logo
२०८० चैत्र १५ बिहीवार



कानून कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक : मुख्यमन्त्री भट्ट

प्रदेश |


कानून कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक : मुख्यमन्त्री भट्ट


बैतडी, मङ्सिर १४ गते ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभएको छ । शनिबार मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उहाँले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताउनुभयो ।

“नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौँ”, उहाँले भन्नुभयो, “देशमा राम्रा कानून बनेका छन् तर मानसिकता बदलिएको छैन, मानसिकता नबलिँदासम्म जति राम्रो कानून बने पनि जटिलता आइराख्छ ।”

देशमा एउटै दलको सरकार रहेको भए पनि कानून बन्न ढिलाइ भएको समेत मुख्यमन्त्री भट्टले बताउनुभयो । “मैले कानून नबन्दा भएको अप्ठ्यारोबारे सङ्घीय सरकारसँग कुरा राखिसकेको छु”, उहाँले भन्नुभयो, “शुरुमा सङ्घले कानून बनाउन ढिलाइ गर्यो, त्यसपछि प्रदेश अनि स्थानीय तहमा पुग्दासम्म सङ्घीयता कार्यान्वयनमा ढिलाइ भएको छ ।” उहाँका अनुसार सङ्घले कानून नबनाउँदासम्म प्रदेशले काम गर्न नसक्ने भएकाले कानून बन्न ढिलाइ हुँदा सबै तहका सरकारलाई काम गर्न केही जटिलता देखिएको छ ।

अन्य प्रदेशमा सम्पन्न भएको “सङ्घीयताको कार्यान्वयनमा सरोकारवालाको भूमिका” विषयक भर्चुअल बैठक सुदूरपश्चिममा शनिबार सम्पन्न भएको मानअधिकार पत्रकार सङ्घ (हुर्जा) का अध्यक्ष घनश्याम खड्काले जानकारी दिनुभयो । प्रदेशगतरूपमा देशभरि गरिएको भर्चुअल बैठकमा बोल्ने अधिकांश वक्ताले कानून कार्यान्वयन गर्न सबैले प्रतिबद्धता गरे पनि कार्यान्वयनमा उदासीन भएको बताएका थिए ।

नगरप्रमुखसहित १८ जनामा कोरोना

बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुुभएका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी, नेपाली सेनाका तीन, नेपाल प्रहरीका एक, दुईजना श्रीलङ्काली पर्यटक र दशरथचन्द नगरपालिकाका आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

गोठलापानीको एक होटेलमा रहेका दुई पर्यटकको जाँच गर्दा पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । सङ्क्रमित मध्ये ५५ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना रहेका छन् ।

यस्तै डिलाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा चार, पाटन नगरपालिकामा तीन र सुर्नया तथा पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोनाको जोखिम बढेको भन्दै दशरथचन्द नगरपालिका क्षेत्रलाई आजदेखि लकडाउन गरिएको छ । नगरकार्यपालिकाको बैठकले मङ्सिर २२ गतेसम्म लकडाउन घोषणा गरेको हो । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका कोरोनाको ‘हटस्पट’ बन्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

नगरपालिकामा ३६ जना सक्रिय सङ्क्रमित रहेका र एकैदिन १८ जनामा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो । चिसोको समयमा कोरोनाको सङ्क्रमण झन् फैलिने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन आग्रह गरिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?