logo
२०८१ बैशाख ८ शनिवार



पञ्चेश्वरका दलितको पीडा ‘भोलि उठी कहाँ जाने ? केही थाहा छैन’

प्रदेश |
समाज |


पञ्चेश्वरका दलितको पीडा ‘भोलि उठी कहाँ जाने ? केही थाहा छैन’
घर नहुँदा छाप्रोमुनि बस्दै आइरहेका पञ्चेश्वरका दलित परिवार । तस्बिरः गोकर्ण दयाल


गोकर्ण दयाल
बैतडी, चैत १८ गते । छाप्रोको एउटा कुनामा बाख्राको खोर छ भने अर्को कुनामा खाना पकाउने भान्साघर र पाँच जना परिवारको सुत्ने ओछ्यान छ । यो कथा आवास नहुँदा पुस्तौंदेखि चिसो छाप्रोमा जीवन निर्वाह गर्दै आइरहनु भएका पञ्चेश्वर गाउँपालिका–४, का हीराराम सार्कीको हो ।

घर नहुँदा एउटै छाप्रोमुनि वस्तुभाउसँगै जीवन निर्वाह गरिरहनुभएका हिराराम सार्की जस्तै गोपालराम सार्की, देवीराम सार्की, दानीराम सार्की, टपुराम औजी र कुर्र्रा सार्कीको परिवार पनि पुस्तौंदेखि यसरी नै गाईवस्तुसँगै गोठमा जीवनयापन गर्दै आइरहनुभएको छ ।

पञ्चेश्वरका अधिकांश दलितसँग ओत लाग्ने घर खेतबारी छैन । ज्यालामजदुरी गर्न भारत पसेपछि मात्रै परिवारको चुलो बल्ने गरेको छ । जहान बच्चा र वस्तुभाउसँगै एउटै छाप्रोमुनि दिन काट्न बाध्य दलित परिवारका बालबच्चा अभिभावकले काम नपाएको दिन भोकै सुत्ने गरेको देवीराम सार्कीले पीडा सुनाउनुभयो ।

“जन्मेपछि एकदिन मर्नुपर्छ क्यारे ! हामी पनि मृत्युका दिन कुर्दै बसिरहेका छौं । पुस्तौदेखि छाप्रो मुनिको बास छ,” हीराराम सार्कीले भन्नुभयो, “ भोलि उठी कहाँ जाने ? के खाने ? केही थाहा छै्रन । ”

पुस्तौंदेखि छाम्रोमुनि बस्दै आईरहेका दलित परिवारका लागि खानेपानीको धारा नहुँदा छेउमै बनाएको शौचालयमा पानी हाल्न नपाएको कुर्र्रा सार्कीले पीडा सुनाउनुभयो ।

सार्कीले भन्नुभयो,“ खुला दिसामुक्त जिल्ला घोषणा हुँदा अनिवार्य शौचालय बनाउने भनेपछि सबै दलित परिवारले शौचालय बनायौं तर, खानेपानीको धारा मिलेन । घण्टौं हिँडेर बोकेर ल्याएको पानीले सरसफाइ गर्न पुग्दैन ।”

बस्ने घर नहुँदा शौचालय र सरसफइका बारेमा खासै चिन्ता नभएको दलितपरिवारको भनाइ छ । “ हाम्रो अवस्था राम्रारी हेरिदिनुहोस् । नबस्ने घर छ न त खाने अन्न नै” दानीराम सार्कीले भन्नुभयो, “ माटोमा बसेका छौं हामी । कुन दिन यही माटोमा मिल्छौं थाहा छैन ।”

नेपाल सरकारले घर नहुँने विपन्न परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा बैतडीका लागि तीन करोड रुपियाँ पठाए पनि छाप्रोमुनि बस्दै आइरहेका पञ्चेश्वरका दलित परिवारले सूचना नपाएको बताएका छन् ।

“हामीले सूचना नै पाएनौं । गाउँपालिकाले पनि केही खबर गरेन” छाप्रोमुनि बस्दै आईरहनु भएका गोपालराम सार्कीले भन्नुभयो, “भारतीय सीमासँग जोडिएको दुर्गम गाउँमा नेपाली टेलिफोन पनि लाग्दैन । घर नभएको पीडा लगेर दुई÷चार पटक हिँडेर गाउँपालिका गइयो । कसैले चासो देखाएनन् । बैतडी सदरमुकाम जान गाडीभाडा छैन । हाम्रो पीडा कसले सुन्छ र ?”

नेपाल सरकारले यो वर्ष बैतडीका १० स्थानीय तहका आवासविहीन परिवारका लागि घर निर्माण गर्न शहरी विकास तथा भवन कार्यालय बैतडीमा तीन करोड रुपियाँ आएको लेखा अधिकृत प्रेम अवस्थीले बताउनुभयो ।

लेखा अधिकृत अवस्थीले भन्नुभयो, “ नौ वटा स्थानीय तहबाट जनाको आवासका लागि निवेदन परेको छ । पञ्चेश्वरबाट कसैको पनि आवेदन आएको छ्रैन ।”

जनता अवास कार्यक्रमका लागि बैतडी प्रदेश निर्वाच क्षेत्र ‘क’ बाट २२२ जना र ‘ख’ बाट ७५६ जनाले आवेदन दिएको भवन कार्यालयले जानकारी दिएको छ ।

कार्यालयको अभिलेख अनुसार अवेनद दिनेमा प्रदेश निर्वाच क्षेत्र ‘क’ का सिगास गाउँपालिकाबाट १९ जना, सुर्नया गाउँपालिकाबाट २६ जना, पुरचौडी नगरपालिकाबाट २७ जना, पाटन नगरपालिकाबाट ४४ जना, र डिसालैनी गाउँपालिकाबाट १०६ छन् ।
त्यसैगरी, प्रदेश निर्वाच क्षेत्र ‘ख’ का दशरथचन्द नगरपालिकाबाट ६९ जना, मेलौली नगरपालिकाबाट ५७२ जना, दोगडाकेदार गाउँपालिकाबाट ९८ जना, शिवनाथ गाउँपालिकाबाट १७ जना छन् ।

पञ्चेश्वर गाउँपालिकाबाट कसैको पनि आवेदन नआएको शहरी विकास तथा भवन कार्यालय बैतडीले जानकारी दिएको छ ।

यो विषयमा पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष वीना भट्टले शहरी विकास तथा भवन कार्यालयले जनता आवासको विषयमा कुर्नै जानकारी नदिएको बताउनुभयो ।

उपाध्यक्ष भट्टले भन्नुभयो,“ गाउँपालिकामा तत्काल २० परिवारलाई जनता अवास आवश्यक छ । तर, गाउँपालिकाले नै सूचना पाएको छैन । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?