logo
२०८१ बैशाख ७ शुक्रवार



सदरमुकाम चाँडै सडक सञ्जालमा

प्रदेश |


सदरमुकाम चाँडै सडक सञ्जालमा



राजन राउत

हुम्ला, असोज ७ गते । कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको दुल्लीकुनादेखि खार्पुनाथ गाउँपालिकाको लालीबगरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णयको स्वागत गरिएको छ । असजिलो खण्डको काम सेनाबाट समयमै सम्पन्न हुने यसअघिको नजिरलाई ध्यानमा राखी सरकारले गरेको निर्णयलाई जनप्रतिनिधिहरूले स्वागत गरेका हुन् ।
पूर्वमन्त्री एवं कर्णाली प्रदेश सभाका सांसद जीवनबहादुर शाहीले असजिलो र चट्टानी खण्डको सडक निर्माणको काम नेपाली सेनालाई दिने निर्णयले अब यसै आर्थिक वर्षमा सरकारको लक्ष्यअनुसार सदरमुकाम सिमकोट राष्ट्रिय सञ्जालसँग जोडिने बाटो खुलेको बताउनुभयो ।
उहाँले जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलहरूको आवाजलाई सरकारले समयमै सुनुवाइ गरेको बताउनुभयो । यसले हालसम्म देशकै एकमात्र सदरमुकाम सडक सञ्जालसँग नजोडिएको जिल्ला भन्ने उपमा हटाउने कार्य गरेको उहाँको धारणा छ ।
मङ्गलबार सरकारले मन्त्रिपरिषद्ले सात किलोमिटर लम्बाइ पर्ने उक्त असजिलो खण्डको काम सेनालाई दिने निर्णय गरेको थियो । निर्णयले कर्णाली प्रदेशको ‘जीवनरेखा’को रूपमा रहेको करिडोरलाई पूर्णता दिने काम भएको बताउँदै उहाँले अब सेनालाई सबै सहयोग गरेर तत्काल काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।
हुम्ला जिल्लाका सांसद छक्कबहादुर लामाले सरकारको निर्णयले निर्माण कम्पनीबाट ढिलो र समयमै काम सम्पन्न नहुने हालसम्मको भोगाइलाई बिदा दिएर छिटो काम गर्न, दिगो र टिकाउ सडक निर्माणमा सघाउ पु-याउने विश्वास व्यक्त गर्नुभयो ।
अब चाँडै सदरमुकाम सडक सञ्जालसँग जोडिने बताउँदै उहाँले हाल सेनालाई जिम्मा दिने निर्णय भएको सडक दीर्घकालीन महत्त्वको हुने बताउनुभयो । सडक निर्माणको दूूरी छोटो भए पनि कठिन क्षेत्रमा पर्छ । उहाँले यो हुम्लावासीको निकै अघिदेखिको माग भएको बताउनुभयो ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले सरकारको निर्णयले हुम्लामा चाँडो सडक पुग्ने कार्य हुने बताउनुभयो । वर्षौंसम्म निर्माण कम्पनीको जिम्मा रहेको सो खण्डको काम निर्माण सुरु नभइरहेको बेला सेनाले काम गर्ने बाटो सरकारले खोलिदिएपछि हुम्लावासीमा उत्साह छाएको बताउनुभयो ।
नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला सडक आयोजनाका प्रमुख मिलन कार्कीले सरकारले निर्णय गरेको र अब सडक विभागको पत्रको प्रतीक्षामा रहेको बताउनुभयो । सडक विभागबाट काम जिम्माको परिपत्र आउनेबित्तिकै काम सुरु गर्ने उहाँले बताउनुभयो ।
हुम्ला खण्डको सलीसल्लादेखि गिउसीसम्मको १२ किलोमिटर सडकको हिल्सा–सिमकोट सडक आयोजनाले ट्र्याक खुलाउने कार्य पूूरा गरिसकेको योजना प्रमुख बिसनदास लामाले बताउनुभयो । गिउसीबाट लालीबगरसम्मको ११ किलोमिटर सडकको सात किलोमिटर सेना र बाँकी आयोजनाले गर्ने उहाँले बताउनुभयो । यस स्थानमा सडक निर्माण भइरहेको छ । यता लालीबगरदेखि खार्पुसम्मको १२ किलोमिटर सडकको पनि ट्र्याक खोल्ने कार्य पूरा भएको छ ।
२०७० सालदेखि निर्माण गरिरहेको सेनाले सो सडकको निर्माण सम्पन्न भएपछि गत असार ३१ गते सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्ने कार्य गरिसकेको छ । सेनाले सो खण्डको कालीकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडकको निर्माण पूरा गरेको थियो ।
निर्माण भएको कुल सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर निर्माण भएको सडक पर्छ । हुम्ला खण्डको निर्माण २०७३ चैत ९ बाट सुरु गरिएको थियो । सो खण्डमा सेनाले हाल पहिरो पन्छाउने, भत्केका पर्खाल लगाउने र मर्मतको कार्य गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?