logo
२०८१ बैशाख ८ शनिवार



उत्कृष्ट कृषि पुरस्कार पाएपछि दङ्ग लोपोन्मुख समुदायका प्रधान

प्रदेश |


उत्कृष्ट कृषि पुरस्कार  पाएपछि दङ्ग लोपोन्मुख समुदायका प्रधान


झापा, मङ्सिर २१ गते । मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका लोपोन्मुख समुदायका ५६ वर्षीय प्रधान किसान सोमबार ‘उत्कृष्ट कृषि पुरस्कार’ पाएपछि दङ्ग पर्नुभयो । उहाँलाई लाल भागिरथा बानियाँ प्रतिष्ठानले नगद रु. ३१ हजारसहित सम्मान गरेको थियो । दुई वर्षअघि स्थापना भएको प्रतिष्ठानले प्रत्येक वर्ष उत्कृष्ट किसानसहित सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने व्यक्तिहरूलाई पुरस्कृत गर्दै आएको छ ।

आमा ठेक्री किसान र बुवा रामचरण किसानको दोस्रो सन्तानका रूपमा विसं २०२२ मा झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीमा जन्मनुभएका प्रधान सानै उमेरदेखि खेती किसानीमा लाग्नुभयो । तर उहाँलाई खेतीपाती गर्ने मान्छेले पुरस्कार पाउँछ भन्ने कहिल्यै लागेन । उहाँ भन्नुहुन्छ, “जीविका चलाउन अग्र्यानिक तरकारी खेती गर्थेँ आज त पुरस्कार पो पाएँ । पुरस्कारले उहाँलाई थप ऊर्जा मिलेको बताउनुभयो ।

विसं २००७ तिर उहाँको बुवाआमा बाहुनडाँगीमा बसाइँ सरेर आउनुभएको थियो । अर्काको खेतीमा कमाइ गरेर जीविका चलाउँदै आएको परिवारमा पढ्ने अवसर सम्भव थिएन । अर्काको जग्गामा अधियाँ र ठेक्का गरेर खेती लगाउने उसबेलाको चलन थियो । विसं २०४७ तिर प्रधान किसानले भारतको नक्सलबाडी बजार गएर भारु ४० को बर्मेली मुलाको बीउ किनेर ल्याउनुभयो । त्यसको साग प्रतिमुठ्ठा रु. दुईका दरले बेच्नुभयो । भारु ४० को बीउको साग बेच्दा रु. दुई हजार ४८० आम्दानी भयो । यो नै उहाँले पहिलो व्यावसायिक तरकारीखेती र त्यसको कमाइ भएको बताउनुभयो ।

अर्काको खेती कमाउँदा वर्षभरि हातमुख जोड्न मुस्किल हुने भएको हुँदा उहाँले तरकारी खेतीमा मन र धन लगाउन थाल्नुभयो । पहिलो कमाइको रु. एक हजार ९०० हालेर एउटा पाडो किनेको सुनाउनुभयो । घरमै भएको गोरु बेचेको पैसाले अर्को पाडो किनेपछि उहाँले परिवारका सबै सदस्यलाई तरकारी खेतीमै लगाएको बताउनुभयो ।

उहाँले नजिक रहेको धिमाल गाउँमा सब्जी खेती गरेको देखेर व्यावसायिक तरकारी खेती गर्न सुरु गरेको बताउनुभयो । विसं २०५८ मा उहाँले भूमिसुधार कानुनबमोजिम १९ कठ्ठा मोही हकमार्फत जग्गा प्राप्त गरेपछि व्यावसायिक तरकारी खेती गर्न सजिलो भएको अनुभव सुनाउनुभयो । “आफ्नै जग्गा १९ कठ्ठा र भाडा (लिज)मा लिएको १८ कठ्ठा जग्गामा तकारी खेती गर्दै आएको छु”, उहाँ भन्नुहुन्छ, “मेरो परिवार धान्ने गरी कमाइ भएको छ ।” उहाँको बारीमा अहिले बैगुन, बन्दाकोपी, फुलकोपी, बडकाउली, टमाटर, खुर्सानी, धनियाँ, बोडी, घिरौला, झिँगनी, फर्सी, लौका, करेला, रायो साग, मुला, काँक्रा, सुप, लाफासाग आदि तरकारी लहलह फस्टाएको छ ।

किसान जाति नेपालको अल्पसङ्ख्यक जातीय समुदाय हो । करिब ५०० को हाराहारीमा उहाँहरूको बसोबास झापामा मात्र भएको मानिएको छ । सरकारले लोपोन्मुख समुदायको संरक्षण गर्न मासिकरूपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । शिक्षा, रोजगारी, स्वास्थ्य, उद्यम आदिमा पछाडि पारिएको यो समुदायमा प्रधान किसान उदाहरणीय भएको महसुस गरेर प्रतिष्ठानले पुरस्कार प्रदान गरेको संस्थाका अध्यक्ष हरिचरण बानियाँले बताउनुभयो ।

लोपोन्मुख समुदायका प्रधान किसानले अनेक प्रतिकूलताका बीच व्यावसायिक तरकारी खेतीमा देखाएको लगाव, मेहनत र प्रतिफल समाजमा हरेक सुविधा र अवसरमा पहुँच राख्ने अन्य समुदायका लागि समेत अनुकरणीय हुने अध्यक्ष बानियाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “किसान समुदायमा त उहाँ जत्तिको प्रगतिशील र जागरुक अर्को परिवार नै भेटिएन ।”

उहाँकै छिमेकी सामाजिक अभियानकर्मी रमा भण्डारीले उहाँले जे काम पनि मन लगाएर गर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “उहाँले लगाएको खेतको आलीमा कमिला पनि चिप्लिन्छ भन्ने गाउँमा आहानै छ ।” उहाँले आफैँले गाई, राँगा, बाख्रा र कुखुरा पालेर त्यसको मल खेतीमा प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । उहाँले फलाएको तरकारी विषादिरहित भएको हुँदा किन्नेहरूको बारीमै भीड लाग्ने गर्छ । उहाँले तरकारी खेतीबाट वार्षिक रु. दुई लाख मुनाफा गर्दै आएको बताउनुभयो । तरकारी खेतीबाटै बाँस, काठ र खरको पुरानो झुपडीको ठाउँमा उहाँले अहिले इँटा र सिमेन्टको एकतले पक्की घर बताउनुभयो ।

प्रधानसँगै आज प्रतिष्ठानले उत्कृष्ट चिकित्सकका रूपमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवं न्यूरो सर्जन डा. गोपाल सेडाईँ र मेचीनगर–७ गोमनसरीकी गृहिणी ज्ञानु खड्कालाई असल गृहणीका रूपमा नगद रु. ३१ हजारसहित सम्मानपत्रले सम्मान गरेको छ । विभिन्न क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन र सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले दुई वर्षअघि स्थापना भएको प्रतिष्ठानले रु १० लाखको अक्षयकोष नै सञ्चालन गरिरहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?