logo
२०८० चैत्र १६ शुक्रवार



लुम्बिनी विकास कोषभित्र रिसोर्ट नबनाउन माग गर्दै होटल व्यवसायीद्वारा ज्ञापनपत्र

प्रदेश |


लुम्बिनी विकास कोषभित्र रिसोर्ट नबनाउन माग गर्दै होटल व्यवसायीद्वारा ज्ञापनपत्र


लक्ष्मण पौडेल
भैरहवा, माघ ४ गते । लुम्बिनीका होटल व्ष्वसायीहरुले लुम्बिनी विकास कोषको क्षेत्रभित्र रिसोर्ट नबनाउन आग्रह गरेका छन् । कोषको जग्गाभित्र रिसोर्ट बनाइए त्यो गुरुयोजना विपरीत हुने र त्यसमा आफूहरुको सहमति नहुने उनीहरुको भनाइ छ ।
लुम्बिनी विकास कोषभित्र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी संसारा वेलनेस कम्पनीलाई रिसोर्ट सञ्चालनका लागि जग्गा दिन लागेको भन्दै व्यवसायीले विरोध जनाएका हुन् ।
गत पुस २० गते लुम्बिनीमा बसेको विकास कोषको बैठकले संसारालाई कोषभित्र रिसोर्ट संचालन गर्न दिने निर्णय गरेको बताइएको छ । यद्यपि यो निर्णयमा कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले भने असहमति जनाउनुभएको जनाइएकाे छ । 
संसारा वेलनेसले लुम्बिनी ग्रामस्थित श्रीलंकन पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो ।
संसाराले गरेको प्रस्तावमा मेडिटेसन सञ्चालन गर्ने, मेडिटेसनको लागि आउने पाहुनाहरुको आवासको लागि रिसोर्ट सञ्चालन गर्ने उल्लेख गरिएको छ । लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले यसको सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गर्नुभयो ।
रिसोर्ट सञ्चालन गर्न दिने निर्णयप्रति विरोध जनाउँदै संघले लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा संघले लुम्बिनीलाई कोषका पदाधिकारी र केही स्वार्थ समुहले आफ्नो कब्जामा लिएर लुम्बिनीलाई दुरुपयोग गरेको आरोप लगाएको छ ।
गुरुयोजनाविपरित लुम्बिनीमा रिसोर्ट सञ्चालन गरिए संघले सशक्त विरोध गर्ने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा लुम्बिनी विकास कोषका पदाधिकारीले स्थानीयलाई सधै उपेक्षा र अवहेलना गर्ने गरेको उल्लेख गरिएको छ । विश्व शान्तिको मुुहान लुम्बिनीको विकासका लागि लुम्बिनीका स्थानीयको ठूलो सहयोग भए पनि कोषले भने स्थानीयलाई सधै उपेक्षा गर्ने गरेको होटल व्यवसायीको गुनासो छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले संसारा वेलनेसले प्रस्ताव गरेको क्षेत्र क्याम्पियन ग्राउण्ड रहेकोले त्यसलाई रिसोर्ट सञ्चालनको लागि दिन नहुने पक्षमा उभिनुभएको छ । तर रिसोर्टका लागि विकास कोषको जग्गा दिन नहुने भन्दै अडान राख्दै आउनुभएका उपाध्यक्ष त्रिपाठीलाई नै नबोलाई विकास कोषका पदाधिकारी र सदस्यहरुको गत मंसिर ११ गतेको बैठकले रिसोर्ट सञ्चालनको लागि जग्गा दिने निर्णय गरेको आराेप छ । 
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराज शाक्यले संसारा वेलनेस नामक कम्पनीलाई जग्गा दिई नसकिएको तर मेडिटेसन संचालन गर्ने र मेडिटेसन गर्न आउनेहरुलाई बस्ने सुविधासहितको रिसोर्ट सञ्चालनका लागि प्रस्ताव पेश गरेकोले त्यसको विस्तृत परियोजना माग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले कोषका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने भनेर कार्यालयमा पुगे पनि पदाधिकारी नभएपछि नायब सुब्बालाई ज्ञापनपत्र बुझाएर फर्किएको जानकारी दिनुभयो ।
संघका अध्यक्ष ज्ञवालीले पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने भनेर गएकोमा कोषका पदाधिकारी सबै काठमाडौ तथा विदेश गएको थाहा पाएपछि नायव सुब्बा नवराज अधिकारीमार्फत कोषमा ज्ञापनपत्र बुझाइएको हो ।
लुम्बिनीको विकास तथा लुम्बिनीको पर्खाल बाहिरको बिकासका लागि पदाधिकारी बाधक रहेको स्थानीय होटल व्यवसायीको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?