logo
२०८१ बैशाख ७ शुक्रवार



इन्द्रजात्राको सामाजिक पक्ष

शनिवार |


इन्द्रजात्राको सामाजिक पक्ष


 

 राजेन्द्र दाहाल

संस्कृति हाम्रोे सामाजिक पहिचान हो । पहिचानका लागि मानिस आफ्नो सामथ्र्य खर्च गर्न हिच्किचाउँदैनन् । संस्कृतिमा सामरिक शक्ति हुन्छ । त्यसैले राज्यसत्ता र साँस्कृतिक अभियन्ताबीच द्वन्द्व सिर्जना हुँदा राज्यसत्ता पछि हट्नुपर्ने अवस्था आउँछ । हाम्रो सन्दर्भमा पनि विक्रम संवत् २०६५ को इन्द्रजात्रा र २०७६ को गुठी विधेयक यसका उदाहरण हुन् । भौतिक विकास र संस्कृतिबीचमा सधैँ द्वन्द्व चलिरहन्छ । भौतिक विकाससँगै संस्कृति बचाइराख्ने विषय चुनौतीका रूपमा लिने गरिन्छ । विकसित देशहरूका कतिपय संस्कृति विकासको चपेटामा परेर लोप भइसके । विश्वमा केही प्राचीन संस्कृति बाँकी छन् भने विकासोन्मुख देशमै अधिक भएको पाउँछौँ ।
हाम्रा चाडपर्व, जात्रा, मेला कृषि सभ्यताका उपज हुन् । हाम्रा पुर्खाहरूले आफ्ना आवश्यकता पूरा गर्न तत्कालीन उपलब्धताको उच्चतम् उपयोगबाट सिर्जना भएका संस्कृतिहरू जात्रा पर्व हुन् । यिनीहरूको संरक्षण र अवलम्बनबाटै संस्कृतिको निरन्तरता हुन्छ । नेपालमा प्राचीन समयदेखि अनेकौँ जात्रा–पर्वहरू मनाइँदै आएको पाइन्छ । हरेक जात्रा–पर्वहरूसँग आ–आफ्नै मिथकहरू जोडिएका छन् । तर, हामीले त्यस्ता मिथकहरूलाई वास्तविक जनजीवनसँग जोडेर वैज्ञानिकता र वास्तविकता बुझ्ने प्रयास कहिल्यै गरेनाँै । त्यसैले त हाम्रा कति संस्कृतिहरू लोप भएर गए त कति लोभ हुने अवस्थामा छन् ।
कृषि सभ्यताको जनजीवनलाई व्यवस्थित गर्न समय सूचकका रूपमा चाडपर्व र यात्रा–जात्राको विकास भयो । वातावरणीय अनुकूलन प्राप्त गर्न सोहीअनुसारका खानपान र गतिविधिको विकास हुँदै गयो । कालान्तरमा निरन्तरको काम र थकानबाट शरीरलाई आराम दिने एवम् खानपान र मनोरञ्जनबाट बाँकी कामका लागि शक्ति आर्जन गर्ने उपयुक्त समय र विधिका रूपमा चाडपर्व र यात्रा–जात्रालाई उपयोग गरिने प्रचलनले विशिष्ट नेपाली संस्कृतिको स्वरूप ग्रहण ग¥यो । इन्द्रजात्रा यसैमध्येको नेपाली संकृतिको एउटा विशिष्ट उदाहरण हो ।
भौतिक परिवर्तन र चेतनाको स्तर समानान्तर रूपले परिवर्तन हुन नसक्दा हाम्रा साँस्कृतिक मान्यताहरू पनि समस्याग्रस्त बनेका छन् । आजभन्दा लगभग दुई हजार वर्षअघि सुरु भएको इन्द्रजात्राको प्रचलन कृषि युगको समयसूचक, मनोरञ्जन र शक्ति सञ्चयको अवसरका रूपमा अवलम्बन गरिएको अभ्यास थियो । कृषकका लागि पानीको सम्बन्ध इन्द्रजात्राको सन्देश थियो तर यो हजार, दुई हजार वर्षको अन्तरालमा काठमाडौँका धान झुल्ने खेतहरूमा कङ्क्रिटका महल ठडिइसकेपछि खेतीका निम्ति इन्द्रसँग पानी माग्ने अवस्था बदलिएर पिउनेपानी नपाएर छटपटाएको अवस्था छ । लिङ्गो बनाउने रूखको जङ्गलमा प्लटिङ हुन थालिसकेको छ । बिजुली, टेलिफोन, केबल नेटका तारले, जग्गाको महँगीले बाटो, राजकुलो, साँधसिमाना मिचेर घर बनाउने, पर्खाल लगाउने कार्यले जात्रामा रथ गुडाउने बाटो छेकिसकेको छ । यसरी सहरीकरणका कारण जात्राको यात्रा समस्यामा परिसकेको छ । संस्कृतिको निरन्तरतामा विकास बाधक बन्दै गएको छ । रथ, खट र लिङ्गोको काठ काट्ने, डोरी बाँध्ने, क्षमापूजा गर्ने बोसी, अवाल, पुजारी पुस्ता नाशाका वैज्ञानिक र क्याम्ब्रिजका प्रोफेसर भइसकेका छन् । यहीँ रहेका पनि बैङ्कका संस्थापक र अपार्टमेन्टका साहु भइसकेपछि यस्ता जात्राको भविष्य अन्योलमा पर्दै गएको देखिन्छ ।
इन्द्रजात्राकोे सम्बन्धमा कुरा गर्दा यसको सञ्चालनमा दाताले छुट्याइदिएको गुठी जग्गामा खेती हुन छाडेपछि जग्गा बाहालमा दिई मोहीहरू नगद आम्दानीतर्फ आकर्षित हुन थाले । जिन्सीमा बुझाउनुपर्ने कुत–पोत अन्न उत्पादन नभएपछि नगदीमै बुझाउनुपर्ने व्यवस्था भयो । कुत–पोतको दररेट र नगद भुक्तानीको अनुपात नमिल्ने र बक्यौता बढ्ने प्रवृत्तिले जात्रा–पर्व चलाउन सरकारले जग्गा रैतानी नम्बरी बनाएर अक्षयकोषमा नगद जम्मा गरी ब्याजबाट भएको आम्दानीले जात्रा–पर्व चलाउने विकल्पको खोजी ग¥यो ।

मिथक र अभ्यासमा इन्द्रजात्रा ः
इन्द्रजात्राकोे सम्बन्धमा सनातन धर्म, साहित्य तथा वाल्मीकि, रामायण, महाभारत, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, हरिवंश पुराण, वृहत्संहिता, भविष्य पुराणमा समेत विस्तृत वर्णन गरेको पाइन्छ । देवता र असुरबीचको युद्धमा देवगणले देवराज इन्द्रलाई विजयी गराउन दिएको ध्वजा इन्द्रले समातेर युद्धमा सहभागी भएका हुनाले त्यस ध्वजालाई ‘इन्द्रध्वजा’ भनिएको र देवासुर सङ्ग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वजाको महŒव बढेको प्रसङ्ग पाइन्छ । त्यसपछि स्वर्ग तथा पृथ्वीलोकका राजाहरूले आफ्नो राज्यमा सुख, समृद्धि र विजयको कामनाले इन्द्रध्वजा स्थापना गर्न थाले ।
किंवदन्तीअनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमा वसुन्धरादेवीलाई नित्य पूजाआजाका निमित्त आवश्यक पर्ने पारिजातको फूल खोज्दै काठमाडौँ उपत्यकासम्म आइपुगे । यहाँ आएर कसैको बगैँचामा फुलेको पारिजातको फूल नसोधी टिप्न लाग्दा स्थानीयले ‘चोर’ भन्दै इन्द्रलाई पक्रिएर बाँधेर राखेपछि स्वर्गमा इन्द्र हराएको हल्लीखल्ली मच्चियो । दिव्यदृष्टिले हेर्दा इन्द्रलाई काठमाडौँवासीले बन्धनमा पारेको देखी इन्द्रलाई त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयम् काठमाडौँ आएर छोरालाई बन्धनबाट मुक्त गरिदिन अनुरोध गर्दा काठमाडौँवासीले त्यसको बदलामा पानी पारिदिने वाचा गराई इन्द्रलाई बन्धनमुक्त गरिदिएको र वर्षा भएको हुनाले समयमै धानबाली लगाउन पाएर धेरै धान फल्यो । यही खुसियालीमा इन्द्रजात्रा मनाउन थालिएको हो । यो मिथक तत्कालीन जीवन पद्धतिसँग जोडिएको छ । कृषि सभ्यतामा पानीको महŒवलाई यसले दर्शाएको छ ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा काठमाडौँलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखामा मनाइने यस जात्रामा काभ्रेको नालास्थित जङ्गलबाट ल्याइएको सल्लाको रूखबाट तयार पारिएको इन्द्रध्वजाको लिङ्गो (योँसी) ध्वजा–पताकाहरूले सजाएर मङ्गल धुनका साथ वसन्तपुर दरबार स्क्वायरस्थित विशाल कालभैरवको मूर्तिअगाडि तान्त्रिक विधिअनुसार विशेष पूजाआजाको प्रक्रियापश्चात् इन्द्रध्वजोत्थान गरिएपछि विधिवत् रूपमा इन्द्रजात्राको प्रारम्भ हुन्छ । लिङ्गोको फेदमा सुनको जलप लगाइएकोे इन्द्र विराजमान गरेको हात्तीको प्रतिमा राखेर पूजा–अर्चनाबाट सुरु हुने यो जात्रा विभिन्नप्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।
लिङ्गो ठड्याइएको तीन दिनपछि वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा जीवित देवी कुमारी, गणेश र आकाशभैरवको रथ यात्रालाई टोल परिक्रमा गराइन्छ । जात्राभर असन चोकको किराती राजा यलम्बरको शिर भनिने आकाशभैरवको मूर्तिलाई मन्दिरबाहिर खट बनाएर राखी विभिन्नप्रकारका फूलले सिँगारेर पूजा गर्ने, भक्तपुरको महाकालीनाच देखाउने, लाखेनाच, इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने, कुमारीघर अगाडि रहेको त्रैलोक्य नारायण मन्दिरमा दसावतार नाटक देखाउने, दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्ने, श्वेत भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने र प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । इन्द्रजात्राको विभिन्न साँस्कृतिक विधिअन्तर्गत बहुमत निकाल्ने भनी बाँसमा माला उनेर लामो बनाई, त्यसमा दियो राखी बत्ती बालेर नगरपरिक्रमा गरिने चलन छ ।
इन्द्रचोक, किलागल र नरदेवीमा बाँधिएका इन्द्रको मूर्तिलाई अग्लो डबलीमा प्रदर्शन तथा पूजा गर्ने प्रचलन रहेको छ । हनुमानढोका दरबार क्षेत्रस्थित श्वेतभैरवको मन्दिर सर्वसाधारणका लागि दर्शन र पूजा गर्न खुला गरिन्छ ।
यसै अवसरमा नेवार समुदायका मानिसले ‘समय बजि’ (चिउरा, राँगोको मासुबाट बनेको छोइला, कालो भटमास, माछा, हाँसको अण्डा, बारा, आलु, साग मिश्रित खाजा) बनाई प्रसादका रूपमा खाने चलन छ । यंलागा चौथी अर्थात् इन्द्रजात्राको अन्तिम दिन नानिचा याः भनेर गणेश, भैरव र कुमारीका तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ । त्यसै रात इन्द्रध्वजा फहराइएको लिङ्गो ढाली त्यसलाई तानेर बागमतीमा लगी सेलाएपछि यो वर्षको इन्द्रजात्रा समाप्त हुन्छ । नेपाली मौलिक साँस्कृतिक विविधता र महŒव बोकेको इन्द्रजात्रामा राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा जयप्रकाश मल्लको पालादेखि चलिआएको छ । कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथजात्रा चलाई आफू स्वयम् रथमा बसी नगरपरिक्रमा गर्ने गर्दथे भन्ने लोककथन छ । हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा अवलोकन गर्ने प्रचलन अहिले पनि छँदै छ ।
सामाजिक एकीकरण, भ्रातृत्व, सहअस्तित्व र धार्मिक–सामाजिक सहिष्णुताको प्रतीकका रूपमा ग्रहण गरिएको मान्न सकिन्छ यो जात्रालाई । नेपाली संस्कृतिको महिमा मिथक र इतिहासको प्रचार तथा प्रवद्र्धन गर्न सकेमा विश्व समुदाय आकर्षित हुनेमात्र नभई, देशको गौरव बढ्ने तथा पर्यटकीय विकास र आर्थिक समृद्धिमा समेत टेवा पुग्ने सम्भावना नेपाली संस्कृतिमा निहित रहेको पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?