logo
२०८१ बैशाख १३ बिहीवार



फोन गर्न अग्ला डाँडा खोज्दै जानुपर्ने बाध्यताको अन्त्य

प्रदेश |


फोन गर्न अग्ला डाँडा खोज्दै जानुपर्ने बाध्यताको अन्त्य


नवीन शिशिर विक
बागलुङ, पुस २९ गते । साथमा मोबाइल भए पनि घरमा बसिबसी कहिल्यै फोनमा कुरा गर्न पाउनु भएन नर्जाका लेखबहादुर छन्त्यालले । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा मोवाईलको टावर नहुँदा स्थानीयवासी फोनमा कुरा गर्न अग्ला डाँडा खोज्दै जानुपर्ने बाध्यता थियो । केही समय पहिले यस क्षेत्रमा कुनै पनि कम्पनीको मोबाइल सेवा उपलब्ध थिएन । यहाँका स्थानीयलाई सूचना आदान प्रदान गर्न की त कटुवालको भर पर्नु पथ्र्यो की त अग्ला डाँडा र रुखमा चढ्नुपर्ने विवसता थियो ।

बागलुङ सदरमुकाम बजारदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका–ं ६ नर्जाखानी र वडा नं २ बोङ्खानीमा नेपाल टेलिकमले पहिलो पटक मोवाइल सेवा विस्तार गरेको छ । नेपाल टेलिकमले नर्जा र बोङखानीमा टावर निर्माण गरेर संचार सेवा विस्तार गरे पनि फोन गर्न अग्डा डाँडा खोज्दै जानुपर्ने बाध्यताको अन्त्य भएको हो ।

दुवै ठाउँमा नयाँ टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । टावर संचालनसँगै स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डाटा सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । यसअघि ती दुवै गाउँमा मोबाइल सेवा थिएन ।

भौगोलिक विकटताका कारण अन्यत्रका टावरबाट ‘सिग्नल’ पहुँच पुग्दैनथ्यो । मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो । टावर सञ्चालनमा आएपछि त्यहाँका २५० र बोङ्खानीका ३५० घरधुरीमा मोवाइलको भ्वाइस र डाटा दुवै सेवा सहज भएको छ ।

नर्जासँगै छिमेकी गाउँ पात्ले, भित्रीवन र बोङ्खानी आसपासका पुस्डाँडा, लसुने, हिजा, लामाचौर लगायतका बस्ती सेवाबाट लाभान्वित भएका छन । स्थानीयवासी मङ्गला आधारभूत विद्यालयका प्रधानाध्यापक लेखबहादुर छन्त्यालले मोबाइलमा कुरा गर्न डाँडातिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।

‘एक वर्षदेखि सेवाका लागि टेलिकमसँग माग गरिरहेका थियौँ, अहिले टावर बनेर पनि सेवा शुरु भइसक्यो, हामी सबै खुशी छौँ”, उहाँले भन्नुभयो । इन्टरनेटका लागि तत्काललाई दुवै टावरबाट थ्रिजी सेवा सञ्चालन गरिएको वरिष्ठ इञ्जिनीयर शर्माले बताउनुभयो ।

ती ठाउँमा पछि थ्रिजीलाई स्तरोन्नति गरी फोरजी सेवा दिने टेलिकमको योजना छ । नर्जा र बोङखानीमा अन्य दुरसञ्चार सेवा प्रदायकको समेत अहिलेसम्म सेवा पुग्न सकेको थिएन । वडा नं ६ का वडाध्यक्ष कुलबहादुर छन्त्यालले मोबाइल सेवाले स्थानीयवासीलाई संचार सुविधा पुगेको बताउनुभयो ।

उहाँका अनुसार तीव्र गतिको इन्टरनेट सेवाका लागि फोरजी विस्तारको काम पनि धमाधम भइरहेको छ । धवलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हालसम्म ६५ ठाउँमा फोरजी सेवा सञ्चालन भइसकेको छ । बाँकी झण्डै ५० ठाउँमा फोरजी सञ्चालनको तयारी भइरहेको छ । टेलिकमले ग्राहकको माग र डाटाको खपत बढी हुने ठाउँमा फोरजी सेवा समेत विस्तार गर्ने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?