logo
२०८१ बैशाख ११ मंगलवार



नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको निर्माण सकियो, छिट्टै उद्घाटन हुने

प्रदेश |
समाज |


नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको निर्माण सकियो, छिट्टै उद्घाटन हुने


बाबुराम देबकोटा
सिन्धुलीगढी (सिन्धुली), साउन ७ गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले नेपालकै पहिलो युद्ध सङ्ग्रहालय निर्माण गरेको छ ।

नेपाल एकीकरणका बेला अङ्ग्रेज फौजलाई हराएको बिरासत बोकेको ऐतिहासिक स्थल सिन्धुलीगढीमा नेपाली सेनाको नागरिक सहयोग अभियानअन्तर्गत २०७६ साल माघ महिनादेखि युद्ध सङ्ग्रहालय बनाउन सुरु गरिएको थियो । उक्त सङ्ग्रहालय निर्माण गर्ने जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बर्दबहादुर गणले पाएको छ ।

नेपाली सेनाको पूर्व–पश्चिम एकीकरण पदमार्ग विकास गर्ने र उक्त पदमार्गमा परेका गढी तथा किल्लाको संरक्षण गर्ने अभियानअन्तर्गत सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माण गरिएको उक्त गणले जनाएको छ । गणका गणपति बिजय थापाले नेपाली सेनाको करिब सात करोड रुपियाँ लागतमा सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माण भएको जानकारी दिनुभयो ।

गणका अनुसार २०७६ साल कात्तिक २४ गते तत्कालीन उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले उक्त सङ्ग्रहालयको शिलान्यास गर्नु भएपछि निर्माणको काम सुरु भएको थियो ।

उहाँले भन्नुभयो, ‘युद्ध सङ्ग्रहालय निर्माणको काम सबै सकिएको छ । अब उक्त सङ्ग्रहालय उद्घाटन राष्ट्रपतिबाट गराउने तयारी भइरहेको छ ।’ एक/दुई दिनभित्रै सङ्ग्रहालय उद्घाटनको मिति टुङगो लाग्ने उहाँको भनाई छ । शिलान्यास भएको नौ महिनाभित्र सङ्ग्रहालय निर्माण पूरा गर्ने लक्ष भए पनि बीचमा कोरोना महामारी र लकडाउनका कारण निर्माणमा ढिलाइ भएको जनाइएको छ ।

सङ्ग्रहालय भित्र वृत्तचित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्ताबेज, तत्कालीन युद्धकालीन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक प्रर्दशन लगायत सङग्रहित गरि राखिएको छ । करिब छ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा ंछ कोठे एक तल्ले सङ्ग्रहालय निर्माण भएको छ ।

नेपाल एकीकरणका बेला गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुली जिल्लाको सिन्धुलीगढी, मकवानपुर जिल्लाको मक्वानपुरगढी, रौतहट जिल्लाको समनपुर र रुपन्देही जिल्लाको जितगढी युद्धमा हराएको ईतिहास रहेकोले ती स्थानमा नेपाली सेनाले युद्ध सङ्ग्रहालय बनाउने योजना अघि सारेको बताईएको छ । सोही योजना अन्तर्गत सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माण भएको गणले जनाएको छ ।

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले यही साउन महिनाको १३, १४ र १५ गते मध्ये एक दिन राष्ट्रपतिबाट उक्त सङ्ग्रहालयको उद्घाटन र कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘सेनाको काम भएकोले सबै कुरा हामीलाई थाहा हुदैन ।’

कमलामाई नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालका अनुसार नेपाल सरकारले २०७५ सालमा घोषणा गरेको नयाँ पर्यटक गन्तव्य मध्येको एक ऐतिहासिक सिन्धुलीगढी हो । सिन्धुलीगढीमा रहेको मुख्य दरबार (रानी दरबार) बागमती प्रदेश सरकारको बहुबर्षे योजना अन्तर्गत यो बर्षदेखि पुनर्निर्माण सुरु गरिएको छ ।

महाभारत क्षेत्रको करिब पाँचदेखि छ हजार फिटको उचाइमा सिन्धुलीगढी छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीवाट करिब १६ किलोमिटर उत्तरतर्फ र राजधानीबाट १४० किलोमिटर पूर्वमा सिन्धुलीगढी रहेको जनाइएको छ ।

वरिष्ठ सामाजिक विकास अधिकृत ढकालले भन्नुभयो, ‘नेपाल एकीकरणका बेला बिं. सं. १८२४ मा काठमाण्डौ कब्जा गर्न किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई युद्धमा हराएर गोर्खाली सेनाले बिरासत कमाएको ठाँउ सिन्धुलीगढी हो ।’

युद्ध सङ्ग्रहालय निर्माणसँगै सिन्धुलीगढी अहिले हेर्न र घुम्न लायक ऐतिहासिक स्थल भएको र उक्त ठाउँ घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकबाट वार्षिक पाँच करोड रुपियाँ उठाउने नगरपालिकाको योजना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?