logo
२०७८ बैशाख ६ सोमवार



बेलायतमा नेपाली पहिचानको प्रयत्न

विचार/दृष्टिकोण |


बेलायतमा नेपाली पहिचानको प्रयत्न


नरेश खपाङ्गीमगर
संयुतअधिराज्य (बेलायत)का चार राज्यमध्ये इङ्ग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा यही मार्च २१ मा हुने राष्ट्रिय जनगणनाका कारण बेलायतमा बसोवासरत नेपाली फेरि एकपटक पहिचानका लागि जुर्मुराएका छन् ।

नेपालीको आगमन बेलायतमा पहिलोपटक नेपाली कहिले आए र उनी को थिए भन्नेबारे प्रस्ट उत्तर छैन । हालसम्मको अध्ययनअनुसार सन् १८५० को तत्कालीन नेपाली प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत भ्रमणका क्रममा लन्डनको सेन्ट पल गिर्जाघरमा सडक बढार्दै भेटिएका भादगाउँका मोतीलाल सिंहलाई नै बेलायत आउने पहिलो नेपाली मानिएको छ । नेपाल–अङ्ग्रेजबीच सन् १८१४ मा भएको युद्धमा भाग लिएका मोतीलाल कहिले बेलायत आए भन्नेबारेमा प्रस्ट खुलेको छैन । तर, सोही वर्षको जुलाईमा न्यु मन्थ्ली म्यागेजिन एन्ड ह्युमरिस्टमा अङ्ग्रेजीमा उनको लेख छापिएकाले उनी केही वर्षपहिले नै बेलायत आएको आँकलन गर्न सकिन्छ । उनीपछि बसोवासकै लागि बेलायत आउने नेपालीबारेमा धेरै विवरण भेटिको छैन ।
सन् १९७५ मा बेलायत आउनुभएका डा. राघवप्रसाद धितालको अनुभवमा त्यतिबेलासम्ममा करिब पाँच हजार नेपाली बेलायतमा थिए । त्यसबेला अध्ययनका लागि सीमित सङ्ख्यामा नेपाली बेलायत आउँथे । बेलायती सेनामा कार्यरत गोरखा सैनिकहरू बेलायत आउने–फर्कने गरिरहन्थे । धितालका अनुसार नेपालीहरू स्थायी रूपमा बेलायत बस्न थालेको भने सन् १९७० को दशकबाट हो । कारण ७० दशकमा बेलायतमा रहेका रेष्टुरेन्टहरूले नेपालबाट वर्क परमिटमा जनशक्ति ल्याउन थाले । नेपालमा विक्रम संवत् २०४६ मा प्रजातन्त्रको पुनर्बहालीपछि नेपालमा सर्वसाधारणले पनि सहजै राहदानी पाउन थाले र विदेश जान सजिलो हुन थाल्यो । सन् २००४ मा सन् १९९७ पछि सेवाबाट अवकाश पाएका गोरखा सैनिक र उनका परिवारहरूले बेलायतमा बसोवासको अधिकार पाए । त्यस्तै, सन् २००९ मा बेलायती सेनामा कम्तीमा चार वर्ष सेवा गरेका गोरखा सैनिक र उनका परिवारले पनि बेलायतको आवासीय अधिकार जिते । सन् २००९ ताका बेलायत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीप्रति उदार नीति लिएपछि बेलायतका सम्भ्रान्त वर्गका मात्र होइन, निम्न र मध्यम वर्गका परिवारका सदस्यले पनि अध्ययन गर्न बेलायत आउने अवसर पाए ।
बेलायती अध्यागमन नीतिमा आएको यी महŒवपूर्ण परिवर्तनले बेलायतमा नेपालीको सङ्ख्या निकै बढ्योे । सेन्टर फर नेपाल स्टडिज (सीएनएस) युकेका अध्येता डा. कृष्ण अधिकारीका अनुसार सन् २००१ को बेलायतको जनगणनामा जन्म देश नेपाल उल्लेख गर्ने पाँच हजार ९४३ जना थिए । यस्तै, त्यसको अर्को वर्ष विसं २०५८ मा नेपालमा भएको जनगणनामा सात हजार २२१ जना बेलायतमा बसोवास गरिरहेको उल्लेख भएको थियो । तर, बेलायतमा बसोवासरत नेपालीको सङ्ख्या त्यसको केही वर्षपछि दस गुणाभन्दा ज्यादा बढेको थियो । सीएनसएस युके र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेले सन् २००८ मा संयुक्त रूपमा गरेको नेपालीको वृहत् सर्वेले नेपालीको सङ्ख्या ७२ हजार १७३ जना नेपाली रहेको निष्कर्ष निकालेको थियो । त्यसको तीन वर्षपछि सन् २०११ मा भएको बेलायतको राष्ट्रिय जनगणनामा इङ्ग्ल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा एक हजार २६८ जना नेपालीको सङ्ख्या देखाएको थियो । तथाफि बेलायतवासी नेपालीको अनुमानमा नेपालीको सङ्ख्या त्योभन्दा करिब दोब्बर छ । हालै नेपाल फर्किनुभएका बेलायतका लागि पूर्वनेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आफ्नो एक पुस्तकमा बेलायतमा नेपालीको सङ्ख्या सन् २०१७ मा एक लाख ५० हजार पुगेको उल्लेख गर्नुभएको छ ।

पहिचानको प्रयत्न
बेलायतमा सन् १८०१ देखि जनगणना हुन थालेको हो । तर, जनगणनामा जातिगत तथ्याङ्क लिन सन् १९९१ देखि सुरु भएको हो । त्यस जनगणनामा एसिया महादेशका भारतीय, पाकिस्तानी, बङ्गलादेशी र चिनियाँ गरी चारवटा जातिलाई मात्र जनगणना फाराममा अलग्गै चिनो लगाउने व्यवस्था गरिएको थियो । बाँकी जातिले अन्यमा चिनो (टिक) लगाई खाली बाकसमा आफ्नो जातीय पहिचान लेख्नुपथ्र्यो । सन् २००१ को जनगणना फाराममा पनि पुरानै चारवटा जातिलाई मात्र टिक लगाउने सुविधा दिइयो । तर, चिनियाँलाई एसियन वा एसिएन ब्रिटिस महलबाट निकालेर अलग्गै चिनियाँ र अरू जाति भन्ने महल खडा गरिएको थियो ।
बेलायतको अफिस फर न्यासनल स्ट्याटिटिक्स (ओएनएस)ले बेलायतका सरकारी र गैरसरकारी अन्य संस्थासितको सहकार्यमा जातीय महल थप्ने, हटाउने गर्छ । सोहीअनुसार बेलायतका सरकारी, गैरसरकारी, निजी निकायले अन्य विभिन्न कार्यमा फाराम भर्दा जातीय पहिचान खुलाउने अलग स्थानको प्रबन्ध गरेका हुन्छन् । यसबाट राज्यलाई सो जातीय समुदायको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विभिन्न विधामा तथ्याङ्क उपलब्ध हुन्छ र त्यसअनुसारको नीति, योजना बनाउन, बजेट र पूर्वाधार तर्जुमा गर्न सहयोग पुग्छ । अहिले इङ्ग्ल्यान्ड र वेल्समा १८, स्कटल्यान्डमा १९ र उत्तरी आयरल्यान्डमा ११ वटा जातिका लागि अलग्गै जातीय महलको व्यवस्था गरिएको छ ।
सन् २००० को दशकबाट नै बेलायतमा रहेका नेपालीले जनगणनालगायत राज्यले सङ्कलन गर्ने तथ्याङ्कमा ‘नेपाली’ पहिचान खडा गर्नका लागि पहल सुरु गरेका हुन् । यसका लागि एनआरएनए युके र सीएनएस युकेले संयुक्त रूपमा सन् २००८ मा वृहत् नेपाली सर्वे गरेका थिए । यसबाट बेलायतमा नेपालीको सङ्ख्याबारेमा पहिलोपटक एउटा तस्बिर मिलेको थियो । ओएनएसले सन् २०११ मा जिप्सी÷आइरिस ट्राभलर र अरब गरी दुईवटा जातीय महल थपेको थियो । सन् २०२१ को जनगणनामा नेपालीसमेत गरी ५५ वटा जातीय समूहले अलग्गै महल खडा गर्न माग गरेको थियो । तिनीहरूमध्ये जुइस, रोमा, शिख र सोमालीलाई नयाँ महल खडा गर्नका लागि सिफारिस गरिएकोमा अन्तिममा ‘रोमा’लाई मात्र थप गरिएको थियो ।
अबको बाटो
पहिलो, अलग पहिचानका लागि बेलायतका नेपाली समुदायले गरेको पहलले राष्ट्रिय तहमा साकार रूप नपाए पनि स्थानीयस्तरमा भने निकै मान्यता पाइसकेको छ । नेपालीको बाक्लो बसोवास रहेको स्थानीय काउन्सिलहरूले स्वास्थ्यलगायतका अत्यावश्यक सूचना नेपाली भाषामा प्रकाशन गर्न सुरु गरिसकेका छन् । यसका साथै नेपाली समुदायलाई विभिन्न रोजगारीका अवसर पनि उपलब्ध गराउन थालेका छन् । उदाहरणका लागि अहिले हुँदै गरेको जनगणनामा पनि नेपाली समुदायको सल्लाहकारका रूपमा दुईजना नेपालीलाई नियुक्त गरिएको छ । गत जनगणनामा नेपाली समुदाय भर्खरै बेलायतमा व्यवस्थित हुँदै थियो । धेरैको प्राथमिकता जनगणनाभन्दा पनि रोजीरोटीबारेमा थियो । जनगणनाबारेमा समुदायलाई राम्रोसँग जागरुक र सचेत बनाउन पनि सकिएको थिएन । नेपाली समुदायमा जनगणनाबारेमा थुप्रै भ्रम र अस्पष्टता व्याप्त थिए । त्यसलाई चिर्न सकिएको थिएन । यस्तो पृष्ठभूमिका बाबजुद प्राप्त नेपालीको तथ्याङ्कका आधारमा पनि नेपालीले सीमित सुविधा पाइरहेका छन् । त्यसैले अहिले हुन गइरहेको जनगणनामा नेपालीले बढीभन्दा बढी सहभागिता जनाउन सक्ने देखिन्छ ।
दोस्रो, नेपाली जातीय पहिचानको अलग महलको पहललाई बेलायतका नेपालीले दीर्घकालीन लक्ष्यका रूपमा लिनुपर्छ । हरेक १० वर्षमा आउने जनगणनाका बेलामा तम्सिने र अरूबेला हराउने नगरी निरन्तरको दबाब र प्रयास जरुरी छ । जस्तो कि सन् २०२१ को जनगणनामा सोधिने प्रश्न, राखिने जातीय पहिचानलगायतका महलबारेमा सन् २०१३ देखि नै परामर्श सुरु गरिएको थियो । त्यसैले नेपाली समुदायले जनगणनाका बेला मात्र नभई, अरू बेला पनि निरन्तरको अभियानका रूपमा यसलाई अगाडि बढाउनुपर्छ ।
तेस्रो, बेलायतका नेपाली समुदायका विविध पक्षमा अध्ययन अनुसन्धानमा जोड दिनुपर्छ । जसबाट नेपाली समुदायको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महŒवपूर्ण तथ्याङ्कका साथ जातीय पहिचानका लागि बलियो दाबी प्रस्तुत गर्न सकियोस् । किनकि जनगणनामा नेपालीको धेरै सङ्ख्या देखिनु एउटा महŒवपूर्ण आधार बन्न सक्छ तर त्यहीमात्र निर्विकल्प आधार भने बन्न सक्दैन । सन् २०२१ को जनगणनामा जातीय पहिचानको अलग महल बनाउनका लागि पाँचवटा आधार तय गरिएको थियो । जसमा समानता र नीति तर्जुमा गर्न त्यस्तो समुदायबारेमा अलग्गै सूचना चाहिएको छ छैन भन्ने आधार बलियो हुनुपर्ने, जनगणनामा तथ्याङ्क सङ्कलन गर्ने अन्य विधिबाट सो समुदायबारेमा तथ्याङ्क आउन नसक्ने अवस्था पुष्टि हुनपर्ने, अलग महल नभएमा सम्बन्धित समुदाय दिग्भ्रमित भई यकिन तथ्याङ्क आउने अवस्था देखिनुपर्ने, त्यस्तो महल थप गरिएमा सम्बन्धित समुदायले स्वीकार गर्ने, प्रस्ट र स्तरयुक्त अवस्था भएमा र सन् २०११ को तथ्याङ्कसितको तुलना थिए ।
बेलायती जनगणनामा तथ्याङ्क सङ्कलनका लागि हाल राखिएका धर्म, भाषा, जन्मदेश, नागरिकतालगायतका कुनै पनि महलले नेपालीबारेमा यकिन तथ्याङ्क दिन सक्दैन । किनभने नेपाली एउटै धर्ममा मात्र आबद्ध छैनन् । बेलायतमै धेरै नेपाली नयाँ पुस्ताको जन्म भइसकेको छ र उनीहरूले आफ्नो भाषाको महलमा नेपाली लेख्ने सम्भावना कम छ । सन् २०२० को सेप्टेम्बरसम्ममा ३७ हजार ३९४ ले बेलायतको नागरिकता लिइसकेकाले नागरिकताको महलले मात्र पनि नेपालीको यकिन तथ्याङ्क दिँदैन । त्यसैले मिहीन गरी केलाएर निरन्तर अध्ययन र अभियान गरेको खण्डमा बेलायतमा नेपालीको जातीय पहिचानको अलग महल असम्भव छैन ।
(लेखक नेपाल अध्ययन केन्द्र बेलायतका रिसर्च एसोसिएट हुनुहुन्छ ।)