादन प्रदर्शन गर्ने गरेका छन् । मदिरा महोत्सवमा अमेरिका, फ्रान्स, बेलायतलगायत एक दर्जन देशका उत्पादनको प्रदर्शन हुने गरेको छ । यिविनको योजना अब यिविनलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउने रहेको छ । यिविनले आफ्ना विभिन्न पाँच संस्कृतिलाई पर्यटनसँग जोडेको छ भने अन्तर्राष्ट्रियस्तरका सम्मेलन, महोत्सव, सभा, बैठक आयोजनाका लागि त्यही स्तरको सम्मेलन केन्द्र बनाउने योजनामा छ ।

शैक्षिक हबको योजना
यिविनलाई विश्वविद्यालयको सहर बनाउने योजना सुनाउँदै डीन लिआओ भन्नुहुन्छ, ‘यिविनमा अहिले सातवटा विश्वविद्यालय छन् । दुई वर्षमा दस पु¥याउँछौँ । एक लाख विद्यार्थी पु¥याउने योजना छ ।’ यहाँ भइरहेका पूर्वाधार निर्माणको गतिले लिआयोको भनाइलाई अविश्वास गर्ने ठाउँ नै दिँदैन । विश्वविद्यालय सहर नै विकास भइरहेको छ, जहाँ एकैठाउँमा १० वटा विश्वविद्यालय, अनुसन्धान र पुस्तकालय, आवासजस्ता पूर्वाधारहरू बनिरहेका छन् । यहाँका अधिकारीको महŒवाकाङ्क्षा यिविनलाई दक्षिण पूर्वी एसियाका विद्यार्थीका लागि शैक्षिक हबका रूपमा विकास गर्ने रहेको देखिन्छ । खासगरी प्रविधिक विषय अध्यापनमा चीनमै ख्याति कमाएको छ यिविनले ।

नेपालसँगको सम्बन्ध
यिविन नगरपालिकाका लि ताङ्गयुले नेपाल र चीनबीचको परापूर्वकालमा चिनियाँ भिक्षु फा झिन र झएनजाङ्ग तथा नेपाली राजकुमारी भृकुटी र कलाकार अरनिकोसम्मलाई स्मरण गर्दै अहिले आर्थिक, साँस्कृतिक सम्बन्ध झन् गहिरो बन्दै गएको बताउनुभयो । उहाँको यो भनाइलाई पछिल्लो समयमा बाक्लिँदै गएका दुई देशका राजनीतिक तथा जनस्तरको आवतजावतले पुष्टि गर्छ । सिचुआन प्रदेशका आर्थिक तथा विदेश मामिला विभागका पदाधिकारी पाङ सिन दुवै देशका अधिकारी र नागरिकबीच राम्रो सम्बन्ध रहेको र यसले दुवै देशको आर्थिक विकासमा सहयोग पुग्ने धारणा राख्नुहुन्छ ।
नेपालसँग प्राचीनकालदेखि जनस्तरमै सुमधुर साँस्कृतिक सम्बन्ध रहँदैआएको चीनसँग एक्काइसौँ शताब्दीमा आइपुग्दा यो सम्बन्ध अझ गाढा, सहज र नवीन शैलीमा फराकिलो र गहिरो बन्दै गएको छ । यसैक्रममा नेपालका विभिन्न प्रदेश र नगरस्तरमा भगिनी सम्बन्ध जोड्न थालिएको छ । यिविन पनि पछिल्लो समय नेपालसँग यस्तै सम्बन्ध गाँसिएको नगर हो । यसको नेपालमा पोखरा महानगरसँग भगिनी सम्बन्ध गाँसिएको छ । यिविनले विकास र समृद्धिका आफ्ना उपलब्धि र भावी योजनाबारे विश्वलाई परिचित गराउन चाहन्छ भन्ने कुरा पछिल्ला प्रयासबाट बुझ्न सकिन्छ । चीनमा आर्थिक सम्पन्नता र विकास सहरी क्षेत्रमा मात्र हो कि भन्ने सुनिने गथ्र्यौं तर यिविनमा एक साता लामो बसाइ र सहरदेखि गाउँसम्मको भ्रमणबाट बुझ्न सकिन्छ– चीनमा केन्द्र सरकारमात्र होइन, स्थानीय तहसम्मले विकास र समृद्धिका आफ्नै योजना तयार गरेका छन् र त्यसै दिशामा आफ्ना सबै प्रयासलाई केन्द्रित गरिरहेका छन् ।
याङ्जी नदी सभ्यता बोकेको एउटा सुन्दर र समृद्ध सहरका रूपमा परिचय दिने तर्खरमा रहेको यिविन नेपालीका लागि अर्को गन्तव्य र हवाईमार्गबाट चीन प्रवेशबिन्दु बन्दै गरेको देखिन्छ । यिविनले समृद्ध नेपाल सुखी नेपालीको नाराका साथ विकास र समृद्धिमा अगाडि बढ्न प्रयासरत नेपालीका लागि पनि धेरै राम्रा उदाहरण प्रस्तुत गर्न सक्छ ।

(अगस्ट १२ देखि १९ सम्म गरिएको यिविनको भ्रमणपछि ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?