logo
२०८० चैत्र १६ शुक्रवार



कर्णालीमा दैनिक औसतमा ३४ जनामा कोरोना, सङ्क्रमण दर ५.९ प्रतिशत

खुला |


कर्णालीमा दैनिक औसतमा ३४ जनामा कोरोना, सङ्क्रमण दर ५.९ प्रतिशत



ललित बसेल
सुर्खेत, कात्तिक २ गते । कर्णालीमा अचेल दैनिक कोरोना संक्रमणको दर बढिरहेको छ । शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी, पत्रकार कोही पनि यसबाट बच्न सकेका छैनन् । कर्णालीमा गत जेठ ३ गतेदेखि कोरोना संक्रमण सुरुवात भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार जेठदेखि असोज मसान्तको कोरोना सङ्क्रमणको दर हेर्दा कर्णालीमा दैनिक औसतमा ३४ जनामा सङ्क्रमण देखिएको छ । शनिबार ११० जना, शुक्रबार १०१ जना, बिहीबार एक सय जनामा संक्रमण देखिएको थियो ।

मन्त्रालयका स्वास्थ्य शिक्षा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कर्णालीमा असोज मसान्तसम्मको संक्रमण दर हेर्दा औसतमा दैनिक ३४ जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । कर्णालीमा सबैभन्दा धेरै एकदिनमा १३३ जनामा पुष्टि भएको छ । असोज मसान्तसम्म कर्णालीमा कुल संक्रमितको संख्या चार हजार ९२५ जना रहेका छन् ।

२०—३९ वर्ष उमेरमा बढी सङ्क्रमित
कर्णालीमा उमेरगत हिसावमा सबैभन्दा बढी संक्रमित २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् । मन्त्रालयका अनुसार चार हजार ९२५ जना संक्रमित फेला पर्दा २० देखि २९ वर्ष उमेरका एक हजार ८६६ जना र ३० देखि २९ वर्ष उमेर समूहका एक हजार २८० जना गरी कुल तीन हजार १४६ जना सङ्क्रमित भएका छन् ।

यो उमेर समूहपछि १० देखि १९ वर्ष समूहका ५९२ जना, ४० देखि ४९ वर्ष उमेर समूहका ५७२ जना, एक वर्षदेखि ९ वर्ष उमेर समूहका १६९ जना, ५० देखि ५९ वर्ष उमेर समूहमा ९८ जना सङ्क्रमित भएका छन् ।
७० देखि ७९ वर्ष उमेर समूहका २७ जना, एक वर्ष भन्दा मुनिको समूहमा १२ जना, ८० देखि ८९ वर्ष उमेर समूहका १० जना र ९० वर्ष भन्दा माथिकोमा एक जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

७६ प्रतिशत पुरुष
असोज मसान्तसम्मको तथ्यांकमा कर्णालीमा ७६ प्रतिशत पुरुषहरु सङ्क्रमित भएका छन् । बाँकी २४ प्रतिशत महिला छन् । मन्त्रालयका अनुसार पुरुष सङ्क्रमितको संख्या तीन हजार ७६० र महिला सङ्क्रमितको संख्या एक हजार १६५ जना रहेका छन् ।

सङ्क्रमण दर ५.९ प्रतिशत
कर्णालीमा ८३ हजार ६६ वटा पिसिआर परीक्षण गर्दा सङ्क्रमण दर ५.९ प्रतिशत रहेको छ । नेपालको संक्रमण दर १०.१ प्रतिशत रहेको छ । यस्तै कोरोना संक्रमणबाट निको हुने दर राम्रो रहेको छ । नेपालमा निको हुने दर ६९.८ प्रतिशत रहेकोमा कर्णालीमा ७४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विश्वमा निको हुने दर ७५ प्रतिशत रहेको छ ।

मृत्युदर ०.२ प्रतिशत
कर्णालीमा कोरोनाबाट मृत्यु हुने दर ०.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालको मृत्यु दर ०.६ प्रतिशत रहेको छभने विश्वको दर २.८ प्रतिशत रहेको छ । यस्तै कोरोनाका सक्रिय सङ्क्रमित दर २५.१ प्रतिशत रहेको छ । असोज मसान्तसम्म एक हजार १९९ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा सक्रिय सङ्क्रमितको दर २९.६ प्रतिशत रहेको छ ।
असोज मसान्तसम्म कर्णालीमा सवैभन्दा धेरै सङ्क्रमित सुर्खेतमा रहेका छन् । सुर्खेतमा दुई हजार ८२ जना छन् । त्यसपछि दैलेखमा एक हजार २८८ जना, सल्यानमा ४६१ जना, जुम्लामा २६० जना, कालीकोटमा २१० जना, रुकुम पश्चिममा १५२ जना, जाजरकोटमा ८८ जना, हुम्लामा २६ जना, मुगुमा २० जना र डोल्पामा १४ जना सङ्क्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

६२ आईसीयु, २६ भेन्टिलेटरमा सङ्क्रमित
कर्णालीमा कोरोना सङ्क्रमितहरुको उपचारका लागि विभिन्न अस्पतालहरुमा आइसोलेशन र भेन्टिलेटरको व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा ६२ आईसीयू र २६ वेड भेन्टिलेटरको व्यवस्था गरिएको छ । सबैभन्दा धेरै सुर्खेतस्थित प्रदेश अस्पतालमा २५ वेड आईसीयु र १० वटा भेन्टिलेटर रहेका छन् । यस्तै आइसोलेशन बेड संख्या दुई हजार ९८ वटा रहेको छ ।

१३ जनाको मृत्यु
कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिवार सुर्खेतमा थप एक जनाको मृत्यु भएपछि संख्या १३ पुगेको हो । शनिबार वीरेन्द्रनगर नगरपालिका ९ का ४२ वर्षीय पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको बताउनुभयो । मृत्यु हुनेमा सुर्खेतका छ, दैलेखका चार, डोल्पा, कालिकोट र बाँकेका एक÷एक जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?