logo
२०८१ बैशाख १२ बुधवार



नवलपुर जिल्लाअस्पतालमा पीसीआर मेशिन , मंसिरबाट परीक्षण थालिने

प्रदेश |


नवलपुर जिल्लाअस्पतालमा पीसीआर मेशिन , मंसिरबाट परीक्षण थालिने


ज्ञानु पंगेनी
कावासोती , कात्तिक १ गते । नवलपुर जिल्ला अस्पतालबाट नै अब स्वाब परीक्षण हुने भएको छ । नवलपरासी पूर्व ( नवलपुरको ) मध्यविन्दु जिल्ला अस्पताललाई शनिबार पिसिआर मेशिन हस्तान्तण गरिएपछि अब जिल्लामै स्वाब परीक्षण हुने भएको हो ।
स्वाब परीक्षणका लागि चितवन , हेटौंडा र पोखरा पठाउनुपर्ने बाध्यता समेत अब केहि समयमा हट्ने छ । पूर्वाधर र जनशक्तिको व्यवस्थापन गरेपछि आउदो मंसिर महिनाबाट जिल्ला अस्पतालबाट नै स्वाब परीक्षण गर्ने कार्य थालनी हुने जिल्ला स्वास्थ्य कार्याय नवलपरासी पूर्वका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो ।
शनिबार एक औपचारिक कार्यक्रमका बिच संघिय सासंद तिलक महतले जिल्ला अस्पतालका व्यवस्थापन समिति अध्यक्ष गोपाल खनाललाई पिसिआर मेसिन हस्तान्तरण गर्नुभयो । सासंद महतको पहलमा स्वास्थ्य मन्त्रालयले जिल्लामा पिसिआर मेसिन पठाएको हो । मेसिनसंगै परीक्षण किट र आवश्यक अन्य स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको छ । करीब एक करोड रुपैँया बराबरको मेसिन र सामाग्री उपलब्ध भएको सासंद महतले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै सासंद महतले संघिय सरकारबाट पिसिआर मेसिन उपलब्ध भएको भन्दै मेसिन संचालनका लागि आवश्यक पूर्वाधार निर्माण र जनशक्तिको छिट्टै व्यवस्थापन हुने बताउनुभयो । उहाँले बजेटका लागि कुनै चिन्ता लिन नपर्ने बताउनुभयो । उहाँले छिटो भन्दा छिटो काम गर्न समेत अस्पताल प्रशाशनलाई आग्रह गर्नुभयो । नवलपुरवासीको मागलाई सरकारले सम्बोधन गरेर पिसिआर मेसिन उपलब्ध गराएको भन्दै उहाँले देशकै नमुना बन्ने गरि काम गर्न अस्पताल प्रशाशनलाई आग्रह गर्नुभयो ।
पिसिआर मेसिनका लागि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्वालिटी परीक्षण लगायका काम गर्नुपर्ने भएकाले आउँदो मंसिबाट मात्रै मेसिनबाट परीक्षणको काम हुने जिल्ला अस्पतालका कोभिड १९ फोकल पर्सन डाक्टर शिवराज न्यौपानेले बताउनुभयो । मेसिन संचालनका लागि चार वटा कोठाको आवश्यकता पर्ने उहाँले बताउनुभयो । भाइरस बाहिर ननिस्कने गरि सुरक्षित ल्याबको निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले दक्ष जनशक्ति पनि अस्पतालमा नभएकाले सबैको व्यवस्थापन गर्न अझै एक महिना लाग्ने उहाँको भनाई छ । मेसिन संचालनमा आएर आवश्यक जनशक्ति परिचालन हुन सकेमा दैनिक चार सय वटासम्म स्वाबको परीक्षण गर्न सकिने न्यौपानेले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?