logo
२०८१ बैशाख १३ बिहीवार

  गाईघाट दिक्तेल सडक खण्डको हविगत  



सातौं पटक अस्थायी बेलिब्रिज, बर्खा लाग्यो सधैं उस्तै

प्रदेश |


सातौं पटक अस्थायी बेलिब्रिज, बर्खा लाग्यो सधैं उस्तै


भक्तिविलास पोखरेल
गाईघाट,मङ्सिर २८ गते । गाईघाट दिक्तेल सडक अन्तर्गत सुनकोशी नदीमा सडक विभागले अघिल्ला वर्षहरूमा झै यो वर्ष पनि अस्थायी बेलिब्रिज निर्माण गरेको छ । सुनकोशी नदीमा पानीको वहाव घटेसँगै करिव छ महिनासम्म सञ्चालन हुनेगरी विभागले बेलिब्रिज निर्माण गरेको हो ।
जिल्ला सदरमुकाम जोड्ने उद्देश्यले निर्माण शुरु गरिएको सो सडक अन्तर्गतको सुनकोशीमा स्थायी पक्की पुल निर्माण नहुँदा हिउँदको समयमा बलीब्रिजबाट सवारी आवागमन सुचारु गर्ने गरिएको छ । अघिल्लो वर्ष ५४ लाखमा निर्माण गरिएको बेलिब्रिज कोसीमा पानीको वहाव बढेपछि गत जेठ ३ गते निकालिएको थियो ।
यस वर्ष मङ्सिर पहिलो साताबाट निर्माणको काम गर्न शुरु गरीएकोमा शनिवार सम्पन्न भएपछि आज आइतवारदेखि गाईघाट दिक्तेल सडक सञ्जालमा सोझै सार्वजनिक सवारी सञ्चालनमा आएको गाईघाट दिक्तेल सडक आयोजना प्रमुख डिभिजन ईन्जिनियर गोपालप्रसाद खकुरेलले बताउनुभयो ।
सुनकोशी नदी वारपार गर्न असहज भइरहेको अवस्थामा अस्थायी रुपमै भएपनि एकतर्फि रुपमा करिब ३० टन भार वहन गर्नसक्ने क्षमताको वारी पारी दुवैतर्फ एप्रोच रोडसहितको करिव ८४ लाख रुपियाँको लागतमा निर्माण गरिएको बेलिब्रिज सञ्चालन भएसँगै उदयपुर र खोटाङ्ग दुई जिल्ला सोझो सडक सञ्जालमा जोडिएको आयोजना प्रमुख खकुरेलले बताउनुभयो ।
उहाँका अनुसार खोटाङ जिल्लाको सिमानामा पर्ने उदयपुरको रौतामाई गाउँपालिका वडा नं ५ को फोक्सिनटारस्थित सुनकोशी नदीमा नेपालकै दोस्रो ठूलो बेलिब्रिज निर्माण गर्ने काम सम्पन्न गरी आज आइतवारबाट सार्वजनिक सवारी आवागमन खुल्ला गरिएकोले अवको करिव छ महिनासम्मका लागि उदयपुर र खोटाङ्ग जिल्ला अस्थायी रुपमा भए पनि सडक सञ्जालमा जोडिएको छ ।
सुनकोशी नदीमा स्थायी पक्की पुलको अभावमा जोडिन नसकेका खोटाङ र उदयपुरलाई हिउँदको याममा जोड्नका लागि बेलिब्रिज निर्माण गरिएको हो । सुनकोशीमा पक्की पुल निर्माण भएपछि भने उदयपुर र खोटाङ जिल्ला स्थायीरुपमै सडक यातायात सञ्जालमा जोडिनेछन ।
उदयपुर सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको एकसय ३१ किलामिटर लामो गाईघाट दिक्तेल सडकको उदयपुर खण्डको ५३ किलोटिरको दुरीमा बेलिब्रिज निर्माण गरिएको र यसबाट सर्वसाधारणलाई गाईघाटदेखि दिक्तेलसम्मको आवतजावतमा सवारी साधनको प्रयोग गर्न सहज भएको हो ।
आयोजना प्रमुख खकुरेलका अनुसार “सुनकोशी नदी तर्न नसक्दा अहिले गाईघाटदेखि फोक्सिनटारसम्म र दिक्तेलदेखि रसुवा घाटसम्म वारीको वारी र पारीको पारीसम्म एकतर्फि ढङ्गले मात्रै यातायात सञ्चालन हुँदै आएकोमा करिव ३० टन भार बहन गर्नसक्ने क्षमता भएको ५० मिटर लामो यो बेलिब्रिज बनेपछि आजबाट गाईघाटदेखि दिक्तेलसम्म एउटै सवारी साधनमा पुग्न सकिने भएको छ ।”,
“दायाँबाँया सपोर्ट बारसहितको चार प्यानलको बेलिब्रिज भएकाले यसबाट कुनै खतरा नहुने भन्दै निर्माण कम्पनि रेग्मी—सगरमाथा डिएस जेविका निर्देशक महेस रेग्मीले भन्नुभयो“ यसको वजन एकसय आठ टन छ भने भित्री चौडाई चार मिटर ३० सेन्टिमिटर रहेको छ ।” बेलिव्रिज निर्माण भएसगै पूुर्वको पशुपति भनिने हलेसीस्थित महादेवको दर्शन गर्न गाईघाटबाट अब एकै दिनमा पुगेर आउन सकिने भएको छ ।
यसैगरी फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो खुलेको छ । अस्थायी बेलिब्रिजका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पूर्वी तराईका सबै जिल्ला पुग्न र आउन सकिने वातावरण बनेको खोटाङका यातायात ब्यावसायहिरुको भनाइ छ ।
वर्षमा छ महिनासम्म मात्र सञ्चालन हुने बेलिब्रिज निर्माणमा बर्सेनि ६० देखि ९० लाख रुपियाँ राज्यको कोषबाट खर्च हुँदै आएको छ । सुनकोशीमा स्थायी पुल निर्माण गर्नमा नै सरकारले जोड गर्नुपर्ने स्थानीय बासिन्दा बताउँछन् । यो सातौ वर्षको बेलिब्रिज हो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?