logo
२०८० चैत्र १५ बिहीवार



दुई महिनामा १३९ जनामा स्क्रबटाईफस   

स्वास्थ्य |
खुला |


दुई महिनामा १३९ जनामा स्क्रबटाईफस   


चितवन, असोज १४ गते। दिनहुँ कोरोना सङ्क्रमित बढिरहेको समयमा जिल्लामा स्क्रबटाईफस र डेङ्गुको सङ्क्रमित पनि बढिरहेको छ । साउन १ गतेदेखि हालसम्म १३९ जनामा स्क्रबटाईफस र ३१ जनामा डेङ्गु सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो अवधिमा भरतपुर अस्पतालमा उपचार गराएका ३९ महिला र २९ पुरुष गरी ६८, चितवन मेडिकल कलेजमा ३९ महिला र २३ पुरुष गरी ६२ र कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ६ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।    
    
यसैगरी मनकामना अस्पतालमा उपचार गराएका एक पुरुष, नारायणी सामुदायिक र नेशनल सिटी अस्पतालमा एक÷एक महिलामा सङ्क्रमण पुष्टि भएको कार्यालयका किट नियन्त्रण निरीक्षक गीता आचार्यले जानकारी दिनुभयो । यस्तै भरतपुर अस्पतालमा उपचार गराएका सात महिला र २० पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा दुई पुरुष र नेशनल सिटी अस्पतालमा दुई महिलामा पनि यही अवधिमा डेङ्गु देखिएको छ ।    
    
मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रबटाईफस हुने भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरिले जानकारी दिनुभयो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने र पेट दुख्ने अग्रहरिले बताउनुभयो ।    
    
यसैगरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेङ्गु हो । यसको सङ्क्रमणमा शुरूआती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा बढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्ष्यण देखा पर्ने डा. अग्रहरिको भनाइ छ । गत हप्ता परेको निरन्तर वर्षाले जिल्लाका शहरी क्षेत्र डुवानमा परेको थियो । अझै पनि ती ठाउँहरुमा पानी जमेको छ । जमेको पानीका कारण यस्ता रोगहरुको सङ्क्रमण अझै बढ्न सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?