logo
२०८० चैत्र १६ शुक्रवार



च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

प्रदेश |


च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा



मनाङ, वैशाख ९ गते । च्याङ्ग्रा खान गएको हिउँचितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँचितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिनुभयो ।

बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै गरेको अवस्थामा भेटेका थिए । सोही समयमा गोठालोले च्याङ्ग्रा खोरको ढोका लगाइदिएपछि खोरभित्रै हिँउचितुवा थुनिएको हो । हिउँचितुवा थुनिएसँगै गाउँलेले जिल्ला प्रशासन कार्यालय मनाङ, अन्नपूर्ण संरक्षण क्षेत्र र नेपाल प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा हिँउचितुवाको उद्धारका लागि नार्पा भूमि च्याखुमा रहेको नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का कर्मचारी पुगेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो । हिउँचितुवा उद्धारका लागि घटनास्थलमा पुगेको भए पनि खराब मौसमका कारण कसरी उद्धार गर्ने जानकारी प्राप्त भइनसकेको उहाँले बताउनुभयो ।

पीडित पक्षले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँग राहत उपलब्ध गराउन माग गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले पीडत पक्षलाई राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिउँ चितुवालाई सम्बन्धित निकायमा लैजाने तयारी गरिएको र उद्धारका लागि आवश्यक सामग्री नहुँदा खोरभित्रै हिउँचितुवा थुनिएर बसेको जनाइएको छ ।

हिउँचितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो । यो दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रमा पाइन्छ । हिउँचितुवा समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइबीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छ । लुकेर रहने स्वभावका कारण यिनीहरूको यकिन सङ्ख्या भने थाहा हुनसकेको छैन । खुला जङ्गली क्षेत्रमा तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा तथा विश्वका चिडियाघरमा ६०० देखि ७०० को सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?