logo
२०८१ बैशाख १२ बुधवार



पर्यटनको सम्भावना बोकेको राजाजी डाँडोकाे संरक्षण थालियो

प्रदेश |
पर्यटन |


पर्यटनको सम्भावना बोकेको राजाजी डाँडोकाे संरक्षण थालियो


जिवछ यादव
लाहान,भदौ ३१ गते । लाहान नगरपालिकाको उत्तरी भेगमा रहेको राजाजी डाँडो धार्मिक पर्यटकको लागि केन्द्र बन्न सक्ने देखिएको छ । पर्यटकीय स्थलको विकास गर्न सकिने प्रचुर सम्भावना भएको यो क्षेत्रको संरक्षण र विकासमा अहिले लाहान नगरपालिकाले चासो लिन थालेपछि स्थानीयमा केही आशा पलाएको छ ।
लहान बजारदेखि आठ किलोमिटर बलान नदीको उत्तरमा रहेको राजाजी डाँडोको नामले चिनिने त्यस डाँडोको सबैभन्न्दा अग्लो रमणीय ठाँउमा शिव पार्वती, राम लक्ष्मण सीताको मूर्ति साना साना पुराना मन्दिर छन् । जीर्ण अवस्थामा पुगेको मन्दिरको पश्चितर्फ सयाैं वर्ष पुरानो इनार छ । सिराहा सप्तरी र उदयपुर तीनै जिल्लाको सिमाना जोडिएको राजाजी डाँडोबाट उत्तर हेर्दा उदयपुर, पूर्व हेर्दा सप्तरी र पश्चिम सिराहाका गाउँहरु देखिन्छन्।
सिराहाको तरेगना, सप्तरीको वभना र उदयपुरको कोल्टिया तीनै गाँउका स्थानीयहरु असार महिनाको पूर्णिमामा त्यस मन्दिरमा गएर वर्षमा एक दिन धुमधाम पूजा गर्ने गरेको राजाजी डाँडामा रहेको देवस्थलका पूजारी साधु मुरली दास बताउनुहुन्छ ।
तरेगनापारि रहेको रमाइलो डाँडोमा ४५ मिनेट उकालो चढेर त्यस ठाउँमा पुगेपछि सबै थकान आफैं मेटिने स्थानीय बताउँछन् त्यहाँँबाट चारैतिरको प्राकृतिक सौन्दर्य र सुन्दर ठाउँको अवलोकन गर्न सकिन्छ ।
पुराना इँटले बनेको साना साना मन्दिरहरुमा महादेव पार्वती बसहा राम लक्षमण सीताको मूर्ति रहेको देखाउँदै स्थानीय भीमबहादुर थापाले भव्य मन्दिर निर्माण, खानेपानीको व्यवस्था र सुरक्षित सडक निर्माण भएमा यस क्षेत्रमा पर्यटकहरुको ओइरो लाग्ने विश्वास व्यक्त गर्नुभयो । लहान नगरपालिकाले चासो लिएर ट्रायक निर्माण गरेपछि पर्यटक आउन थालेको उहाँले जानकारी दिनुभयो ।
डाँडामा प्राचीन कालमा ‘देवहाट’ लाग्ने गरेको थियो । पछि त्यस डाँडामा राजाजी नामले चिनिने राजाको छोराको विवाहमा देउताहरुको ठूलो उपस्थित भएको थियो । विवाह सकिएपछि विवाहको डोलीसहित सबै विलय भएको बुढापाकाहरु भनाइ रहेको स्थानीय गङ्गा बुढाथोकीले सुनाउनुभयो । तीनैवटै जिल्लाका तीनै गाँउका स्थानीयलाई स्वास्थ्य वा अन्य समस्या भएपछि राजाजी डाँडामा आएर पूजा गरेपछि निको हुने गरेकोले हाम्रो कूल देउताको रुपमा रहेको उहाँले बताउनुभयो ।
लाहान नगरपालिकाले राजाजी डाँडाको अवलोकन सकेर धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउनको लागि गतवर्ष बाटो ट्रायक खोलेर यसको विकासको लागि देखाएको तत्परताले अब केहि होला भने आस जागेको लहान–१६ कावडाध्यक्ष गरुलबहादुर जर्घा मगरले जानकारी दिनुभयो । उहाँको अनुसार वडा कार्यालयको बजेटले सम्भव छैन । यसको विकासको लागि प्रदेश सङ्घ र नगरपालिकाको नगरस्तरीय बजेट लगानी गर्न आवश्यक छ जुन महोल विस्तारै बन्न थालेको छ ।
लाहान नगरप्रमुख मुनि साह भन्नुहुन्छ, ‘लहान नगरपालिकाको उत्तरी भेगमा आधा दर्जन धार्मिक पर्यटकीय स्थलहरु छन् । त्यसमा राजाजी डाँडाको संरक्षण र सौन्दर्यकरणको लागि गतवर्ष ट्रायक खोलेर अब त्यसको सौन्दर्यकरण, मन्दिर निर्माण,खानेपानीको प्रबन्ध गर्नको लागि तयारीमा जुटेका छौ ।’
तरेगनामा गाडी राख्ने पार्क निर्माण,बलान नदीमा झोलुङगे पुल, डाँडामा पैदल हिडेर प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्दै सिँडी निर्माण गरेर राजाजी मन्दिर रहेको ठाँउमा व्यवस्थित धर्मशाला पार्क र केही पसलहरु राख्न दिने हो भने पर्यटकबाट राम्रो आम्दानी हुने र छोटो समयमा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुने माग स्थानीयहरुले गरेपछि लहान नगरपालिकाले यसको विकासमा चासो लिन थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?