logo
२०८० चैत्र १५ बिहीवार



आन्दोलनभित्र एकता नभई फुट देख्ने प्रवृत्तिका कारण पार्टी समस्यामा–मुख्यमन्त्री पोखरेल

राष्ट्रिय |
प्रदेश |


आन्दोलनभित्र एकता नभई फुट देख्ने प्रवृत्तिका कारण पार्टी समस्यामा–मुख्यमन्त्री पोखरेल
तस्विरः टीकाबहादुर बस्नेत


टीकाबहादुर बस्नेत
दाङ, फागुन १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आन्दोलनभित्र एकता नभई फुट रोज्ने प्रवृत्तीका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समस्यामा परेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘आज कम्युनिष्ट आन्दोलनमा समस्या उत्पन्न भएको छ ।

आन्दोलनभित्र एकता नभई फुट रोज्ने प्रवत्तिका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समस्यामा परेको छ । अब फुट नभई एकता रोज्दै अगाडि बढ्नुपर्दछ ।’ फरक–फरक विचारका दुई कम्युनिष्ट पार्टीका बीचमा एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेकै दिनदेखि पार्टीभित्रका केही नेताहरुले फुटको सपना देखेको कारण आज बलियो पार्टी कमजोर बन्ने दिशामा अगाडि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले आन्दोलनभित्र सधैँ बलियो सम्भावना नदेख्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

आन्दोलनमा सधैँ बलियो सम्भावना देख्नुपर्दछ । आन्दोलनको हीतमा नसोच्दा आज जुन समस्या उत्पन्न भएका छन्, यसबाट पाट सिक्दै अगाडि बढ्नुपर्दछ’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनको सफलता नचाहने शक्तिहरु पार्टीभित्र घुसेर समस्या उत्पन्न भएका हुन । अब सचेत हुनुपर्दछ । खराब तत्वलाई समयमै चिन्न सक्नुपर्दछ ।’

नेताहरुको व्यवस्थापन गर्न नसक्नु नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो कमजोरी रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी नेताहरुको व्यवस्थापन गर्न छाडी जनताको व्यवस्थापन गर्न लाग्दा घेराबन्दीमा पर्नुभयो ।

मुलुकको हीतका लागि काम गर्दा प्रधानमन्त्री मात्र होइन सिंगो पार्टी नै समस्यामा परेको घामजत्तिकै छर्लङ्ग छ ।’ समयक्रममा फुट एकतामा बदलिने दावी गर्दै पार्टीका प्रदेश ईञ्चार्जसमेत रहनुभएका पोखरेलले कम्युनिष्ट आन्दोलनको हीतमा सोच्न नेतृत्वलाई आग्रह गर्नुभयो ।

पार्टीको विवाद संसदभित्र प्रवेश गरेको भन्दै मुख्यमन्त्री पोखरेलले उक्त लडाईमा कार्यकर्ताको शिर निहुरिन नदिने बताउनुभयो । ‘विवाद संसदमा प्रवेश गरिसकेको छ । संसदभित्रको लडाईमा जस्तोसुकै परिस्थितिको सामना गर्न हामी तयार छौं । कार्यकर्ताको शिर निहुरिन दिदैनौं’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘अहिलेसम्म संसदभित्रको खेलमा नफसौं भनेका थियौं, खेल सुरु भएपछि पछि हटिदैन । खेल खेल्न हामीले पनि जानेका छौं कमरेड ।’

शक्ति पृथकीकरणमा विश्वास गर्दै सर्वोच्चको फैसलालाई स्वागत गरेको भन्दै मुख्यमन्त्री पोखरेलले आफूहरुको राजनीतिक कार्यदिशा स्पष्ट भएकाले सोही कार्यदिशाका साथमा जनता कहाँ जाने बताउनुभयो । पुस ५ को फैसलाले कम्युनिष्ट आन्दोलन बचाएको दावी गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘पुस ५ को फैसलाले कम्युनिष्ट आन्दोलनको रक्षा भएको छ । जनतालाई पार्टीभित्रका समस्या बुझाउन पाएका छौं ।

आन्दोलनभित्रका खराब तत्वहरुलाई जनताले सजिलै चिन्ने अवसर पाएका छन् । अब बलियो कम्युनिष्ट पार्टी निर्माण हुन्छ ।’ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष लिला गिरी, केन्द्रीय सदस्य सुजिता शाक्य, छविलाल ओलीलगायतले बोल्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?