logo
२०७८ बैशाख ६ सोमवार



प्रभावकारी सिकाइका लागि समावेशी कक्षा

विचार/दृष्टिकोण |


प्रभावकारी सिकाइका लागि समावेशी कक्षा


डा.हरिप्रसाद पोखरेल

समावेशी शिक्षा मूलतः ‘सबै सिकारूले सिक्न सक्छन् तर उही समय र उही तरिकाले होइन’ भन्ने वैयक्तिक भिन्नताको सिद्धान्तमा आधारित छ । समावेशी शिक्षाको अवधारणा स्पेनमा भएकोे १९९४ को विशेष आवश्यकता शिक्षाको सम्मेलनले अङ्गीकार गरेको हो । समावेशीकरणको दर्शन तीन वटा मूल सिद्धान्तबाट निर्देशित छः १) समतामूलक पहुँच, २) पूर्ण सहभागिता, ३) विविधताको स्वीकृति र सम्मान । जेनी कोरवेटका अनुसार “समावेशीकरण वैयक्तिक आवश्यकतालाई मान्यता दिने र भिन्नतालाई स्वीकार्ने त्यो दृष्टि हो जसले सिकाइ र सहभागिताका अवरोधहरूको पहिचान गरी तिनको न्यूनीकरण गर्छ र सिकाइ र सहभागितालाई प्रवद्र्धन गर्न स्रोतहरूको उच्चतम प्रयोग गर्छ ।” युनेस्कोले विद्यालय र कक्षामा रहेका विविध आवश्यकता भएका सिकारूलाई लक्षित गरिएको जवाफदेही शिक्षा नै समाहित शिक्षा हो भनेको छ । यसरी हेर्दा समावेशी शिक्षाका लागि कक्षाकोठा नै समावेशी प्रकृतिको हुन जरुरी देखिन्छ । शिक्षा (पद्धति) मा भित्र वा बाहिरबाट जुनसुकै कारणले सिकारू बहिस्कृत÷बहिर्गमन हुने गरेको भए तापनि सो बहिस्करण÷बहिर्गमन घटाउने प्रक्रियाको रूपमा समावेशी कक्षालाई लिन सकिने कुरामा पनि युनेस्कोको जोड रहेको छ  ।
विद्यालयमा विभिन्न समुदायबाट विभिन्न जात, जाति, धर्म, संस्कृति एवम् मूल्य मान्यता भएका विद्यार्थी आएका हुन्छन् । उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक परिवेश पनि फरकफरक हुन्छ । विद्यार्थीहरू कोही तीक्ष्ण, कोही मन्द र कोही मध्यमस्तरका हुने गर्छन् । उनीहरूको शारीरिक, मानसिक एवम् संवेगात्मक अवस्थामा पनि विविधता हुन्छ । यसरी विविध स्तर, क्षमता एवम् अवस्थाका बाल–बालिकाहरूलाई उनीहरूको अस्तित्वको सम्मान गर्दै कक्षामा समावेश गरी पठनपाठन कार्यलाई अगाडि बढाउने प्रक्रिया नै सिकारूको समावेशीपन हो र यसका लागि सबै सिकारूका लागि अनुकूल बनाइएको कक्षाकोठा नै समावेशी कक्षाकोठा हो । यस प्रक्रियाबाट सिकारूको आत्मसम्मानको विकास हुन्छ र ‘सबै व्यक्तिहरू समान हुन्’ भन्ने भावनाको विकास हुन्छ । कक्षाकोठालाई समावेशी बनाउन निम्न उपायहरू अवलम्बन गर्न सकिन्छः
सकारात्मक कक्षाकोठा वातावरण विकास ः सकारात्मक कक्षाकोठाको विकास भनेको सबैखाले बालबालिकालाई सुरक्षित वातावरणमा सिक्न पाइन्छ भन्ने आत्मविश्वासको विकास गराउनु हो । यसका लागि शिक्षकले बालबालिकाहरूमा हौसल्ला र उत्प्रेरणा दिनुपर्छ । सिकारूसँग अत्यन्त सौहार्द र पारिवारिक सम्बन्ध विकास गर्दै उनीहरूको भावना अनुरूप विभिन्न खालका शैक्षिक गतिविधि सञ्चालन गर्ने र आवश्यकताअनुसार उनीहरूलाई नै सिकाइ क्रियाकलापमा संलग्न गराई उपयुक्त पृष्ठपोषण प्रदान गर्ने रणनीति अवलम्बन गर्न सके सकारात्मक कक्षाकोठा वातावरण निर्माण हुन्छ ।
सिकारूको विविधताको सम्बोधनः स्वभावले नै सिकारूमा वैयक्तिक विविधता हुन्छ । सिकाइको स्तर एवम् रुचिको क्षेत्र पनि प्रत्येक सिकारूमा फरक फरक हुने भएकोले सबैखाले सिकारूको क्षमता र कौशल पहिचान गरी उनीहरूलाई आवश्यक पर्ने थप सहायता प्रदान गर्दै सहकार्य र सहयोगको भावना विकास गराउन सामूहिक जवाफदेहीताप्रति सिकारूलाई आकृष्ट गर्न शिक्षक क्रियाशील हुनुपर्छ । फरक फरक विद्यार्थीमा भएका फरक फरक क्षमताको पहिचान गर्दै एकबाट अर्काे सिक्ने र सहयोग आदान प्रदान गर्ने वातावरण निर्माण गर्न पनि उनीहरूको विविधतालाई उच्च प्राथमिकता दिनुपर्छ ।
आफ्नो सांस्कृतिक प्रतिस्पर्धामा वृद्धि ः कक्षाकोठाको स्वरूप आफैँमा समावेशी प्रकृतिको हुन्छ । सिकारू जुन सामाजिक एवम् सांस्कृतिक परिवेशबाट आएका हुन्छन् उनीहरूको मौलिक संस्कृतिको जगेर्ना र विकास गर्न उनीहरूवबीच स्वस्थ प्रतिस्पर्धा गराउने र सकारात्मक सांस्कृतिक परम्पराको अनुसरण गर्न प्रोत्साहित गर्न सके उनीहरूको स्वाभिमान कायम गर्न सकिन्छ । आफ्नो संस्कार, संस्कृति र परम्पराको अन्तरघुलन भएपछि पनि उनीहरू समावेशीकरण हुन सक्छन् । विद्यार्थी अन्तक्र्रियालाई प्रोत्साहनः कक्षाकोठालाई समावेशी बनाउन सिकारूबीच सार्थक अन्तक्र्रिया गर्ने वातावरण निर्माण गर्नुपर्ने हुन्छ । यो भनेको सबैलाई समान महìव दिई उनीहरूको रुचिको क्षेत्र पहिचान गरी आपसमा छलफल गर्ने, प्रश्नोत्तर गर्ने, सिक्ने र सिकाउने क्रियाकलापमा जोड दिनुपर्छ भनेको हो । यसो गर्न सकियो भने सिकारूबीच असल सम्बन्ध विकास हुन्छ र सहयोगी भावनाको पनि विकास हुन्छ । कसैले पनि एक्लोपन र हेपिएको महसुस गर्दैनन् र शिक्षण सिकाइ क्रियाकलाप पनि प्रभावकारी बन्छ ।
कक्षा शिक्षणलाई समुदायसँग आबद्ध गराउने ः कक्षाकोठामा सिकेको ज्ञान तथा सीपलाई विभिन्न सामुदायिक कार्यसँग आबद्ध गराउने रणनीति तयार गरी कार्यान्वयन गर्न सक्ने हो भने सिकारू कक्षाकोठामा मात्र होइन, आफ्नो समुदायमा पनि घुलमिल हुन सक्छन् । यसो हुँदा आफ्नो भूमिकाले स्थान पाएको महसुस गर्दै सिकारूले समुदायबाट समेत धेरै कुरा सिक्ने अवसर प्राप्त गर्न सक्छन् । अपाङ्गता भएका बालबालिकाहरूलाई पनि सम्भव भएसम्म सामुदायिक गतिविधिमा संलग्न गर्न सक्दा उनीहरूमा समेत सकारात्मक धारणाको विकास हुन्छ । आआफ्नो क्षमता प्रस्फुटन गर्ने अवसरसमेत सिकारूलाई प्राप्त हुने हुँदा उनीहरूको आत्मसम्मान र आत्मविश्वास पनि बढ्छ ।
प्रभावकारी सिकाइका लागि आवश्यक सम्पूर्ण पक्ष जस्तैः सामाजिक, भौतिक एवम् शैक्षिक वातावरणहरूको समन्वयात्मक व्यवस्था भएको कक्षाकोठालाई सामान्य अर्थमा समावेशी कक्षाकोठा भन्ने गरिन्छ । सिकारूको विविधता सम्बोधन गर्दै उनीहरूलाई आफ्नै गति र तरिकामा सिक्न सक्ने वातावरण सिर्जना गर्नु नै खास अर्थमा कक्षाकोठालाई समावेशी बनाउनु हो । यस्तो कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापलाई सहज रूपमा सञ्चालन गर्न चाहिने स्रोत एवम् सामग्रीहरू योजनाबद्ध ढङ्गले समावेश गरिएको हुन्छ । अपाङ्गता भएका, कमजोर क्षमता भएका, आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका या पारिएका बालबालिकाहरूको स्वाभिमान र आत्मविश्वास विकास गर्दै सिकाइका लागि न्यायोचित र सकारात्मक विभेदसमेतलाई आवश्यकताको आधारमा उपयोग गर्न सके कक्षाकोठा समावेशी बन्न सक्छ । कक्षाकोठामा विभिन्न सामाजिक सांस्कृतिक परिवेशका बाल–बालिकाहरूका आर्थिक, पारिवारिक भिन्नताहरू पनि हुन्छन्, जसले कक्षा शिक्षणलाई चुनौतीपूर्ण बनाएको हुन्छ । विभिन्न क्षमता भएका र विविध परिवेशका सिकारूलाई एउटै थलोमा राखेर सिकाउनु पक्कै पनि सजिलो कार्य होइन । यसर्थ सिकारूको व्यक्तिगत भिन्नतालाई आत्मासात् गर्दै उनीहरूको रुचि, चाहना एवम् आवश्यकताको उचित सम्बोधन हुने गरी शिक्षकले शिक्षण सिकाइ कार्यलाई अगाडि बढाउनुपर्छ । अवसरहरूको समान वितरण–समूह विभाजन, जिम्मेवारीको बाँडफाँट आदि प्रक्रिया अपनाएर समावेशी कक्षाकोठा निर्माण गर्न सकिन्छ ।
कक्षाकोठालाई समावेशी बनाउन सके सम्पूर्ण सिकारूको आत्मसम्मान र आत्मविश्वास विकास गर्न सकिन्छ । यसो हुँदा सबैमा सकारात्मक भावनासमेत विकास हुन्छ र सही अर्थमा कक्षाकोठा समावेशी बन्न सक्छ । समावेशी कक्षामा विभेद र वञ्चितीकरण नहुने भएकोले पनि सबै सिकारूले आफ्नै गति र लयमा सिक्न सक्छन् र स्वभावले नै यस्तो अवस्थाले प्रभावकारी सिकाइलाई सहयोग गर्छ ।
(लेखक रूपान्तरणका लागि नागरिक अभियानमा संलग्न हुनुहुन्छ ।)