logo
२०८१ बैशाख ७ शुक्रवार



बाँकेमा वैशाखमा दुई हजारभन्दा बढी सङ्क्रमित निको भएर घर फर्किए

प्रदेश |


बाँकेमा वैशाखमा दुई हजारभन्दा बढी सङ्क्रमित निको भएर घर फर्किए


सिराज खान
नेपालगञ्ज, वैशाख २२ गते । कोरोनाको दोस्रो लहर शुरु भएलगत्तै हटस्पट बनेको बाँकेमा वैशाख महिनाको हालसम्म मात्रै दुई हजार ३११ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार दोस्रो लहरमा सङ्क्रमण पुष्टि भएका अधिकांशमा विभिन्न प्रकारका खतरनाक लक्षणहरु भए पनि वैशाख १ गतेदेखि २१ गतेसम्म २ हजार ३११ जनाले भाइरस सङ्क्रमणलाई जितेर घर फर्किएका हुन् ।
अधिकांशमा विभिन्न लक्षण देखिए पनि १४ महिनाको दुधे बालकदेखि १११ वर्षकी बृद्धासमेत  दुई हजार ३११ जना निको भै घर फर्किएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँले सङ्क्रमित थपिने क्रम धेरै कम नभए पनि निको हुने क्रम भने उल्लेख्य भएकोले यसले सबैलाई उत्साहित बनाएको बताउनुभयो ।
१४ महिनाका बालकदेखि १११ वर्षका बृद्धासमेतले कोरोनालाई परास्त गर्न सफल भएकोले आत्मविश्वास र हिम्मतका साथ लड्ने हो भने यो भाइरसलाई जित्न सकिन्छ भन्ने पुष्टि गरेको फोकल पर्सन ओलीले बताउनुभयो ।
उता, चिकित्सकहरुले पनि समयमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यबारे बढी ध्यान दिने हो भने सहज रुपमा भाइरस सङ्क्रमणलाई पराजित गर्न सकिने जनाएका छन् ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या भए तत्काल पीसीआर परीक्षण गरेर रोग अनुसारको उपचार पाएकाहरुले सहज रुपमा भाइरसलाई पराजित गरेको बताउनुभयो ।
उहाँले सङ्क्रमित पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले पनि नियमित रुपमा अक्सोमिटरले अक्सिजन लेभल जाँच गर्ने, खानपिनमा केयर गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझावलाई फ्लो गर्नेहरुले भाइरसलाई जित्दै आएको बताउनुभयो ।
यसैविच वैशाख महिनाको २१ दिनमा मात्रै बाँके जिल्लामा सङ्क्रमितको सङ्ख्या ६ हजार १४३ पुगेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिले पनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६४६ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?