शुभेच्छुकका शुभेच्छुकहरू

शनिवार |


2019-09-07-986


 रमेश गोर्खाली

मान्छेको जीवनमा सद्भाव र शुभेच्छाको ठूलो महŒव हुन्छ । प्रायगरी वस्तुगत रामरमिताबीच अधिसङ्ख्यकको जीवन सम्बन्ध र सम्पर्कले चलेको हुन्छ । अज्ञात किसिमको दौड छ विकासोन्मुख राष्ट्र र त्यस्तो परिवेशमा । यही कुराको निष्कर्ष निरूपण गर्दा कतिपय व्यक्ति सफल र अब्बल हुन्छन् भने कतिपयचाहिँ ठाडै विफल । आफूलाई टुक्राटुक्रामा भए पनि स–सानो कुरा र सहकार्यमा साथ दिने सङ्गाती र शुभार्थीलाई विशिष्ट मानिन्छ जीवनको दौडादौडमा । समय सूचक आठौँ विक्रमीय दशक (संवत् २०७१ देखि) वरिपरिका विविध घटनाक्रम र सन्दर्भ अन्यानेक दृष्टिले मननीय रहेका छन् । ठूलाबडाले सम्बद्ध, आफन्त र सन्ततिलाई बिसासय आयुर्दा होस् वा शताधिक बाँचून् भनी चाडपर्व, भेटघाट र हर्षावेगमा आशिष दिने गर्छन् ।
वस्तुतः विकासोन्मुख र अल्पविकसित राष्ट्रिय परिधिमा झन्डै ६० देखि ६५ सीमारेखाको उमेरमै नागरिकजन एकप्रकारले बुढ्यौलीले आक्रान्त बन्न पुग्दछन् । सैनिक, प्रहरी, खेलाडी र सजग जीवन बिताएका मान्छेबाहेक थुपै्र व्यक्ति र व्यक्तित्वले तथाकथित स्वर्ण वर्ष (गोल्डेन जुब्ली) को अवधिपश्चात् झन्डै ती दुर्बल र मधौरु स्थितिमा पुग्ने गर्छन् र डाक्टरका स्थायी ग्राहक बन्छन् । कतिपटक चिकित्सक महोदयसमेत वयगत राष्ट्रपरक कारणले बिरामी र निर्बल भेटिन सक्छन् । मान्छेको चोला र शरीर न हो आखिर । वन्दनीय स्रष्टा माधव घिमिरे (संवत् १९७६ असोज) राष्ट्रकवि, महाकवि र विभूति कविका रूपमा नेपाली नागरिक जीवनका श्रद्धान्वित राष्ट्रिय गौरव हुनुहुन्छ । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी (संवत् १९७७ वैशाख) ले भाषिक र साहित्यिक दृष्टिले श्रम एवम् समर्पणको मौलिक कीर्तिसत्ता स्थापना गरेको भेटिन्छ आफ्नो मातृभूमिमा । यस्तै अर्का विद्वान्पुरुष– मदनमणि दीक्षित (संवत् १९७९ फागुन) हुनुहुन्थ्यो । ईश्वरवादी र अनिश्वरवादी दुवै नभई, उहाँ स्वतन्त्र दार्शनिक हुनुहुन्थ्यो । गरिमापूर्ण मानवीय सृजनधर्मिता, विश्व प्रसङ्ग, राष्ट्रिय सामाजिक यथार्थ, व्यक्तित्वको यथार्थ पहिचान र जीवनको आनन्द उहाँका लेखनको प्रमुख आधारशिला रहेको मानिन्छ । उहाँजस्ता महर्षितुल्य कलमवाज निश्चयतः नेपालका आभूषण हुन्, त्यसमा कुनै द्विविधा छैन । माड्साबका कतिपय प्रखर विद्यार्थी राष्ट्रिय जीवनमा थुपै्रका श्रेष्ठतम् गुरु व्यक्तित्व रहेको पाइन्छ ।
आफ्नो उर्वर शैक्षिक प्रशासनकालमा पर्सेली महानगर वीरगन्ज र वरिपरिको परिधिलाई एकताका उहाँले राम्ररी हाँक्नुभएको थियो भन्ने अभिकथन सुन्न पाइन्छ– पुरानियाँ सुपरिचितबाट । तसर्थ, उहाँ गुरुका पनि सम्पुज्य एवम् सम्माननीय गुरुवर रहेको तथ्यमा कहीँ कतै अन्तरविरोध सुन्न पाइँदैन । मेरा प्रातःस्मरणीय अङ्गे्रजी साहित्यका विद्वान् गुरु डा. मोहनप्रसाद लाखे (संवत् १९९० चैत–२०७६ वैशाख) ले भन्नुहुन्थ्यो, ‘भाषासेवी मदनमणि दीक्षित, महाकवि लक्ष्मीप्रसाद देवकोटा, समतावादका प्रणेता तथा नाट्यसम्राट बालकृष्ण सम, कविशिरोमणि लेखनाथ पौड्याल र राष्ट्रकवि माधव घिमिरे समतुल्य ठूला बौद्धिक महारथी हुन् दीक्षित । विद्यार्थी, सन्तति र शुभेच्छुक पुस्ताले मदनमणि दीक्षितलाई अक्षरसम्राट र पत्रकारशिरोमणिका रूपमा श्रद्धास्पद ठान्छन् भने त्यसको आफ्नै प्रामाणिक वस्तुगत औचित्य रहन्छ । सबैको भलो चाहने घिमिरे, जोशी र दीक्षित प्रभृति व्यक्तिसत्ता सापेक्षतः राष्ट्रियमात्र नभई, दक्षिण एसिया एवम् अन्तर्राष्ट्रियस्तरका मनीषी हुन् भन्ने सबैमा हेक्का रहनुपर्छ । विश्व जीवनमा मानवतावाद र शान्तिवादको उत्कर्षका लागि शक्तिराष्ट्रले परमाणविक सैन्यवादी सोचलाई त्याग्नुपर्ने सन्देश यी विद्वत्वरका रचनाबाट प्राप्त हुने गरेको छ ।
युवाकवि मोतीराम भट्ट (संवत् १९२३ भाद्र–१९५३, तीस), आशुकवि शम्भुप्रसाद ढुङ्गेल (संवत् १९४५ चैत–१९८६, चालीस) र महाकवि लक्ष्मीप्रसाद देवकोटा (संवत् १९६६ कात्तिक–२०१६ भदौ, पचास वर्ष) प्रभृतिले छोटो जिन्दगानीमा उल्लेखनीय रूपमा नेपाली वाङ्मयको महŒवपूर्ण सेवा गरेको हामी देख्छौँ र भेट्छौँ । कतिपय शतायुमहिला र शतायुपुरुषले विविधाङ्गी दृष्टिले नेपाल तथा नेपालीलाई गौरवान्वित तुल्याएकोसमेत पाइन्छ, राष्ट्रिय सन्दर्भमा । एक समयमा १०२ वर्षीय प्राध्यापक हरिश्चन्द्र न्यौपाने र १०१ वर्षीय समाजसेवी वैकुण्ठप्रसाद लाकौलले नेपाली चौघेरामा भाषिक, साहित्यिक र राजनीतिक दृष्टिले उत्पे्ररक अध्याय थपेको हामी पाउँछौँ ।
प्रत्येक साधारण मान्छेको जस्तै प्रत्येक विद्वान्, स्रष्टा र अध्येताको समेत कहीँ कतै मानवीय कमी–कमजोरी होलान् । त्यो आफ्नो ठाउँमा छ तर राष्ट्रोपयुक्त र अन्योपयोगी सृजना सौन्दर्य तथा चिन्तन सौन्दर्यका माध्यमले उल्लिखित सर्जकले राष्ट्रिय परिवेशलाई आलोकित तुल्याएको वस्तुतथ्य यथार्थ हो । भित्री हृदयदेखि अरूको भलो चाहने र अरूप्रति शुभेच्छा राख्ने व्यक्ति अत्यन्त थोरै हुन्छन् । शुभेच्छाको सदाशयले क्रमिक रुपमा शुभेच्छुकको सङ्ख्यामा वृद्धि हुन्छ ।
शुभेच्छाको यौटा गरिमा, यौटा सीमा र यौटा उच्चतालाई स्पर्श गर्दा मानवीय व्यक्तिसत्ता स्वयम् उदाहरणीय ठहरिन जाने निश्चित छ । यस्ता थोरै व्यक्तित्व यथार्थमा नेपाली लोकतान्त्रिक, गणतान्त्रिक मुलुकका विश्वसनीय धरोहर हुन् । यीजस्ता कतिपयको संस्थापन, समाज र अन्तरङले खोजिनिधी गरी राष्ट्रिय स्वाभिमानको परिवेशलाई चहकिलो तुल्याउँदै जानु अत्यावश्यक छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?