logo
२०७७ कार्तिक १२ बुधवार

आइतबारदेखि काभ्रेका मन्दिर पूर्ण रुपमा बन्द

प्रदेश |


2020-10-18-24980


केदार तिमल्सिना
बनेपा, कात्र्तिक २ गते । कोरोना संक्रमण बढेसँगै काभ्रेका मठमन्दिर तथा शक्तिपिठहरु आइतबारबाट पूर्णरुपमा बन्द गरिएको छ । गृह मन्त्रालयले कोरोना संक्रमण बढेसँगै दशैँको नवरात्रीमा विभिन्न मठमन्दिर तथा शक्तिपिठमा पूजा र बलि दिन निषेध गरेको थियो । जिल्लाा प्रशासन कार्यालय काभ्रेले काभ्रेमा रहेका मठमन्दिरमा सर्वसाधारणलाई पुजा गर्न र बलि दिन रोक लगाएको थियो । कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै मठमन्दिरमा पुजाआज गर्न रोक लगाए पनि नवरात्रीको पहिलो दिन शनिवार काभ्रेको पलाञ्चोक भगवतीमा सर्वसाधारणको भीड लागेको थियो ।
पलाञ्चोक भगवती मन्दिरका पुजारी रबिन्द्र बज्राचार्यले सर्वसाधारणका लागि शनिवार मन्दिर खुल्ला गरिए पनि जिल्ला प्रशासन, पाँचखाल नगरपालिका र वडा कार्यालयको सूचनापछि आईतबारदेखि मन्दिरमा पूजा र बलि दिन बन्द गरिएको बताउनुभयो । उहाँले मन्दिरमा हुने नित्य पूजा र आरती मात्रै हुने बताउनुभयो । उहाँले आईतबार पनि मन्दिरमा दर्शन गर्नका लागि दर्शनार्थी आएको र उनीहरु बाहिरबाट नै फर्किएको बताउनुभयो । उहाँले मन्दिर दर्शन गर्न आउने दर्शनार्थीले फुलपाती चढाइदिन आग्रह गरे पनि त्यो काम बन्द गरिएको बताउनुभयो । उहाँले दशैँको कोजाग्रत पूर्णिमासम्म मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाइने बताउनुभयो ।
यसैगरी शनिवार खुल्ला गरिएको नाला भगवती मन्दिर पनि आईतबारबाट पूर्ण रुपमा बन्द गरिएको छ । नाला उग्रचण्डी भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले जिल्ला प्रशासन कार्यालयको अर्को आदेश नभएसम्म मन्दिर पूर्ण रुपमा बन्द गरिने बताउनुभयो । उहाँले स्थानीय प्रहरी चौकी, वडा अध्यक्ष तथा सरोकारवालासँग छलफल गरेर मन्दिर बन्द गरिएको बताउनुभयो । कर्माचार्यले आईतबार पनि नाला भगवतीको दर्शन गर्न दर्शनार्थी आएपनि बाहिरबाट नै फूलपाती चढाएर फर्किएको बताउनुभयो ।
यसैगरी बनेपाको चण्डेश्वरी मन्दिर भने शनिवारदेखि नै पूर्ण रुपमा बन्द गरिएको छ । मन्दिरमा सर्वसाधारणलाई पुजा गर्न रोक लगाए पनि मन्दिरमा हुने नियमित पूजा र आरती भने नरोकिने मन्दिर व्यवस्थापन समितिले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?