logo
२०८० चैत्र १६ शुक्रवार



ललिता निबास प्रकरणमा जोडेर मेरो राजनीतिक चरित्र समाप्त पार्ने प्रयास भयो : गच्छदार

प्रदेश |


ललिता निबास प्रकरणमा जोडेर मेरो राजनीतिक चरित्र समाप्त पार्ने प्रयास भयो : गच्छदार


सचिन पोख्रेल
दुहबी (सुनसरी), असोज ७ गते । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कांग्रेसको आसन्न १४औ महाधिवेशनले स्थानीयदेखि केन्द्रीय तहसम्म नेता र कार्यकताहरुको इच्छा र चाहना अनुरुप पार्टीको आन्तरिक एकता तथा सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
महाधिवेशनमा आफ्नो सभापति पदमा उम्मेदवारी नभएको प्रष्टपार्दै उहाँले आफू सबैको इच्छा, चाहना र आवश्यकता अनुसार पार्टीको सुदृढीकरण र एकतामा क्रियाशील रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।
गृहनगर दुहबीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति गच्छदारले सो धारणा राख्नुभएको हो । महाधिवेशनको सफलतासँगै वडास्तरदेखि केन्द्र तहसम्मलाई जोड्ने र यसले पार्टीको आन्तरिक एकता तथा सुदृढीकरण हुने विश्वाससमेत व्यक्त गर्नुभयो । महाधिवेशन अन्तरगत स्थानीय स्तरमा हुन लागेको गाँउ, नगर, प्रदेश र संसदीय निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा गृहजिल्ला आउनु भएका उपसभापति गच्छदारले स्थानीय नेता र कार्यकर्ताहरुलाइ पनि पार्टीको आन्तरिक एकतालाई आधार मानेर अधिवेशनमा सहभागी बन्न आग्रह गर्नुभएको थियो ।
मुलुकमा लोकतन्त्र स्थापनामा काँग्रेसले अग्रणी भूमिका निर्वाह गरेको र जनताको आशा र अपेक्षा पनि काँगे्रसप्रति रहेको दाबी गर्दै नेता गच्छदारले काँग्रेसले नै देश र जनताको हितमा काम गर्ने बताउनु भयो । आफू लोकतन्त्रवादी भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक पद्धतिको स्थापना, संस्थागत विकास र प्रवद्र्धनमा आफ्नो तर्फबाट निरन्तर योगदान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उपसभापति गच्छदारले यसअघिको सरकारले आफूलाई राजनैतिक प्रतिशोध साँधेर षड्यन्त्रपूर्वक आरोप लगाएको भन्दै ललिता निवास जग्गा प्रकरणमा आफू दोषि नभएको दाबी पनि गर्नुभएको छ ।
उहाँले अगाडि भन्नुभयो, “ललिता निबास जग्गा प्रकरणमा आफूलाइ जोडेर मेरो राजनीतिक चरित्र समाप्त पार्ने प्रयास भएको छ । ” यस प्रकरणमा जोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनावश्यक प्रतिशोधका आधारमा झुटा मुद्दा लगाए पनि स्वतन्त्र र निष्पक्ष न्याय पाउने कुरामा आफू विश्वस्त रहेको उहाँको भनाइ छ । उपसभापति गच्छदारको भनाइ थियो, “आजसम्म मैले राष्ट्रलाई हानी नोक्सानी पुग्ने र आफ्नोमात्र लाभ हुने कुनै कार्य गरेको छैन ।
पार्टी कार्यकर्ता भेलामा प्रदेश १ को प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कँंग्रेसका नेता राजिव कोइरालाले प्रदेश १ मा अल्पमतमा रहेको एमालेको सरकार चाडै ढल्ने बताउनु भयो । उहाँले ढल्नै लागेको प्रदेश सरकारले मन्त्रिमण्डल विस्तार गर्नु निर्लज्ज भएको आरोप लगाउँदै चाँडै गठवन्धनको सरकार निर्माण हुने पनि उल्लेख गर्नुभयो
नेपाली काँग्रेस दुहबी नगर समितिद्वारा आयोजित कार्यक्रममा नगर सभापति गुलाबी मियाँले पनि आफ्नो धारणा राख्नु भएको थियो ।
कांग्रेसका प्रभावशाली नेतासमेत रहनु भएका उपसभापति गच्छदार बिराटनगर विमानस्थलमा आइपुग्नु हुदाँ सुनसरी र मोरङका हजारौ कार्यकर्ता तथा स्थानीय नेताहरुले उहाँलाई स्वागत गर्नु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?