logo
२०८० चैत्र १६ शुक्रवार



लोकतन्त्रको रक्षा गर्न एमाले सक्षम छः अध्यक्ष ओली

राष्ट्रिय |


लोकतन्त्रको रक्षा गर्न एमाले सक्षम छः अध्यक्ष ओली


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ११ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको आधारभूत मान्यताको रक्षागर्न आवश्यक रहेको बताउनुभएको छ । चितवनको सौराहामा शनिबारदेखि शुरुभएको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।

राजनीतिमा अनुचित प्रयोगका कारण नेपालको राजनीति समस्यामा परेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “लोकतान्त्रिक अभ्यासलाई कुल्चिएर अगाडि बढ्दा समस्या आइरहन्छ, लोकतन्त्रको आधारभूत मान्यतालाई हामीले बचाउनुपर्छ ।” लोकतन्त्रको रक्ष ागर्न एमाले सक्षम रहेको पनि उहाँले चर्चा गर्नुभयो ।

यसअघि असोज १५ देखि १७ गतेसम्म उत्साहप्रद रुपमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले दशौं महाधिवेशन पनि सोहीअनुरुप सफल बनाउनुपर्छ भन्नुभयो । एमाले सिद्धियो भन्नेहरुलाई महाधिवेशनबाट विरोधीको सपना चकनाचुर गर्ने उहाँले बताउनुभयो । देश बनाउनका निम्ति एमालेले नेतृत्वगर्ने उहाँले चर्चा गर्नुभयो ।

राजनीतिक समस्याको समाधान गर्दै ठीकसँग अघि बढ्ने काम एमालेले गर्ने बताउनुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले राष्ट्रको सामाजिक अग्रगमनका लागि सही ढंगले अघि बढ्न आवश्यक रहेको बताउनुभयो । “महाधिवेशनले यस्तो नेतृत्व प्रदान गर्नुपर्छ, एकताबद्ध पार्टी बनाएर चुनौतीको सामना गर्न सकोस्” उहाँले भन्नुभयो ।

सबैको साझा प्रयास र मेहनतले पार्टी संगठित बनेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले लामो बाटो तय गरी अहिलेको अवस्थामा आएकाले पार्टीलाई चुस्तरुपले देश रुपान्तरणमा लगाउन आवश्यक रहेको बताउनुभयो । नेपाली राजनीतिमा अनेक जाली षडयन्त्रहरु हुनेगरेकाले सचेत रहनुपर्ने उहाँले पार्टी पङ्तिलाई सचेत गराउनुभयो । कम्युनिष्ट आन्दोलन विश्वमा रक्षात्मक अवस्थामा रहे पनि नेपालमा सबल शक्तिको रुपमा रहेका कारण प्रतिक्रियावादीलाई स्वीकार्य नभएको उहाँले चर्चा गर्नुभयो ।

हामीमाथि अनेक प्रकारका प्रहारहरु भए, हाम्रै भित्रका अनेक तत्वहरु दुरुपयोग भए अध्यक्ष ओलीले भन्नुभयो, “शृङ्खलाबद्ध हमलाकै कारण पार्टी विभाजन भयो, हाम्रै पार्टी भित्रका केही व्यक्ति त्यसमा संलग्न भएकै कारण हामी विभाजित बन्यौं ।” एमाले जनादेशको अभावमा सरकारबाट नहटेको उहाँले बताउनुभयो । यतिबेला देश अस्थिरताको दौडबाट गुज्रिरहेको उहाँले चर्चा गर्नुभयो ।

पार्टीभित्र सहमति, समझदारी र एकताबद्धरुपमा अघि बढ्नु नै वास्तविक लोकतन्त्र रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “विपक्षीसँगको प्रतिस्पर्धा त्यही ढङ्गमा हुन्छ, आन्तरिक र बाह्य व्यवहार फरक कुरा हो । विपक्षीसँग प्रतिस्पर्धा मुख्य विषय हो, पार्टीभित्र एकता मुख्य कुरा हो ।” दशौं महाधिवेशनबाट आन्तरिक लोकतन्त्र प्रदर्शन गर्नुपर्ने उहाँले बताउनुभयो ।

चौतर्फी घेरा भएपनि पार्टीलाई जोगाउनुहुने सबै एमाले पङ्ति धन्यवादको पात्र रहेको उहाँले चर्चा गर्नुभयो । हामी सबै त्यसकालागि नलडेको भए आज यो महाधिवेशनको हलमा यो हैसियतमा रहने थिएनौं उहाँले भन्नुभयो, “तपाईहरुको मेहनत, पार्टीप्रतिको मोहका लागि म सबैलाई धन्यवाद व्यक्त गर्छु, तपाईहरुले पार्टी बचाउनुभयो, पार्टीलाई झन मजबुत बनाउनुभयो ।”

म कति बाँच्छु थाहा छैन, मानिसको जीवन यसै पनि टुङ्गो हुँदैन, म त झन धेरै पटक मरेर बाँचेर आएको छु अध्यक्ष ओलीले थप्नुभयो, “जब म एमालेको हिम्मती चेहरा देख्छु देश, पार्टी, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु ।” यस्तो संगठित पार्टीको अध्यक्ष भएकोमा आफूलाई गौरवान्वित महुशस गर्नेगरेको उहाँले बताउनुभयो । ७२ वर्षअघि विशेष अभिभाराकासाथ पार्टी गठन भएको उहाँले स्मरण गर्नुभयो ।

“एक वर्षअघि हामीबाट पार्टी खोसिएको थियो, हामी निष्काशित भएका थियौं तर एक वर्षभित्र आज पुनरजीवित भएका छौं, देशको एक नम्बर पार्टी हौं ।” पार्टीलाईं यसैगरी बचाई राख्न सबैको मेहनत, परिश्रम र आन्तरिक एकताको खाँचो सदैव रहने उहाँले बताउनुभयो । महाधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेर पार्टी एकताको सन्देश दिन अनिवार्य रहेको उहाँले पार्टी पङ्तिलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “सार्वभौम समानताका साथ हाम्रा सम्बन्धहरु अघि बढ्नुपर्छ, केही समस्या छन् भने वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ ।” पार्टीको विदेश नीति, परराष्ट्रनीति न्याय र समानताका आधारमा मित्रता सुदृढ बनाउनु छ, त्यही रुपले अघि बढिरहेको उहाँले बताउनुभयो । न्यायमा सन्तुलित र व्यवहारिक नीति अख्तियार आफ्नो दलले गरेको उहाँले चर्चा गर्नुभयो ।

सबै कुराको गम्भीरतालाई ध्यान राखेर एमाले अघि बढ्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । सबै पतिकूलतासँग जुध्न, चुनौतिको सामना गर्नसक्ने पार्टी निर्माणको आवश्यकता रहेको र एमाले त्यसकालागि तयार रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?