logo
२०८० चैत्र १५ बिहीवार



दुर्घटना न्यूनिकरणको लागि दमौलीमा ‘‘कार्यालय समय’’ लागू

खुला |


दुर्घटना न्यूनिकरणको लागि दमौलीमा ‘‘कार्यालय समय’’ लागू
कार्यालय समय लागू गर्नेबारे गरिएको सरोकारवालहरुको छलफलमा सहभागी अतिथिहरु । तस्विर–अमरराज नहर्की



अमरराज नहकी
तनहुँ, माघ ६ गते । तनहुँमा दुर्घटना न्यूनिकरणको लागि सवारीको अत्यधिक चाप हुने समयमा टान्सर्पोटबाट आएका, समान विक्री गर्ने साधनहरु आवतजावत, लोड तथा अनलोड गर्न प्रतिबन्ध गरिएको छ । ‘‘कार्यालय समय’’ लागू गरी विहान ९ बजे देखि सवा १० बजे र दिउँसो साढे ३ बजे देखि ४ बजे सम्मको लागि त्यस्ता सवारीलाई प्रतिबन्ध गरिएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाईको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहआयोजनामा मंगलबार दमौलीमा गरिएको सरोकारवालासँगको छलफलबाट कार्यालय समय लागू गर्ने सहमति भएको छ । दुर्घटना न्यूनिकरणका साथै गण्डकी प्रदेशकै उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले कार्यालय समय लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । कार्यालयको काममा आउने, विद्यालयमा आउने, किनमेलका लागि आउनेहरुको सङ्ख्या उक्त समयमा धेरै भएको हुँदा सवारी चाप हुने भएकोले कार्यालय समय लागू गरिएको उहाँले बताउनुभयो । ‘सवारी चाप हुने समयमा बाटोमा हिँड्ने यात्रुलाई पनि बाटो काट्न कठिन भएको पाईयो यस्ता समस्या समाधानको लागि सरोकारवालासँग छलफल गरेर लागू गरेका हौं’ ट्राफिक प्रमुख रानाभाटले भन्नुभयो । व्यापारीसँग सहमति लिनको लागि सरोकारवालासँग छलफल गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले जानकारी दिनुभयो । ‘कोरोनाको प्रभाव कम भएसँगै चहलपहलमा वृद्धि भएकाले लागू गर्ने सम्बन्धमा छलफल गरिएको हो’ सभापति श्रेष्ठले भन्नुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले चालक तथा सहचालकलाई पनि सचेत बनाउन जोर, बिजोर आलोपालो सञ्चालन गरी सचेतना प्रदान गर्नुपर्ने बताउनुभयो ।
साथै, श्रेष्ठले रोक्नु पर्ने सवारी साधनहरु सडकमा राख्ने परिपाटीको अन्त्य गर्न नसकिएको र बसपार्कमै लगेर राख्नु पर्नेलाई कडाईका साथ नियम कार्यान्वयन गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले ट्राफिकको एक सिट्टीले मानिसको ज्यान नै बचाउन सकिने हुँदा ट्राफिक जाँचलाई नकारात्मक दृष्टिले हेर्न नहुने बताउनुभयो । व्यास नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष काशीराम श्रेष्ठ, व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रराज रेग्मी लगायतले ट्राफिक नियमको पालनाले दुर्घटना न्यूनिकरण तथा सभ्य सहर निर्माणको लागि मद्दत पुग्ने हुँदा हेलचेक्राई गर्न नहुने कुरामा जोड दिनुभयो । सदरमुकाम दमौलीमा सरकारी कार्यालय धेरै र पृथ्वी राजमार्गका अतिरिक्त शाखा सडकहरुको सञ्जाल पनि धेरै जोडिएको कार्यालय समय लागू गरिएको र अन्य सहरमा पनि छलफलमा आवश्यक ठहरिएमा लागू गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?