logo
२०८१ बैशाख ७ शुक्रवार



जनगणनामा थारुहरुकोे तथ्याङ्क नछुटाउन सचेतना कार्यक्रम

प्रदेश |
समाज |


जनगणनामा थारुहरुकोे तथ्याङ्क नछुटाउन सचेतना कार्यक्रम


जयकृष्ण यादव
इनरुवा, असोज ३१ गते । सुनसरीको इटहरीमा भएको एक कार्यक्रममा आगमी जनगणना २०७८ मा थारुहरुको वास्तविक तथ्यांक नछुटाउन आग्रहसहित सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । थारु समुदायको सही तथ्याङ्क संकलन गरी सो समुदायको हक अधिकार सुनिश्चित्ता गर्न आवश्यक रहेको भन्दै थारु अगुवाहरुलाई सचेतना कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

थारु महिला सभा उपमहानगर कार्यसमिति इटहरी सुनसरीले शनिबार इटहरीमा आयोजना गरेको कार्यक्रममा जनगणना २०७८ तथा थारु भाषा सरकारी कामकाजको भाषाको रुपमा लागु गर्नुपर्ने माग गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा थारु आयोगका सदस्य भोलाराम चौधरीले जनगणनाका आधारमा राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक लगायतका क्षेत्रको पहिचान भई सोहीअनुसार नीति निर्माण तथा योजना कार्यक्रमहरु तय हुनेहुँदा थारुहरुको वास्तविक तथ्यांक जनगणनामा समावेश गर्न सबैजना सचेत हुनुपर्ने बताउनुभयो । व

२०६८ सालको जनगणनामा वास्तविक थारुको तथ्यांक आउन नसकेको बताउनुहुँदै सदस्य थारुले जनगणना अभियानमा भाग लिन सबै थारु समुदायलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो । आयोगले संविधानप्रदत्त अधिकारलाई सुनिश्चित गर्न ७ प्रतिशत आरक्षणको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराएको जानकारी गराउनुभयो ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले थारुहरु शिक्षित हुनुपर्ने तथा राजनीतिक चेतना जागृत हुन जरुरी रहेको बताउनुभयो । सुनसरीमा थारुको जनसंख्या १ लाखको हाराहारीमा रहेको र त्यो प्रतिशतमा करिब १८ प्रतिशत थारु बाहुल्यता रहेको भएपनि स्थानीय तहमा प्रतिनिधित्व कमजोर रहेको बताउनुभयो ।

जनगणना फारममा थारुहरुको भाषा, धर्म र जाति लगायतका ठाउँ सचेत भई थारुको पहिचान खुल्ने शब्द राख्नुपर्ने, जनगणना फाराममा थरको पछाडि अनिवार्य थारु लेखाउनुपर्ने, सरकारी कामकाजको भाषा थारु राख्न स्थानीय सरकार तथा प्रदेश सरकारको ध्यानाकर्षण गराई संघीय सरकारलाई दवाव दिनेजस्ता विषयमा वक्ताहरुले जोड दिएका थिए ।
सो कार्यक्रममा थारु महिला सभाकी केन्द्रिय सदस्य सुशीला चौधरी, पत्रकार कुलदिप चौधरी, थारु कानून व्यवसायी रामराज चौधरी, थारु महिला उत्थान समाजकी अध्यक्ष सीता थरुनी चौधरी, लाइन्स क्लब ग्रिनसिटीकी अध्यक्ष निर्मला चौधरी, ग्रामथान संरक्षण समितिका संयोजक तेजनारायण चौधरी, पत्रकार गवनसिंह चौधरी, समाजसेवि कालुराम चौधरी लगायतले कार्यक्रममा आफ्नो मनतव्य राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?