logo
२०८१ बैशाख ६ बिहीवार



सर्लाहीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

प्रदेश |


सर्लाहीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु


जनार्जन खत्री
सर्लाही, वैशाख २७ गते । सर्लाहीमा सोमबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल मलङ्गवाको कोभिड वार्डमा उपचाररत बरहथवा नगरपालिका–११, हीरापुर निवासी ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । ती पुरुष बिरामी परेर केही दिनअघि जिल्ला अस्पताल मलङ्गवामा उपचारका लागि पुग्नु भएको थियो ।
उपचारकै क्रममा पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना सङ्क्रमण पाइएको थियो । उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले चार दिन अघिनै भेन्टिलेटरको सुविधा रहेको अस्पतालमा रेफर गरेका थिए ।
तर परिवारका सदस्यले आर्थिक अभाव रहेको भन्दै सङ्क्रमित पुरुषलाई भेन्टिलेटरको सुविधा रहेको अस्पतालमा लान सकेका थिएनन् । जिल्ला अस्पताल मलङ्गवामा अक्सिजनको सुविधासहित पाँच बेडको कोभिड वार्ड तयार पारिएको छ ।
अस्पतालका कोभिड फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले सङ्क्रमित पुरुषलाई बेलैमा भेन्टिलेटर भएको अस्पतालमा लान नसक्दा सोमवार बिहान ४ बजेतिर मृत्यु भएको जानकारी दिनुभयो । मृतकको शव सदरमुकाम मलङ्गवादेखि हीरापुर गाउँ नजिकै बागमती खोलामा ल्याएर अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमणबाट सर्लाहीमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको मलङ्गवा, रामनगर, बसबरिया, लालबन्दी, बलरा र बरहथवामा गरी एक÷एक जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।
यस्तै सोमवार दिउँसोसम्म जिल्लाभर ३०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका प्रमुख श्रवणकुमार नायकले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?