logo
२०८० चैत्र १६ शुक्रवार



उपत्यकाका अस्पतालमा संक्रमितका लागि छुट्याइएका शय्या भरिदै

स्वास्थ्य |


उपत्यकाका अस्पतालमा संक्रमितका लागि छुट्याइएका शय्या भरिदै


आसा साह 

काठमाडौं, वैशाख २७ गते । काठमाडौं उपत्यकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपचारका लागि छुट्याइएका अस्पतालका बेड भरिएका छन् । नयाँ भेरियन्टबाट सङ्क्रमित हुने बिरामीको लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा उपत्यकाका अस्पतालमा अक्सिजनको अभाव देखिएको हो ।

काठमाडौंको निजामती अस्पताल, ललिततपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र र्कीतिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा अक्सिजनको अभावका कारण कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा समस्या र भर्ना लिन समस्या हुन थालेको चिकित्सकहरुले बताउनुभएको छ ।
निजामती अस्पतालका प्रोफेसर डा। दिनेशकुमार लम्सालले अस्पतालमा कोभिड बिरामीका लागि ६० वटा बेड छुट्याएको बताउनुभएको छ । उहाँले ६० वटा बेडमा ६ वटा भेन्टिलेटर, १४ वटा आइसीयू र बाँकी कोभिड वार्ड रहेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ ।
त्यस्तै इमजेन्सीमा अक्सिजनको मात्रा प्रयाप्त नभएका कारण बिरामी छट्पटाइ राखेको र थप बिरामी भर्ना लिन नसकेको उहाँले बताउनुभयो । साथै उहाँले सरकारसँग हेल्थ इमजेन्सी लागू गर्न आग्रह गर्नुभयो । ‘हेल्थ इमजेन्सी लागू गरे केहि व्यवस्थापन सहज हुन्थ्यो,’ उहाँले भन्नुभयो ।
त्यस्तै ललितपुरको पाटन अस्पतालमा कोभिड बिरामीका लागि ३० वटा आइसीयू, भेन्टिलेटर १८ वटा रहेको छ ।
अस्पतालका निर्देशक डा। रवी शाक्यले तीन सय वटा बेड कोभिड बिरामीको लागि छुट्याएको बताउनुभयो । पाटन अस्पतालमा ८० जना कोभिडका बिरामी उपचाररत रहेको उहाँले बताउनुभयो ।
साथै उहाँले अहिले अस्पतालमा अरु समस्या भन्दा पनि अक्सिजनको अभाव भएको बताउनुभएको छ । उपचाररत रहेका बिरामीलाई अक्सिजन पुर्याउन गाह्रो भइरहेको समेत उहाँले बताउनुभयो ।
नयाँ कोभिडका बिरामी भर्ना लिइरहनुभएको छ भनेर सोध्दा उहाँले नयाँ बिरामी भर्ना गर्न नसकेको बताउनुभयो ।
‘भएका बिरामीलाई अक्सिजन पुर्याउन नसकेको अवस्थामा नयाँ भर्ना लिन गाह्रो भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यदि अक्सिजन सहज भयो भने अस्पतालमा कोभिडका नयाँ बिरामी भर्ना लिन्छौ ।’
भक्तपुरको भक्तपुर अस्पतालमा सोमबार बिहानसम्म ७६ जना कोभिड–१९ का बिरामी उपचाररत रहेका छन् ।
अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा। सुमित्रा गौतमले ६ वटा आइसीयू, ६ वटा भेन्टिलेटर रहेको बताउनुभयो । तर, ६ वटा भेन्टिलेटरमा पनि ३ वटाले मात्र काम गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले अहिले अस्पतालमा कोभिडका बिरामी मात्रै उपचार हुने गरेको र त्यसमा १०–१२ जना अन्य रोगका बिरामी समेत रहेको बताउनुभयो । साथै अस्पतालमा कोभिडका बिरामी भर्ना लिने कार्य नरोको उहाँले बताउनुभयो ।
‘बेड जहिलेसम्म खालि हुन्छ त्यति बेलासम्म बिरामी भर्ना गर्ने हो । इमजेन्सीमा मात्रै बेड खालि छ । इमजेन्सीमा बेड खालि भएसम्म बिरामी भर्ना गर्छौं,’ उहाँले भन्नुभयो, ‘तर, बेड भरिएपछि लिँदैनौं ।’
यसैगरी र्कीतिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा १६२ जना कोभिडका बिरामी उपचाररत रहनुभएको अस्पतालका डा। जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
हामीले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आइसीयू, भेन्टिलेटर र आइसोलेसन कति–कति वटा छन् भनेर सोध्दा उहाँले आइसीयू र भेन्टिलेटर एकटा पनि भएको बताउनुभयो । आयुर्वेद तालिम केन्द्रमा एचडीयू मात्र रहेको बताउनुभयो ।
एचडीयू पनि २५ वटा मात्र रहेको उहाँले बताउनुभयो । यद्यपी कोभिडका बिरामी भर्ना भने भइरहेको उहाँले जानकारी दिनुभयो ।
१६२ जनामा हल्का लक्षण देखिएका बिरामीमा १० जनामा लक्षण देखिएको छैन भने १३३ जनामा हल्का लक्षण र १९ जनामा मध्यम लक्षण देखिएको छ । जसमा मध्य लक्षण देखिएका १९ जनालाई अक्सिजन दिएर एचडीयूमा राखेर उपचार भइरहेको छ ।
बिरामीलाई अक्सिजन प्रयाप्त छ भनेर सोध्दा उहाँले अक्सिजनको अवस्था नाजुक गरेको बताउनुभयो ।
‘अक्सिजनको अभावले गर्दा बिरामी सोचे अनुसार भर्ना गर्न सकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘अक्सिजन आवश्यक नपर्ने बिरामीलाई अस्पतालमा भर्ना दिइरहेका छौ भने अक्सिजन चाहिँने बिरामीलाई भर्ना लिन रोकेका छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?