logo
२०८० चैत्र १६ शुक्रवार



राप्तीमा भेटियाे जुरे हुटिट्याउँ जलचरा

प्रदेश |


राप्तीमा भेटियाे जुरे हुटिट्याउँ जलचरा
फोटो सौजन्य: चिरञ्जिवी खनाल


गोकर्ण पौडेल
तुलसीपुर माघ ५ गते । देउखुरी उपत्यकाको राप्ती नदी तटमा पहिलो पटक जुरे हुट्ट्यिाउँ जलचरा फेला परेको छ । सन् २०१३ देखि देउखुरी उपत्यका क्षेत्रमा हिउँदमा चरा गणना गर्दै आउनुभएका वन्यजन्तु संरक्षणकर्मी चिरञ्जिवी खनालका अनुसार देउखरी उपत्यकामा पहिलो पटक जुरे हुटिट्याउँ देखापरेको हो । वेटल्याण्ड इन्टरनेसनलको संयोजनमा हिमाली प्रकृति नाम संस्थाले चरा गणनाको संयोजन गरेको खनालले जानकारी दिनुभयो । जाडोयाममा साइबेरिया,भारतको हिमाञ्चल र नेपालकै हिमाली क्षेत्रबाट दाङ, देउखुरी उपत्यकामा जाडो छल्न पक्षी आउने गरेका छन् ।

देउखुरी उपत्यकामा यो वर्ष सबैभन्दा कम कालो गरुड देख परेको छ भनेँ सबैभन्दा बढी चखेवा देखापरेको छ । नेपाल सरकारले नाैँ प्रजातिका चराहरुलाई संरक्षित पक्षीका रुपमा सूचीकृत गरेको छ । नाैँ प्रजातिमध्ये कालो गरुड पनि एक हो । खनालकाअनुसार गतवर्ष कालो गरुडको संख्या नौ वटा थियो भने यो वर्ष एक वटा मात्रै फेला परेको थियो । खनालले दिएको जानकारी अनुसार चरा शान्त वातावरण मन पराउने तर यो वर्ष राप्ती नदी तटबन्धनको काममा भइरहेको र काममा मानिस र गाडी मोटरका कारण घुम्न आउने पंक्षीको संख्यामा कमी देखिएको हो । यो वर्ष २५ प्रजातिका चरा घुम्न आएका छन् ।

गतवर्ष घोराही उपमहानगरपालिका वडा नम्बर १ चरिगे तालमा १२ वटा कालो गरुड भेटिएका थिए । गतवर्ष चेपे तालमा , ज्यामिरे तालमा सानो पानी हासँ देखापरेको थियो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार कालो गरुड असोज अन्तिमतिर साइबेरियाबाट नेपालमा आउँछन् भने चैत महिनाको अन्तिमतिर जाने गर्दछन् । नेपाल पंक्षी संरक्षण संघको प्राविधिक सहयोगमा दाङ उपत्यकामा यो वर्ष हिउँदे चराहरुको गणना सुुरु गर्न थालिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?