logo
२०८१ बैशाख ७ शुक्रवार



मलाई अन्याय भएमा जनताको अदालत जान्छु ः प्रधानमन्त्री ओली

मुख्य समाचार |


मलाई अन्याय भएमा जनताको अदालत जान्छु ः प्रधानमन्त्री ओली


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अन्याय भएमा सर्वोच्च अदालत नगई जनताको अदालत जाने बताउनुभएको छ । नेपाली जनताको न्याय नै सही न्याय भएको उहाँले चर्चा गर्नुभयो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार झापाकाे बिर्तामोडमा उदघाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । अरु मानिस मुद्दा हाल्न अदालत धाइरहेका छन्, तर म मुद्दा हाल्न अदालत जान्न, जनतामाझ जान्छु प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो । “अरुले छिमेकी मुलुकका लागि कम्फरटेबल सरकार बनाउने कुरा गर्छन्, हामी नेपाली जनताका लागि कम्फर्टेबल सरकार बनाउँछौं” उहाँले भन्नुभयो ।

निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढिरहेको चर्चा गर्नुहुँदै दुर्गा प्रसाईको कदमको उहाँले प्रशंसा गर्नुभयो । प्रसाईले आफ्नै निजी लगानीमा तीन सय सैयाको अस्पताल निर्माण गर्नुभएपछि प्रधानमन्त्री ओलीले आज उदघाटन गर्नुभएको हो ।
नव उदघाटित क्यान्सर अस्पताललाई शिक्षण अस्पतालको रुपमा व्यवस्थित गरिने प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । अव यस क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानु नपर्ने सुविधा प्राप्त हुने उहाँले विश्वास दिलाउनुभयो । नेपालमा अब क्यान्सरको उपचार सबैभन्दा सस्तोरुपमा गरिने उहाँले बताउनुभयो । विदेशी विरामीहरु अब नेपालमा उपचारका लागि आउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो ।
सबै जिल्लामा प्राविधिक शिक्षालय, अस्पतालको व्यवस्था गरेर नेपाललाई निरोगीहरुको देश बनाइने उहाँले चर्चा गर्नुभयो । त्यसकालागि पर्याप्त अस्पताल, चिकित्सक, नर्स र जनशक्तिको व्यवस्थापन गरिने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । यसअघि ३०९ अस्पतालको एकै दिन शिलान्यास गरिएको उहाँले स्मरण गर्नुभयो ।
अवको सबै संरचनाहरु भूकम्प प्रतिरोधी बनिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल समृद्धिको बाटोमा लम्किसकेको बताउनुभयो । एकीकृत वस्ती बनाएर दुई लाख नेपालीलाई वितरण भइसकेको र आगामी दिनमा पनि त्यो अभियान जारी रहने उहाँले प्रतिवद्धता जनाउनुभयो । भत्किएका घरको पुनःनिर्माण गरेर सात लाख घर वितरण गरिएको उहाँले बताउनुभयो ।
सरकारको उद्देश्य नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकाले गलत बाटोमा नहिँड्ने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । देशमा उद्योग कलकारखानाको स्थापना गरी युवाका लागि स्वदेशमै रोजगारीको व्यवस्था सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?