logo
२०८० चैत्र १५ बिहीवार



टासी छ्योलिङ गुम्बा जीर्ण, संरक्षणमा चासो दिइएन

प्रदेश |


टासी छ्योलिङ गुम्बा जीर्ण, संरक्षणमा चासो दिइएन
घुन्सास्थित जीर्ण अवस्थामा रहेको टासी छ्योलिङ गुम्बा । तस्बिर ः चन्द्र पन्दाक


चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २९ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ लेलेपको घुन्सामा रहेको ऐतिहासिक गुम्बा जीर्ण बनेको छ । स्थानीय शेर्पा (भोटे) समुदायको पहिचान बोकेको प्राचीन टासी छ्योलिङ बौद्ध गुम्बा संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।
राज्य पुनःसंरचनासँगै हाल तीन तहको सरकारले आफ्नो भूमिका निर्वाह गर्दै आएको भए पनि अहिलेसम्म गुम्बाको जीर्णोद्धार अर्थात संरक्षण गर्नमा कुनै पनि सरकारको नजर पर्न नसकेको स्थानीयले गुनासो गर्ने गरेका छन् । आवश्यक प्रचार–प्रसार नभएकाले पनि गुम्बा जीर्णोद्धार लागि कसैको ध्यान नगएको हुनसक्ने बताइएको छ । गुम्बा धेरै पुरानो भएकै कारण संरचना क्रमशः भत्किँदै गएको घुन्साका स्थानीय बताउँछन् ।
घुन्साका ज्येष्ठ व्यक्ति ९० वर्षीय लाक्पाछेतेन शेर्पाले टासी छ्योलिङ गुम्बा एक हजार वर्षभन्दा बढी पुरानो भएको दावी गर्नुभयो । शेर्पाका अनुसार पुर्खाहरुले घुन्सामा बस्ती बसाउन थालेपछि बौद्ध धर्मावलम्बीले धार्मिक संस्कार (पूजा पाठ) गर्न टासी छ्योलिङ गुम्बा निर्माण गरिएको हो ।
उहाँले भन्नुभयो, “जिल्लाकै पहिलो गुम्बा हो, घुन्सामा गुम्बा बनेपछि मात्र अरुतिर गुम्बा बनेका हुन् ।” घुन्सापछि ओलाङ्चुङगोलाको दिकीछ्योलिङ गुम्बा, फले, ग्याब्ला लगायतका ठाउँमा पछि मात्र गुम्बा बनाइएको उहाँ बताउनुहुन्छ ।
घुन्साकै स्थानीय पेमा शेर्पाले पनि धेरै पुरानो गम्बा भएको बताउनुभयो । धेरै अघिका पुस्ताले टासी छ्योलिङ गुम्बा बनाएको र अहिलेसम्म सोही गुम्बामा आपूmहरुले बौद्ध धर्मअनुसार पूजापाठ गर्दै आएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार गुम्बा पुरानो भएकाले संरचना निक्कै जीर्ण अवस्थामा रहेको छ ।
समय समयको भूकम्पले गुम्बाको गारो (वाल) भत्काएर संरचना थप र्जीण बनेको शेर्पाको भनाइ छ । स्थानीय आफैँले बेला–बेलामा भत्किएको वाल (गारो) लगाउने र मक्काएको काठहरु फेर्नेबाहेक अरु दर्बिलो संरचना बनाउने वा जीर्णोद्धारको कार्य गर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
कतिपय लड्न र झर्न लागेको संरचनालाई काठको टेवा दिएर अड्याएको गुम्बाका लामा (पुजारी) पेमाछेम्बे शेर्पाले बताउनुभयो । कुनै पनि बेला गुम्बाको पुरै संरचना भत्किएर मानवीय क्षतिसँगै ऐतिहासिक गुम्बाको अस्तित्व समाप्त हुनसक्ने लामा शेर्पाको भनाइ छ ।
संरक्षण तथा जीर्णोद्धार नगरिँदा धार्मिक मात्र नभई पर्यटकीय गन्तव्यका रुपमा रहेको प्राचीन ऐतिहासिक गुम्बाको अस्तित्व सङ्कटमा परेको घुन्साका स्थानीय युवा समाजसेवी मिङ्माडण्डु शेर्पाले बताउनुभयो । कञ्चनजङ्घा हिमाल प्रवेशद्वार मानिने घुन्सा बस्तीमा रहेको ऐतिहासिक गुम्बाको जीर्णेद्धार गर्न ढिलाई हुँदै गएको शेर्पाको भनाइ छ । गुम्बाको संरक्षण कार्य अर्थात जीर्णोद्धारले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भएकाले आवश्यक योजनाका लागि पहल भने भइरहेको उहाँले बताउनुभयो ।
चीनको स्वशासित क्षेत्र तिब्बतको भोटबाट आएर घुन्सामा भोटे समुदायले मानव बस्ती बसाएका र बस्ती बस्न थालेदेखि नै सुरुमै उक्त गुम्बा निर्माण गरिएको बताइँन्छ । सुरुमा काठको चिर्पटले छाएर गुम्बा निर्माण गरिएको र पछि जस्तापाताले छाउन थालिएको घुन्साका बयोवृद्ध लाक्पाछेतेन शेर्पाले बताउनुभयो । हाल जीर्ण बन्दै गएको गुम्बाको संरचना निर्माणका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलाई गुहार्दै आएको स्थानीय पेमा शेर्पाको भनाइ छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?