logo
२०८१ बैशाख १२ बुधवार

  पुलमय बन्दै सिन्धुलीकाे कमला नदी  



एक दशकमा एउटै नदीमा छ वटा पक्की पुल निर्माण

प्रदेश |


एक दशकमा एउटै नदीमा छ वटा पक्की पुल निर्माण
सिन्धुलीको दुधौली नगरपालिका टाँडीबाट हात्तीवन गाँछी जोड्ने कमला खोलामा निर्माण भएको पक्की पुल ।


बाबुराम देवकोटा
सिन्धुलीमाढी, साउन २९ गते । कुनै बेला एउटा झोलुङ्गेपुल समेत देख्न मुस्किल पर्ने सिन्धुली जिल्लाको कमलाखुँजस्थित कमला खोला यतिबेला पक्की पुलमय बनेको छ ।
जिल्लाकै सबैभन्दा ठूलो नदीको रुपमा रहेको कमला खोलामा एक दशकको बीचमा यतिखेर छ वटा पक्की पुन निर्माण भएका छन् । तीमध्ये पाँच वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने एउटा निर्माणाधीन अवस्थामा रहेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार कमला खोलामा मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिकाको वडा नं. २ रतनपुर र वडा नं. ३ झुंगालाई जोड्ने, वडा नं. ३ मिलनचौक र वडा नं. ४ डकाहालाई जोड्ने, वडा नं. ६ हर्षाही र वडा नं. ५ खनिया जोड्ने, वडा नं. ११ टाँडी र वडा नं ९को हात्तीवन गाँछी जोड्ने, वडा नं. ११ र उदयपुरको बेलसोत जोड्ने पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । कमलामाई नगरपालिका वडा नं. ९ भिमान र वडा नं. १० जोड्ने पक्की पुल भने निर्माणाधीन अवस्थामा छ ।
कमलामाई नगरपालिका–१० डाँडाटोल निवासी मीनकुमारी कार्कीलाई कमला नदीमा पक्की पुल निर्माणसँगै निकै उत्साह बढेको छ । चार वर्षअघि स्थानीय भिमान बजारमा दैनिक उपभोग्य वस्तु किनेर घर जाँदै गर्दा कमला नदीमा एक्कासि आएको बाढीले झण्डै २० मिटरसम्म उहाँलाई बगाएको थियो । त्यो कहालीलाग्दो क्षणलाई अहिले भने सोही ठाउँमा बन्न सुरु गरेको पक्की पुलले मलम लगाउन थालेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बर्षादको मौसममा भिमानबाट घर जाँदै गर्दा हामी आठ जनालाई बगाएको थियो । बगरको बीचमा पुगेपछि एक्कासि बाढी आयो, सबैलाई बगायो । तुरुन्तै गाँउलेहरु आएर उद्धार गरी सबैलाई बचाए ।’ उक्त बाढीले आफूसँग भएको व्याग बगाउँदा एक लाख रुपियाँ नगद हराएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार कमला नदीमा वारपार गर्ने पुल नहुँदा भिमान पारिका बासिन्दाले बर्सेनि सास्ती खेप्न बाध्य थिए । अहिले भने पक्की पुल निर्माण सुरु भएपछि स्थानीय सबैमा खुशी छाएको छ ।
उक्त वडाका अध्यक्ष कैलाश ढुङ्गेलका अनुसार प्रदेश सरकारको करिब १७ करोड रुपियाँ सहयोगमा कमलामाई नगरपालिका–९ र १० लाई जोड्ने गरी कमला नदीमा चार सय मिटर लामो उक्त पुलको निर्माण सुरु भएको एक वर्ष भएको छ । निर्माण सुरु गरेको मितिले ३० महिनामा सक्ने गरी सूर्य एण्ड सन् प्रालीले पुल निर्माणको ठेक्का पाएको छ । पुल निर्माणसँगै स्थानीयमा खुशी छाएको उहाँले बताउनुभयो ।
कमला खोलामा पक्की पुल बन्नु अघि बर्षादको मौसममा दुधौली नगरपालिकाका बासिन्दाको सदरमुकाम सिन्धुलीमाढीसम्म आवतजावत गर्न निकै कष्ट गर्नुपर्दथ्यो । ‘लगभग बर्षादको मौसममा सदरमुकाम सिन्धुलीमाढीसँग दुधौलीका बासिन्दाको सम्बन्ध बिच्छेद जस्तै हुन्थ्यो,’ दुधौली नगरपालिका वडा नं. ७ का अध्यक्ष कुमार बस्नेतले भन्नुभयो, ‘दुधौली नगरपालिकामा मात्रै कमला खोलामा करिब ४० किलोमिटरको दूरीभित्र पाँच वटा पक्की पुल बनेर सञ्चालनमा आइसकेका छन् ।’
वर्षातको चार महिना अत्यन्तै कष्टका साथ जीवनयापन गर्ने दुधौलीको हतपते, डकाहा, सिर्थौली, दुधौली, टाँडी, लदाभीरका स्थानीले अब बा¥है महिना दुःख झेल्नु नपर्ने भएको उहाँले सुनाउनुभयो ।
कमला नदीमा पुल नभएर सास्ती खेपेका स्थानीय तिवीर गतिमा निर्माण भैरहेको पुलको काम हेरेर दङग परेको दुधौली नगरपालिकाका प्रवक्ता रितेस राउत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हिजोका दुःखका काहालीलाग्दा दिन सम्झिदा आङ् सिरिङ्ग गर्ने र पुल निर्माण भैरहेको हेरेर खुसीको सञ्चार छाएको छ ।’ उहाँका अनुसार वर्षातमा वारपार गर्न नसक्दा ज्यादै कठिन थियो, हिंउदमा समेत चिप्ला ढुङ्गा हुने भएकाले पार गर्न कम्ता कष्ट थिएन । अब त पुलबाटै सरर हिँड्ने पाइएको छ । पुल नहुँदा समयमा नै उपचार नपाएर कतिपय बिरामीको अकालमै ज्यान जाने गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?