logo
२०८० चैत्र १६ शुक्रवार



आय बढेपछि बाख्रापालनमा आकर्षण

अर्थ |


आय बढेपछि बाख्रापालनमा आकर्षण


सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर २१ गते । बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि सर्लाहीका किसान यसतर्फ आकर्षित भएका छन् ।
जिल्लामा पछिल्लो समय बाख्रपालन गर्ने किसानको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । बाख्राबाट आम्दानी बढेपछि घरव्यवहार धान्न पनि सजिलो हुने गरेको किसानले बताएका छन् ।
खेतीपातीसँगै बाख्रापालन पनि गर्दै आइरहनुभएका ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका किसान भीमसेन थापाले भन्नुभयो, “बाख्राबाट घरखर्च चलाउन सारै सजिलो भइरहेको छ, गोठमा रहेका १२÷१५ वटा बाख्राले व्यवहार राम्रैसँग धानेको छ । ”

घरगोठबाटै राम्रो मूल्यमा खसीबोका बिक्री हुने गरेकाले बाख्रापालनतर्फ किसानको आकर्षण बढेको हो । “एक वर्ष हुर्काएको खसी बिक्री गर्दा २० हजार रुपियाँभन्दा बढी आउँछ,” एक दशक वैदेशिक रोजगारीमा बसेर फर्किनुभएका थापाले भन्नुभयो । उहाँले खेतीपातीसँगै खसीबाख्रा पालेर वर्षमा दुई लाख रुपियाँभन्दा बढी आम्दानी गरिरहेको बताउनुभयो । उहाँले खेतीपातीले वर्ष दिनभरि खान पुग्ने अन्न उब्जिने गरेको र खसीबाख्रा बेचेर अन्य खर्च धान्दै आएको सुनाउनुभयो ।

कालिञ्जोरमा थापाजस्तै अन्य किसानले पनि खेतीपातीसँगै बाख्रापालन गरिरहेका छन् । कालिञ्जोरका वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनले चरनका लागि नजिकै जङ्गल रहेकाले किसानलाई बाख्रपालन गर्न सहज रहेको बताउनुभयो । बाख्रापालनले वडाभित्रका अधिकांश किसानको घरखर्च धान्न ठूलो टेवा पुगिरहेको वडाध्यक्ष पाख्रिनले बताउनुभयो । जिल्लामा उत्तरी भेगका कालिञ्जोर, पनवानीपुर, पत्थरकोट, नारायणखोला, अत्रौलीलगायत क्षेत्रमा बाख्रापालन हुने गरेको छ । यहाँका किसानले पालेको बाख्रापाठा घरबाटै र लालबन्दी, हरिवन र बयलबास बजारबाट समेत बिक्री हुने गरेका छन् ।

लालबन्दी नगरपालिका–१५, परवानीपुर माथिल्लो देउरालीका किसान गणेश राय (क्षेत्री)ले गाउँका अधिकांश किसानको बाख्रापालनबाटै गुजारा चलिरहेको बताउनुभयो । “गाउँका धेरैजसो किसानको गोठमा १०÷१५ वटा बाख्रा छन्, हाम्रो गुजारा चलाउने माध्यम नै बाख्रापाठा हो,” रायले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?