logo
२०८० चैत्र १५ बिहीवार



दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

प्रदेश |


दुर्घटना नियन्त्रण गर्न समय निर्धारण
फाइल तस्बिर


रुपन्देही, माघ ६ गते । सवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सयम निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको छ । पाल्पाको दोभानबाट बुटवल धागो कारखाना, धागो कारखानाबाट सुनवल र दोभानबाट भैरहवा अञ्चलपुरसम्म चल्ने टिपरका लागि सयम निर्धारण गरिएको हो ।

टिपअनुसारको ज्याला पाउने भएकाले अत्यधिक गतिमा टिपर चलाउँदा दुर्घटना बढेका कारण अनिवार्य समय निर्धारण गरिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सोमबार बुटवलमा पत्रकार भेटघाट गरी जानकारी गराएको छ । दोभानबाट धागोकारखानासम्म ११ किलोमिटर दूरी ३३ मिनेट समयमा पुग्ने गरी सयम तोकिएको छ । धागो कारखानाबाट सुनवलसम्म २३ किलोमिटरको दूरी ४६ मिनेटमा र दोभानबाट भैरहवा अञ्चलपुरसम्मको २८ किलोमिटर दूरी ५६ मिनेटमा पुग्ने गरी सयम निर्धारण गरिएको ट्राफिक प्रहरी प्रमुख डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

टाइम कार्ड लिएका टिपरले प्रहरी चौकीमा अनिवार्य प्रवेश ९इन्ट्री० गराउनुपर्ने छ । तोकिएको समयभन्दा छिटो नै टिपर पुगेमा नियमअनुसारको कारवाहीमा पर्नेछन् । प्रत्येक टिपर चालकलाई एक÷एकवटा सयम निर्धारणका कार्ड वितरण गरिने र सो कार्ड देखाइ तोकिएको स्थानमा इन्ट्री गराउनुपर्ने र इन्ट्री नगराइ गएमा जरिवाना लाग्ने ट्राफिक प्रहरी प्रमुख विकले बताउनुभयो सयम निर्धारण भएपछि टिपरको तीव्रगतिलाई रोक्नुका साथै दुर्घटनामा कमी ल्याउने र यात्रुलाई सडकमा यात्रा गर्न सजिलो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सडक लेनको प्रयोगबारे सवारी चालक र यात्रुलाई सचेत बनाउने कामसमेत शुरु गरेको जनाएको छ । सडकमै यात्रु तथा चालकलाई लेनको अनुशासनबारे सचेत गराउने काम भइरहेको छ । सडक सुरक्षाका लागि नयाँ प्रहरीलाई प्रशिक्षित गरी सडकमा खटाउने तयारी गरेको ट्राफिक प्रहरी प्रमुख विकले बताउनुभयो । “अहिले ३० ट्राफिक प्रहरीलाई तालिम दिइरहेका छौँ, थप गरी सडक व्यवस्थापनका लागि परिचालन गर्दैछौँ”, उहाँले भन्नुभयो ।

प्रहरीले सवारी दुर्घटना बढ्दै गएपछि सडक सुरक्षाका लागि विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो छ महिनामा लुम्बिनी प्रदेशमा १६ दशमलव ५५ प्रतिशतले दुर्घटना वृद्धि भएको छ । आर्थिक वर्ष २०७७ साउन १ देखि पुस मसान्तसम्म ९०१ सवारी दुर्घटना भएका छन् । गत वर्षको साउनदेखि पुस मसान्तसम्म ७७३ दुर्घटना भएका थिए । सवारी दुर्घटना बढे पनि मानिसको मृत्यु भने कम भएको छ । पछिल्लो छ महिनामा २५६ को मृत्यु भएको छ भने अघिल्लो वर्षको छ महिनामा २७६ को मृत्यु भएको थियो । प्रहरीले सडक सुरक्षा र जनचेतनाका लागि सडकमा डमी ट्राफिक प्रहरीको प्रयोगसमेत गरेको छ । बुटवल, भैरहवा र कपिलवस्तुको बुद्धभूमि चोकमा गरी १० डमी ट्राफिक प्रहरी प्रयोग गरिएको हो ।

ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना नियन्त्रणका लागि प्रहरीले अघि सारेका कार्यक्रममा सबैको सहयोग र सहकार्य आवश्यक रहेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

पत्थरडाँडा–तिनाउ सडक विस्तार शिलान्यास

तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको सोमबार शिलान्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले वडा नं १३ को तीनधुरेमा शिलान्यास गर्नुभयो ।

तिलोत्तमा नगरपालिकाद्वारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाइ छ दशमलव आठ किलोमिटर छ । नदीजन्य पैदावार ओसारपसार गर्ने निकासी सडकका रूपमा परिचित यो सडक विस्तार कार्यको लागत रु ३४ करोड अनुमान गरिएको छ । स्थानीय जनप्रतिनिधिको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक बहुवर्षीय ठेक्का लगाएर दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा नं १३ र १४ को विकासमा महत्वपूर्ण टेवा पु¥याउने यो सडक निर्माणलाई तीनै तहका जनप्रतिनिधिले विशेष महत्व दिँदै आउनुभएको छ ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले सडक निर्माणमा स्थानीय जनप्रतिनिधिले देखाएको तत्परताको प्रशंसा गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । जग्गाको सुनिश्चितता गराउने जिम्मेवारी नगरपालिकाको भएको बताउँदै उहाँले सडक निर्माणमा मुअब्जा दिने प्रदेश सरकारको नीति नरहेको स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रममा प्रदेशसभा सदस्य तुलसी चौधरी, रमा अर्याल, सन्तोष पाण्डेयले विकासको मुख्य आधार सडक रहेको हुँदा सडक विस्तारमा सबैको सहयोग र सहकार्य अपरिहार्य रहने बताउनुभयो ।

तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले सडक विस्तार कार्यमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?