logo
२०८० चैत्र १५ बिहीवार



नक्साल भगवती र जयनेपाल चोकमा ट्राफिक बत्ती जडान   

खुला |


नक्साल भगवती र जयनेपाल चोकमा ट्राफिक बत्ती जडान   


 काठमाडौँ, साउन १५  गते । नक्साल भगवती र जयनेपाल चोकअगाडि ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा जयनेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो । 

जयनेपाल चोकमा जडान गरिएको बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा–१ का वडाअध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त उद्घाटन गर्नुभयो । यस्तै, नक्साल भगवतीमा जडान गरिएको बत्तीको महाशाखा प्रमुख भट्टराई र कुमारी बैंकका अधिकृत रामचन्द्र खनालले उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले प्रविधिमार्फत सडक व्यवस्थापनका लागि सडक बत्तीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “काठमाडौँ उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिँदै आएको छ,” उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिका–१ का वडाअध्यक्ष श्रेष्ठले ट्राफिक बत्तीको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कुमारी बैंकका अधिकृत खनालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ट्राफिक बत्ती जडान कार्यलाई सहयोग गरिएको बताउनुभयो । आगामी दिनपनि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने उहाँको भनाइ थियो । 

महाशाखाले हालसम्म उपत्यकाका ३४ चोकमा ट्राफिक बत्तीमार्फत ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्यूनीकरणको लागी आगामी दिनमा अन्य चोकमा ट्राफिक बत्ती जडानको लागि समन्वय गर्ने महाशाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?