logo
२०८० चैत्र १६ शुक्रवार



जग्गाधनी स्थायी लालपुर्जा वितरण   

प्रदेश |


जग्गाधनी स्थायी लालपुर्जा वितरण   


नेपालगञ्ज, कात्तिक २ गते। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ र १८ स्थित वाटरपार्क जग्गा एकीकरण परियोजनाअन्तर्गतका जग्गाधनीलाई स्थायी लालपुर्जा वितरण शुरु गरिएको छ । एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनी उत्साहित भएका छन् ।    
नगरप्रमुख डा धवलशम्शेर राणा र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख डा राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भई सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो । स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत्लगायत कामका लागि करिब रु ८० करोडको बोलपत्र आह्वान प्रक्रियामा रहेको जनाइएको छ ।

उपमहानगरपालिकाका अनुसार परियोजनाअन्तर्गत घर निर्माणका लागि एकरुपता दिइने भएको छ । घरको डिजाइन र रङ एकै प्रकारको हुने भएको छ । डेढ वर्षभित्र सम्पूर्ण रुपमा परियोजनाको निर्माण सम्पन्न गर्ने गरी तयारी गरिएको छ ।

 विसं २०६७ मा आयोजना स्वीकृत भएको हो । अब स्थायी पुर्जा प्राप्त भएपछि स्थानीयवासीले घर निर्माणलगायत अन्य कार्य गर्न पाउने भएका छन् ।परियोजनाअन्तर्गत ६६२ जनालाई स्थायी पुर्जा वितरण गरिँदैछ । बाँकी जग्गा भने प्लटिङ गरी बिक्री गरिनेछ । वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ । ‘नौकाविहार, चमेनागृह र माछापालनका लागि ठेक्कासमेत भइसकेकाले केहि दिनभित्र सञ्चालनमा आउनेछ’, उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ । 

तलाउलाई पौडी पोखरीका रुपमा समेत विस्तार गरिएको छ । उद्यानमा आकर्षक र मनमोहक पूलबारी, बालोद्यान, व्यापारिक प्रयोजनका पसलकोठालगायत संरचना निर्माण भएका छन् । यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोडने २१ मिटर चौडाइको मुख्य सडक पनि उद्यानसँग जोडिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?