logo
२०७७ मंसिर १२ शुक्रवार

गाउँघरमा बिजुली पुग्याे, हराउन थाले परम्परागत ढिकी जाँतो

फिचर |
समाज |


2020-10-24-25352
आधुनिक प्रविधिको प्रयोगसँगै रौतहटका ग्रामिण भेगमा परम्परागत ढिकी जाँतो लोप हुँदै


मनोज तिमलसिना
रौतहट, कात्तिक ८ गते । रौतहटका ग्रामीण तथा दुर्गम भेगमा ढिकी जाँतो पाउन छाडिएको छ । गाउँगाउँमा विद्युतीकरण भएसँगै ढिकी जाँतो पाउन छाडिएको हो ।
बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि गाउँघरमा ढिकी र जातो लोप हुँदै जान थालेका छन् । गाउँमा टुकी विस्थापित भएसँगै अन्न कुटानी पिसानी गर्ने परम्परागत ढिकी जाँतो विस्थापित भएका छन् । विशेष गरी हिउँदको समयमा महिलाहरु एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकी–जाँतोमा अन्न कुट्ने र पिस्ने गर्दथे  तर अहिले मीलमा अन्न लगेर कुटानी पिसानी गर्न थालेपछि हिउँदभरि चल्ने ढिकी जाँतो पूर्ण रुपमा बन्द भएका छन् ।

विद्युत र तेलबाट चल्ने मिलले गर्दा गाउँघरमा रहेका अन्न कुट्ने परम्परागत ढिकी र जाँतोको उपयोग हुन छाडेको चन्द्रपुर नगरपालिका वडा नम्वर १० का अध्यक्ष जयराम चौधरीले बताउनुभयो । थोरै अन्न पिस्न घण्टौं लगाएर ढिकी जाँतो गर्नुपर्ने झन्झटको सट्टा सस्तोमै मिलमा अन्न सजिलै छिनमै पिसिदिने भएपछि सहज भएको उहाँको भनाइ छ  ।
‘केही वर्ष अघिसम्म गाउँमा चिउरा, धान, गहुँ, कोदो र पिठोका लागि ढिकी जाँतो प्रयोग हुन्थ्यो तर अहिले परम्परागत साधन थन्किएका छन्, गुजरा नपा वडा नम्वर २ की अस्मिता चौलागार्इंले बताउनुभयो । डेढ दशक अघिसम्म आमा भाउजुहरुले बिहान रातीदेखि घण्टौंसम्म अन्न कुटानी पिसानीका लागि ढिकी जाँतो गर्नुपथ्र्यो, तर मिल आएपछि सजिलो भएको उहाँको भनाइ छ ।

दुई दशकअघि नै गाउँमा डिजल मिल आएपछि ढिकी जाँतो प्रयोगमा केही कमी आएको भए पनि सातवर्ष अघिदेखि बिजुली मिल चल्न थालेपछि अहिले ढिकी जाँतो बेकाम बनेको चन्द्रपुरका स्थानीय मिल सञ्चालक भरत गौतमले बताउनुभयो  । घर नजिकै डिजेल र बिजुलीले चल्ने कुटानी पिसानी मिल सञ्चालनमा आएपछि आफ्नो गाउँमा ढिकी थान्को लागेको उहाँको भनाई छ । घरबाट मिल पुग्न २ मिनेट पनि लाग्दैन, एकैछिनमा पिसिदिन्छ अनि ढिकी जाँतो किन चलाई रहनुपर्यो र मिलको चलनले ढिकीमा हल्लिरहन पनि नपरेको चन्द्रपुर नगरपालिकाकी अर्का गृहिणी भगवती गौतमले बताउनुभयो ।

बिशेष गरी गहकिलो काठ, सकेसम्म साल नभए पनि साज, हर्रो,बर्रो, चिलाउने, अमला, धँगेरोको ढिकी बनाउने चलन भए पनि पछिल्लो समय ढिकीमा प्रयोग गरीएका साल, साज, हर्रो, बर्रो र अमला जस्ता राम्रा काठहरु बनमा समेत दुर्लभ हुँदै गएको छ । आधुनिक कुटानी पिसानी मिलले समय र श्रमको बचत हुने भएपछि क्रमिक रूपमा ढिकी र जाँतोको प्रयोग कम हुन थालेको छ । मिलमा एकैछिनमा अन्न पिसिदिन्छ , ढिकी जाँतोमा घण्टौंसम्म समय र जनशक्तिको नाश हुने हुँदा मिलमा समय र श्रम दुवैको बचत हुने भएको कारण अवको पुस्तालाई ढिकी जाँतो चिनाउनुपर्ने समय आएको गृहिणी गौतमको कथन छ ।

बढ्दो आधुनिक प्रविधिको आकर्षण र प्रयोजनले गर्दा परम्परागत गाउँघरका ढिकीजाँतो लोप हुने क्रममा रहेको छ । अत्याधुनिक प्रविधि गाउँसम्म पुगेपछि ढिकीजाँतो जस्ता परम्परागत शैली र पहिचान ओझेलमा पर्दै गएका छन् । घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकअनुसार हाल जिल्लामा एक सयको संख्यामा मिलह सञ्चालनमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?