logo
२०८१ बैशाख ८ शनिवार

  भुजुङ गाउँमा थिति बसाल्ने अनौठो 'भदौसभा'  



दण्ड जरिवाना, बजारभाउदेखि ज्याला तोक्ने कानुन बन्छ

प्रदेश |
समाज |


दण्ड जरिवाना, बजारभाउदेखि ज्याला तोक्ने कानुन बन्छ


बेलिना थापा
लमजुङ, भदौ २९ गते । लमजुङको पर्यटकीय गाउँ भुजुङका स्थानीयले नयाँ कानुन निर्माण गरेका छन् । क्व्होलासोंथर गाउँपालिका वडा नं. ४ भुजुङ गाउँको नीतिनियम तथा ऐन कानुन निर्माण गर्न बर्सेनि भदौसभा हुने गरेको छ । भदौको अन्तिम साता भदौसभा गर्ने गरिएको र सभाबाट नयाँ ऐन कानुन बनाउने गरिएको स्थानीयले बताएका छन् ।
यसबर्ष पनि गाउँलेले भदौ २४, २५, २६, २७ गते भदौसभा गरेर नयाँ कानुन बनाएका छन् । रीतिथिति ब्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँको सामाजिक, साँस्कृतिक र आर्थिक अवस्थामा एकरुपता ल्याउन र गाउँलाई एकढिक्का बनाउन, बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौसभा गर्ने गरिएको बताउनुभयो । भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र वर्सेनि परिमार्जन गर्दै लाने गरेका छन् । उहाँका अनुसार भदौमा सञ्चालन गरिने भएकाले यो सभालाई भदौसभा भन्ने गरिएको हो ।
बर्षायाममा धान तथा कोदो रोपाइँ सकिएपछि केही फुर्सद हुने र फुर्सदको समयलाई सदुपयोग गर्दै उहिलेदेखि भदौसभा गर्दै आएको उहाँले बताउनुभयो । भदौसभाले नीति नियमको पालना नगर्नेलाई जरिवानासमेत गर्ने गरेको छ । भदौ २४, २५ र २६ गते सबै गाउँले सभामा सहभागि भएका थिए । भदौ २७ गते भने समितिका २५ जना मात्र सहभागि भएको स्थानीय नौराज गुरुङले बताउनुभयो ।
उहाँका अनुसार भदौसभाले विभिन्न नियम बनाएको छ । सभाले गाउँमा कायम रहेको श्रमज्याला, उपभोग्य वस्तुको मूल्य निर्धारण गरेको छ । सभाबाट लोकल कुखुराको प्रति शेर २०० रुपियाँ, बोइलर कुखुरा प्रति शेर १ सय ८० रुपियाँ, लोकल रक्सी प्रति बोतल एकसय रुपियाँ, राँगाको मासु प्रति धार्नी छसय रुपियाँ, भैंसीको मासु प्रति धार्नी पाँच सय ५० रुपियाँ, खसीको मासु प्रति धार्नी एक हजार १ सय रुपियाँ, भेडाबाख्रा मासु प्रति धार्नी एक हजार ५० रुपियाँ तोकिएको छ ।
यस्तै श्रमज्यालाको पनि मूल्य निर्धारण गरेको छ । ज्यामी (दक्ष) लाई प्रति दिन छसय ५० रुपियाँ, ज्यामी (अर्धदक्ष) लाई प्रति दिन छसय रुपियाँ ज्यामी (ढुङ्गा माटो बोक्ने) लाई पाँचसय रुपियाँ तोकिएको छ । गोरु जोत्नेलाई गोरुसहित एक हजार रुपियाँ, असारे पर्म खाजाुहित चारसय रुपियाँ, हिउँदे पर्म तीनसय रुपियाँ, अन्न प्रति पाथी दुईसय रुपियाँ, पराल प्रति भारी दुईसय रुपिया, अर्गुम गर्दा घ्याब्रे गुरुलाई पगरी पाँच हजार रुपियाँ, अर्गुम गर्दा पच्यु गुरुलाई पगरी चार हजार रुपियाँ, पुटपुटे नाचमा गाउँ कोषमा पाँच हजार रुपियाँ तोकिएको छ । पुटपुटे नाचमा गुरुहरुको १० हजार तोकिएको छ ।
यस्तै, दशैं र तिहारमा एक टोलले अर्काे टोललाई भैंसी उपलब्ध गराउँदा जरिवाना गर्न नपर्ने नियम बनाएको छ । वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार भदौ सभाले समाजमा चोरीडकैती गर्नेलाई कारबाही गर्ने र राम्रो काम गर्नेलाई स्याबासी दिने गरिन्छ । भदौ सभामा प्रत्येक घरबाट घरमुली सहभागी भएको बताउनुभयो । उहाँका अनुसार सभामा पाप नगरेको, वर्षभरि आफ्नो परिवारले अरु कसैमाथि नराम्रो नसोंचेको, अधर्म नगरेको, चोरीडकैती लगायत नराम्रो काम नगरेको भनी खुकुरीको धार र तामाको ताउलो छोएर कसम खाने गरिन्छ । कुनै पनि व्यक्तिले जानी नजानी गल्ती गरेको भए जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?