logo
२०८१ बैशाख ४ मंगलवार



मकवानपुरमा निर्वाचन तयारी: मतदानस्थल र केन्द्र पुनवलोकन गरिँदै

प्रदेश |


मकवानपुरमा निर्वाचन तयारी: मतदानस्थल र केन्द्र पुनवलोकन गरिँदै


सुरेश झा/पुरुषोत्तम सुवेदी

वाग्मती, पुस २९ गते । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आसन्न निर्वाचनलाई लक्षित गरी जिल्लामा आवश्यक काम अघि बढाएको छ । कार्यालयले मतदानस्थल र केन्द्रको पुनरवलोकन तथा प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कामको तयारी थालेको जनाएको छ । अघिल्लो निर्वाचनमा तय गरिएका मतदानस्थल र केन्द्रको पछिल्लो अवस्था साथै आवश्यक स्थानमा पुनरालोकनका लागि काम अघि बढाइएको जिल्ला मतदानस्थल पुनरावलोकन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनको अवस्था हेर्दा मकवानपुरमा एउटा मतदानस्थलमा बढीमा आठ हजार २०० सम्म मतदाता सङ्ख्या  थियो । यद्यपि अहिलेको समय सन्दर्भमा मतदातालाई पर्ने पायक स्थानमा व्यवस्थापन गर्ने गरी मतदानस्थल र केन्द्रकोे व्यवस्थापन गरिने योजना रहेको प्रजिअ रिजालले भन्नुभयो । यसैगरी जिल्लाको सबै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यका लागि काम अघि बढाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । सोअनुसार आगामी माघ १५ गतेदेखि सबै स्थानीय तहमा १०÷१० सहायक नाम दर्ता अधिकारी खटाइने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि त्यस विषयमा जिल्ला निर्वाचन कार्यालय मकवानपुर आफ्नो तयारी शुरु गरेको जनाएको हो । आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तय भएसँगै मकवानपुरमा निर्वाचनका निमित्त आवश्यक अन्य तयारी तथा प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मकवानपुरका प्रजिअ गोविन्दप्रसाद रिजालको संयोजकत्वमा रहने जिल्ला मतदानस्थल पुनरावलोकन समितिको बैठक सम्पन्न भएको बताइएको छ । सो बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरस्थित स्थानीय तहका प्रमुख, जिल्ला सुरक्षाप्रमुख तथा निर्वाचन कार्यालयका कर्मचारीको बैठकमा सहभागिता थियो ।

विसं २०७४ मा सम्पन्न निर्वाचनमा मकवानपुरमा १६४ मतदानस्थलमा ३२४ मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार आसन्न निर्वाचनमा मकवानपुर जिल्लामा करीब दुई लाख ७२ हजार ४७८ जना मतदाता हुने प्रारम्भिक अनुमान छ । मतदाता सङ्ख्या तथा दूरीको हिसाबले मतदान केन्द्र तोकिएको थियो । यसअघि निर्वाचन आयोगले मतदान केन्द्रको मापदण्ड निर्वाचन कार्यालयमा पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख पौडेलले भन्नुभयो । उहाँले मतदान केन्द्र मापदण्डअनुसार मतदानस्थल परिवर्तन हुनसक्ने भए अर्को बैठकमा पेश गर्ने बसेको समितिको बैठकले निर्णय गरेको जानकारी दिनुभयो । माघ १० गतेसम्म स्थानीय तहका राजनीतिक दलका व्यक्ति स्थानीयवासीसँग छलफल गरेर मापदण्डअनुसार मतदान केन्द्र थपघट तथा फेरबदल हुनसक्ने उहाँले भन्नुभयो ।

स्थानीय तहबाट मतदान केन्द्र पायक पर्ने स्थानमा भए अर्थात् मापदण्ड पुग्ने भए मतदान केन्द्र परिवर्तनलाई जिल्ला मतदान केन्द्र पुनरवलोकन समितिले निर्वाचन आयोगलाई सिफारिस गर्नेछ । प्रजिअको संयोजकत्वमा रहने मतदान केन्द्र पुनरावलोकन समितिको बैठक आगामी माघ १० गतेभित्र बस्ने भएको छ । सरकारले निर्वाचनको घोषणा गरेपछि स्थानीय तहमा आमजनताबीच निर्वाचनको विषयमा छलफल तथा विचार विमर्शहरु शुरु भएको पाइएको छ । अहिले सर्वोच्च अदालतमा फैसलाका क्रममा रहे पनि देशलाई राजनीतिक निकास दिन निर्वाचन नै उत्तम विकल्प रहेको हेटाँैडावासीको भनाइ छ ।

प्राध्यापक ललित दासले निर्वाचनमा जाने विषयलाई सबै दलले स्वीकारसमेत गरेको देखिएकाले निर्वाचनलाई नकार्न नसकिने विचार व्यक्त गर्नुभयो । यस्तै स्थानीय हरिप्रसाद रिजालले स्थायी शान्तिका लागि दलहरु सहमत हुनुपर्ने र विकासको बाटोमा लाग्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?