कथा: अन्तर

शनिवार |


2019-09-07-985


 एस्पी कोइराला

‘कति राम्रो कुइरेको जोडी !’
‘नेपालको अदालतमा के काम परेछ ?’
बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत । सामुन्नेको छ लेन सडकको सर्भिस लेनमा उभिएका दुई विदेशी– एक जना महिला, एक जना पुरुष ।
पासपोर्ट लिने लाइनमा थियो प्रकाश । भर्खर एसईई पास गरेको । विदेश जाने आन्तरिक धुनमा मस्तराम । घरमा थाहा नपाई पासपोर्ट बनाउन आएको ऊ । अलि परतिरपट्टि रहेको जिल्ला प्रशासन कार्यालयमा छ । लाइन हापेरै चिया खान यसो निस्केको मात्र थियो, कुइरेको जोडी बाटैमा देखेपछि लोभियो । विदेश जाने धुन सवार भएको नवयुवक न प¥यो आखिर !
‘बुझ्नु पो प¥यो एकफेरा नजिक गएर’ एकछिन टक्क रोकिएर घोत्लियो । अनि मनमनमा पकाउन थाल्यो मसलेदार खिचडी ।
‘आफू पनि विदेश ताकिरहेको छु । अमेरिकन वा अस्ट्रेलियन जोडी रहेछ भने त क्या गज्जब हुन्थ्यो,
हगि ? चिनजान गर्छु । फकाइ–फुल्याई गर्छु । यस्सो सहयोग गरेजस्तो पनि गर्दिन्छु । अनि त मन जित्न पाइयो भने त अमेरिका जाने भ¥याङ पो हुन्थ्यो । आहा !’
‘मैसँग पढेका राजन, रायन, विशु, सुफी, एञ्जेला सबै अमेरिका उडिसके । पाँचसात जना अरू अस्ट्रेलियाको पाइपलाइनमा छन् । आफू भने भीरको चिण्डो भइएको छ । आमाबुवाले नयाँ ठाउँ जाने काम छैन भनेर रोकिराखेका छन् मलाई । कुरै बुझ्दैनन् भन्या । क्या बोर ! क्या झुर ! यिनीहरूको पछि लाग्न पाए त आमाबुवा पनि कन्भिन्स हुन्थे कि । आहा !’ मनको लड्डु घिउसित खायो उसले फेरि ।
परैबाट नियाल्यो ध्यानपूर्वक । स्पष्टै देखियो– ‘छोटाछोटा बुट्टे लुगा । टाइट फिटिङ । गोरो छाला । अग्लो जिउडाल मिलेका । चिटिक्कका । पछाडिपट्टि दुवै जनाले कालो रङको बहुउद्देश्यीय झोला भिरेका । ल्यापटपै बोकेजस्तो । झोलाको खल्तीमा पानीको बोतल एभियाँ ब्राण्डको । त्यो त फ्रान्सको हिमालको पानी हो ।’
‘हातमा ब्राण्ड न्यु आइफोन टलक्क टल्केको । केटाले बाक्लो सिसाको चश्मा लाएको । केटीले चाहिँ ब्राण्डेड सनग्लास लगाएकी । आफू–आफू कुरा गर्दा मकैका फूल उठेसरी भटट्ट अङ्ग्रेजी हाँक्ने । विदेशी भनेका आखिरमा विदेशी नै हुन् नि !’ सुखान्तक निष्कर्ष निकाल्यो प्रकाशले ।
‘भर्खरै मात्र विदेशबाट नेपाल घुम्न आएका । नवविवाहित जोडीजस्ता छन् । शायद हनिमुनका लागि आएका होलान् । कस्तो आधुनिक जोडी ! अत्याधुनिक नै भन्दिए नि फरक नपर्ने । यस्तो पो हुनुपर्छ त जोडी भनेको त ।’ मनमनै थुक निल्यो उसले । ‘तर कपाल चाहिँ अमेरिकाने जस्तो पूरै खैरो छैन, अलिअलि कैलो पो छ । शायद यिनीहरू अस्ट्रेलियन हुनुपर्छ ।’ अनुमानको अर्को सुल्फा सल्कायो उसले फेरि ।
‘आहा !’ छेउमा पुग्नुअगाडि नै मुखबाट फुत्किहाल्यो । ‘कति सुन्दर जोडी । मान्छे पनि विदेशकै राम्रा हुने हगि ! यहाँका त.....।’ पछाडि फर्केर भुइँतिर पिच्च थुक्यो । चाल नपाए जसरी अलि परैबाट कान थाप्यो । नेपाली पो बोल्छन् बीच्च–बीच्चमा । ‘हैट, के अचम्म यो !’ कुइरे भनेको त, होइन पो रहेछ ! हैट !’ सपनाको संसारबाट विपनाको मातृभूमिमा ओर्लियो प्रकाश एक्कैचोटि । आँखा मिचेर हे¥यो । आफूलाई चिमोटेर जाँच्यो । परिणाम त त्यही नै पो छ । हत्तेरिका !

०००
छेउछाउमा बुझिहेरेको त कुरो रहेछ अर्कै । विदेशी भनेको त नवयौवना स्वदेशी जोडी पो रहेछ ! अदालतको चौरमा फनफनी घुमिरहेका अघि बिहानैदेखि !
“कस्तो देश हो यो ? कस्तो कानुन हो यहाँको ? कस्ता कर्मचारी हुन् ? कस्तो सिस्टम नभाको मुलुक हो ? यस्तो उल्टोपाल्टो सिस्टम, त्यस्तो टाटेपाटे नियत रछ र त हाम्रा बाउआमा बेलैमा क्यानडा हाँकिएका रछन् त ।” गालीका पर्राहरू परर्र पड्की नै रहे पालैपालो । कहिले उफ्रन्छ पुरुष । एकैछिनमा जङ्गिन्छे महिला ।
वरिपरि ओइरिसके मान्छे रमिता हेर्न । पर बसेका प्रहरीहरू पनि त्यहीँबाटै रमाइलो मानिरहेका जस्तै देखिन्छन् ।
‘कुरा त यिनीहरूको सही हो, हगि ?’ एउटा प्रहरीले छेउमै उभिएकी महिला प्रहरीको कानमा खुसुक्क भन्यो । महिलाले शिर हल्लाइन् । सम्भवतः तिनीहरूलाई मनमनमा चित्त बुझेको हुनुपर्छ !
प्रकाश अब पस्यो भीडभित्र । बुझ्यो सबै कुरो । जोडी त नेपाली पो रहेछ । बच्चैमा पढ्न गएका । भिसाको म्याद सकिएपछि आएका । उद्देश्य रहेछ कोर्ट म्यारिज गर्ने । विवाह दर्ताको कागज बनाउने । एसाइलममा निवेदन दिने । दुवै जना आनन्दपूर्वक अमेरिका बस्ने । मीठो सपना उनीहरूको ।
उनीहरू फाँटमा गए । सबै फाराम, कागजात र दैदस्तुर जाँचीबुझी सकेपछि फाँटवालाले केटाको मुखमा हेरेर भन्यो– ‘तपाईंको उमेर त ठीकै छ तर महिलाको उमेर सात दिन कम भयो । आठौँ दिन आउनुस् । अनि मात्र काम हुन्छ ।’ “जाबो सात दिन त हो नि मिलाइदिनुस् न सर । हाम्रो भविष्यको कुरो छ । विदेशी शरणार्थी बन्ने म्याद भोलि नै सिद्धिन्छ क्या ! एप्लाई त गर्न दिनुस् हामीलाई !”
फाँटवाला डेग चलेनन् ।
‘कानुन भनेको कानुन नै हो । म सक्तिनँ, जानूस् ।’ कड्के उनी ।
ठाडै हान्ने गोरुजस्तो भएर फाँटवालाकहाँ पसेको जोडी रक्सी खाएको बाँदरजस्तै रन्थनिँदै बाहिर निस्क्यो । साउनको साँझको आकाशजस्तो अँध्यारो हुँदै मुहारबाट मुस्कान गायब भयो ।
०००
“यो कस्तो देश हो ? यो कस्तो कानुन हो ?”
“यस्तो बेथिति कुनै हालतमा हामी मान्दैनौँ ।”
“हामीलाई के ठानेका छन् यिनीहरूले ? हामी पनि के कम ? अब हामी पत्रकार सम्मेलन गर्छौं । सारा भण्डाफोर गर्दिन्छौँ । यहीँ बसेर अहिल्यै ।”
अदालत परिसरमा ठूलोठूलो आवाज निकालेर उफ्रिन थाले दुवै ।
हाँ मा हाँ मिलाउनेको त कमी यस्सै पनि कहाँ हुन पाउँथ्यो र ? वकिलहरू धुइरिए । खाजा खान निस्केका कर्मचारीहरू ओइरिए । लेखनदास, झगडिया, वारिस, साक्षी सबै एकैठाउँमा जम्मा भए । हल्लाखल्ला त आखिरमा तगडै थियो । वरपरका बटुवा पनि हस्याङ्फस्याङ गर्दै झ¥यापझुरुप्प जम्मा भए ।
अदालतका प्रहरी जवानहरू आइपुगे । होहल्ला नगर्न अनुरोध गरे तर दर्ता विवाह गर्न आएका उनीहरूलाई यस्ता कुरा सुन्ने धैर्य र फुर्सत दवै थिएन । कोकोहोलो मच्चाइरहे ।
अन्त्यमा प्रहरी इन्स्पेक्टरले उनीहरूलाई मूल हाकिम एक नम्बर न्यायाधीशकहाँ लगिदिए ।

०००
“यो कस्तो देश हो ? यो कस्तो कानुन हो ?” उनीहरू चिच्याउँदै पसे ।
आँ गर्दा अलङ्कार बुझिहाले न्यायाधीश श्रीमान् बस्ताकोटीले । अनुभवी, परिपाठे र खुङ्खार न्यायाधीश न परे आखिर उनी ।
‘तपाईंहरू त हाम्रो अतिथि पो त । तातो–चिसो के खानुहुन्छ, बाबुनानी हो ?’ यसो भनेर सुरु गरे वार्तालाप उनले । अनि सोफामा बसाए आदरपूर्वक दुवै जनालाई ।
‘ल आफ्नो कुरो खुलस्तसँग राख्नुहोस् त बाबुनानीले !’ फ्लोर ओपेन गरिदिए श्रीमान्ले ।
वृत्तान्त सुनिसकेपछि खुइय गरे, एक गिलास पानी पिए, टोपी टेबलमा पछारे, दुई औँलाले चस्मा मास्तिर ठेले, अनि युवकलाई नजिक आउन इसारा गरे– ‘बाबु, एकपल्ट यता आउनुस् त !’
‘समस्या के प¥यो त अब ? लु मलाई भन्नुस् त, खुसुक्क ।’ “भोट हाल्न चाहिँ अठार वर्षको उमेर भए हुने, विवाह गर्न चाहिँ किन बीस वर्ष कुर्नुपर्ने ?” युवक बेस्सरी जङ्गियो । उसले खस्याकखुसुक के जानोस् । विदेशमा पढेको न हो आखिर ।
“हो त नि । नागरिकता लिन सोह्र वर्ष भए हुने । भोट खसाल्न अठार वर्ष भए पुग्ने । अनि विवाह गर्न चाहिँ किन बीस वर्ष पूरा भएको हुनुपर्ने ?” महिलाले पनि थपिन् ।
‘कुरो के भने नि बाबुनानी हो, तपाईंहरूले अहिले यो उमेरमा यस्तो कुरा बुझ्दै बुझ्नुहुन्न क्या ! यहाँहरूको ठाउँमा म स्वयं भएको भए नि मैलै कुरोको चुरो बुझ्दैनथेँ ।’ सम्झाउने शैलीमा उत्रिए श्रीमान् ।
‘यो तपाईंको, मेरो वा कसैको व्यक्तिगत समस्यै होइन नि । यो त समयको समस्या हो । बुझ्नु भो तपाईंहरूले ?’ “अनि देश चलाउनेहरूलाई भोट हाल्न चाहिँ जाबो अठार वर्षले हुने । विवाह गर्न चाहिँ पूरा बीसै वर्ष पुगेको हुनुपर्ने ? यस्तो अन्यायपूर्ण र विभेदकारी व्यवस्था किन ? मैले केही बुझिनँ ।” बेस्कन चिच्याए युवक ।
‘होइन बाबु, कुरै नबुझी झडङ्ग रिसाइहाल्नु हुन्न क्या । कुरो त बुझ्नुहोस् पहिले ।’
“के बुझ्नुप¥यो, तपाईंको कुरो ?” जङ्गिए दुवै जना ।
‘यो सबै हाम्रो ऐनमै प्रष्टसित लेखिएको छ क्या बाबु । कानुन लेखिएकै पालना गराउनलाई हो । त्यसो हुनाले ऐन–कानुन त सबैले मान्नैप¥यो नि, होइन र बाबुनानी हो ?’ प्रतिप्रश्नका छर्रा छाडे श्रीमान्ले पनि ।
‘अहिलेको हाम्रो मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ अनुसार विवाह गर्ने उमेर बीस वर्ष तोकेको छ । पुरानो मुलुकी ऐनमा त अझ एक्काइस वर्ष थियो । एघारौँ संशोधनबाट बीस वर्षमा झारेको हो । अझै विवाह दर्ता ऐन, २०२८ मा त दर्ता विवाह गर्न पुरुषको उमेर बाइस वर्ष र स्त्रीको उमेर अठार वर्ष पूरा गरेको हुनुपर्ने भन्ने पो थियो त । बुझ्नुभो ?’
‘अनि तपाईंहरू जस्तालाई यस्तै मार्का पर्ला भनेर अहिले त खल्र्यापखुर्लुप घटाएको पो हो त । खोइ कुरा बुझेको ? क्लियर भो अब तपाईंहरूलाई ?’
शान्त मुद्रामा न्यायाधीश बस्ताकोटी बोले– ‘त्यसैले सरकारले राम्ररी सोचेकै हो पहिले । व्यवस्थापिका संसद्ले पनि मज्जाले नै चिन्तन–मनन र विचार–विमर्श गरेकै हो । तब त उमेर घटाउने कानुन ल्याको हो नि, नत्र त....।’ “देश चलाउन अठार वर्ष भए हुने, जाबो विवाह गर्न चाहिँ किन बीस–बीस वर्ष कुर्नुपर्ने ? कहीँ नभएको जात्रा हाँडीगाउँमा ।” दुवै कुर्लिए– “किन, किन, किन ?”
‘किन भने नि भोट हाल्न अठार वर्ष भए पुग्छ । जाबो देश चलाउने त हो नि आखिरमा । ल हेर्नुस् त यहीँ नै । तर त्यसरी घर चल्छ त ? हो, मुलुक चलाउन जति सजिलो घर चलाउन कहाँ हुन्छ त ? कुरोको चुरो यही हो ।’
“किन हुँदैन ?” युवक–युवती फेरि कड्किए ।
‘किनकि सबैलाई थाहा नै छ देश सम्हाल्नभन्दा घर सम्हाल्न गाह्रो हुन्छ’ सम्झाए बस्ताकोटीले ।
‘नेता छान्नभन्दा श्रीमती छान्न कठिन हुन्छ । वास्तवमै ‘जनप्रतिनिधि’ छान्नभन्दा ‘मनप्रतिनिधि’ छान्न कठिन हुन्छ ।’ तर्क ल्याए थप ।
‘त्यसैले त श्रीमान्ले श्रीमती छान्न अथवा श्रीमतीले श्रीमान् छान्न थप दुई वर्ष कुर्नैपर्छ बाबुनानी हो’ निक्र्योल निकाले श्रीमान्ले बल्ल ।
‘अठार र बीसको गुह्य गाँठी कुरा यही हो ।’
‘अन्तर यही हो ।’
‘अब त बुझ्नुभो, बाबु ?’
‘अब त बुझ्नुभो, नानी ?’
‘कुरो, क्लियर भो, होइन त, दुवै जनालाई ?’
‘.........’
नाकेडाँडी मुन्तिर चस्मा सारेर चस्माबाटै न्यायाधीश बस्ताकोटीले घुरेर हेर्दा जोडी अघि नै गायब भइसकेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?