logo
२०८१ बैशाख ८ शनिवार



राजधानी बाहिर पहिलो पटक भेरी अस्पतालमा ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया

प्रदेश |


राजधानी बाहिर पहिलो पटक भेरी अस्पतालमा ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया
मल्टीलिगामेन्टको शल्यक्रिया गर्दै चिकित्सकहरु


सिराज खान
नेपालगञ्ज, भदौ २९ गते । काठमाडौं बाहिर भेरी अस्पतालका चिकित्सकले पहिलो पटक ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया गरेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको सफल शल्यक्रिया गरेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
यसअघि मल्टीलिगामेन्टको शल्यक्रिया काठमाडौँका चिकित्सकले मात्र गर्ने गरेकोमा यस पटक नेपालगञ्जमा पनि सफलतापुर्वक गरिएको प्रमुख डा. थापाले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. तिर्थेन्द्र खडकाको टोलीले सो शल्यक्रिया गरेको थियो । उहाँसहित चार जनाको टोलीले शल्यक्रिया गरेको हो । एसीएल, पीसीएल र एलसीएल नशाको सफल शल्यक्रिया भएको हो ।
दुई महिना अघि प्रमिलाको बाँया खुट्टाको घुँडामा चोट लाग्दा तीन वटा नशामा असर परेको थियो । पहाडी भेगको बाटोमा हिड्दा महिलाको घुँडामा रहेको तीन वटा नशामा असर परेको थियो । हिड्दा–हिड्दै खुट्टा बटारिने समस्याले उहाँलाई सताएको थियो । लिगामेन्टमा धेरै असर पर्दा हिँडन अप्ठयारो हुने गरेको शल्यक्रियामा सहभागी डा. खड्काले बताउनुभयो ।
उहाँले थप्नुभयो–‘मल्टीलिगामेन्टको शल्यक्रिया भएपछि उहाँ सहजै हिंडडुल गर्न सक्नु हुन्छ, शल्यक्रिया नगरेको भए उहाँलाई बारम्बार खुट्टा दुख्ने र घुँडा पनि काट्नुपर्ने अवस्था आउन सक्थ्यो ।’
दुई वर्षमा लिगामेन्टको मात्र सय भन्दा बढी बिरामीको शल्यक्रिया गरिसकेको जनाउँदै डा. खड्काले तर मल्टीलिगामेन्टको शल्यक्रिया पहिलो पटक गरिएको बताउनुभयो ।
प्रमिला थापाको शल्यक्रिया गर्दा अस्पतालमा १० हजार रुपियाँ मात्र खर्च भएको डा. खडकाले बताउनुभयो । मल्टीलिगामेन्टको शल्यक्रिया शुल्क अस्पतालले २० हजार रुपैयाँ लिने गरेको छ ।
विरामीको आर्थिक अवस्थालाई ध्यानमा राखेर आधा शुल्क छुट गरिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?