logo
२०८१ बैशाख ८ शनिवार



दार्चुलामा अक्सिजन प्लान्टको अभावमा आईसीयू कक्ष प्रयोगविहीन

प्रदेश |


दार्चुलामा अक्सिजन प्लान्टको अभावमा आईसीयू कक्ष प्रयोगविहीन


लोकेन्द्र जोशी

दार्चुला, माघ ६ गते । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल दार्चुलामा जडान गरिएको आईसियु कक्ष स्थापना भएको दुई महिनासम्म  सञ्चालनमा आउन सकेको छैन। गत मङ्सिर ११ गते जिल्ला अस्पतालमा जडान गरिएको आईसियु कक्ष अक्सिजन प्लान्टको अभावमा सञ्चालन हुन नसकेको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताउनुभयो ।

आईसियु सञ्चालनका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट जिल्ला अस्पतालमा नरहेको कारण जडान भएको आईसियु कक्ष सञ्चालन गर्ने नसकिएको उहाँले बताउनुभयो । आईसियु कक्ष सञ्चालनको लागि अक्सिजन प्लान्टबाहेक अन्य आवश्यक सामाग्री जडान गरेर सञ्चालनका लागि जनशक्तिसमेत तयार भएको अवस्थामा आईसियु कक्ष सञ्चालन गर्न नसकिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर गजेन्द्र दुवालले बताउनुभयो । अक्सिजन प्लान्ट अभावमा लामो समय आईसियुमा राख्नुपर्ने बिरामीलाई उपचारका लागि जिल्लाबाहिर रेफर गर्नुपरेको उहाँले बताउनुभयो ।

आईसियु सञ्चालनका लागि सबै मापदण्डहरु अहिले नै पूरा गर्न सकिने अवस्था त छैन, डाक्टर दुवालले भन्नुभयो, अहिले भएको श्रोत, साधन र जनशक्तिले सञ्चालन गर्ने भनिए पनि अत्यावश्यकिय अक्सिजन प्लान्ट नै नहुदा सञ्चालनमा ढिलाई भएको छ । अस्पतालमा आईसियु सञ्चालनका लागि विशेषज्ञ चिकित्सक नभए पनि तीन जना स्टाफ नर्सलाई तालिम दिएर सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । कोरोनाका गम्भीर बिरामीहरुलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा भेन्टिलेटर सहितको आईसियु कक्ष स्थापनाका लागि उपकरण पठाएको थियो । उपकरणसंगै दक्ष जनशक्ति र अक्सिजन प्लान्ट नपठाउदा दुई महिना पहिले स्थापना भएको आईसियु कक्ष प्रयोगविहिन अवस्थामा छ । अक्सिजन प्लान्टको ब्यवस्थापन हुने वित्तिकै आईसियु कक्ष सञ्चालन गर्न सकिने प्रमुख डाक्टर दुवालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?