logo
२०८१ बैशाख ८ शनिवार



मध्यवर्ती क्षेत्रमा जंगली हात्ती र बाघको आतङ्क

प्रदेश |


मध्यवर्ती क्षेत्रमा जंगली हात्ती र बाघको आतङ्क
मनहरी ५ बसन्तपुरमा हात्तीले अन्न खानका लागि भत्काएका घर ।


हेटौँडा समाचारदाता
हेटौँडा, माघ २ गते । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा जंगली जनावरको आतङ्कबाट पीडित हुन थालेका छन् । जाडोयाम सुरु भएसँगै रातमा आउने गरेको जंगली हात्ती र बाघले मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने मनहरी गाउँपालिका ५ र ७ नं वडाका बासिन्दालाई सताएको हो ।
बिहीबार राति मनहरी गाउँपालिका ५ बसन्तपुरमा हात्तीको आक्रमणबाट सात वटा घर भत्किएका छन् । घरमा रहेको धान, मकै लगायत खाद्यान्न खानका लागि जंगली हात्तीले घर भत्काउँदा बस्तीमा आतङ्क फैलिएको स्थानीय युवा कृष्ण लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गत मंसिर महिनादेखि नै हात्ती बस्तीमा आउन थालेको हो । स्थानीय हरि मिजार, साने मिजार, सुनिल मिजार लगायत स्थानीयबासीको घरमा रहेको खाद्यान्न झिकेर हात्तीले खाएको र घरमा क्षति पु¥याएको लामिछानेको भनाइ छ ।
यसैगरी, मनहरी गाउँपालिका ७ बगर र रमौली बस्तीका छेउछाउमा नियमित रुपमा बाघ आउन थालेको छ । राति आउने बाघले पछिल्लो २ दिनयता एउटा भैँसी, एउटा गाई र एउटा बाख्रा मारेको स्थानीय बासिन्दाले बताएका छन् ।
दैनिक बाघ आउन थालेपछि मध्यवर्ती उपभोक्ता समितिले चरणमा लगिएका पशु चौपायालाई घरमै बाँधेर पाल्न अनुरोध गरेको छ । समितिका अध्यक्ष पदमबहादुर तितुङले सार्बजनिक सूचना प्रकाशन गरी मर्निङ वाकमा ननिस्कन र छाडा चौपायालाई बाँधेर पाल्न अनुरोध गर्नुभएको हो । ‘बाघ नियमित आएको र क्षति पु¥याएको खबर आएपछि सार्वजनिक सूचना गरी स्थानीय बासिन्दालाई सचेत पारेका छौँ ।’, अध्यक्ष तितुङले भन्नुभयो ।
दुई वर्षअघि बाघको आक्रमणबाट मनहरी ७ बगरकी एक महिलाको ज्यान गएको थियो भने अर्का एकजना घाइते भएका थिए । हरेक वर्ष हात्ती, गैँडा, बाघ, चित्तल, मृग, बँदेललगायत वन्यजन्तु राप्ती खोला तरेर महेन्द्र राजमार्ग छेउका मध्यवर्ती क्षेत्रका बस्तीहरुमा आउने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?