logo
२०८० चैत्र १५ बिहीवार



नेपालको पर्यटकीय छवि

विचार/दृष्टिकोण |


नेपालको पर्यटकीय छवि


पूर्णहरि अमात्य

काठमाडौँबाट मात्र ३० किमि परको सानो सुन्दर सहर धुलिखेलका पायोनिर पर्यटन उद्यमी बेलप्रसाद श्रेष्ठ करिब ४० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै उहाँले होटल व्यवसायमा करिब १० करोड लगानी गर्नुभएको थियो । तर, कोभिड–१९ को महामारीले उहाँको त्यो लगानी सङ्कटमा परेको छ । उहाँ हाल बैङ्कबाट लिएको आठ करोड रुपियाँ ऋण अब कसरी तिर्ने भन्ने चिन्तामा हुनुहुन्छ ।
सामान्य अवस्था हुँदा भरिभराउ हुने उहाँको होटलका स्टाफ (कामदार) लाई पाहुनाहरूको सेवा गर्न भ्याइ–नभ्याइ हुन्थ्यो । कोभिड–१९ महामारीपछि उहाँको होटल भूतबङ्गलाझैँ भएको छ, पाहुनाको अभावमा । श्रेष्ठमात्र हैन, यो महामारीबाट विश्वकै पर्यटन उद्योग थला परेको छ । र, यो महामारी कहिलेसम्म नियन्त्रणमा आउने भन्ने कसैले ठोकुवाका साथ भन्न सकेका छैनन् । यस्तो अवस्थामा देशको पर्यटन उद्योगलाई गतिशील बनाउन के गर्ने त ? यसका लागि सबैभन्दा पहिले हामी पर्यटन क्षेत्रमा असर पार्दा यसले प्रत्यक्ष संलग्नहरूलाई मात्र असर पार्छ वा यो समस्या उनीहरूको मात्र हो भन्ने मानसिकताबाट हामी मुक्त हुनुपर्छ । किनकि पर्यटन एउटा बहुआयामिक सेवा उद्योग हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पर्यटक अवतरण गरेपछि मुद्रा सटही, ट्याक्सी, होटल, रेष्टुराँ, पब, सोभेनियर सप आदि अनेकौँ सेवाप्रदायकहरूसँग जोडिन पुग्छन् । र, यसले आर्थिक क्रियाकलाप चलायमान बनाउन सक्रिय भूमिका खेलिरहेको हुन्छ । हाल होटल, रिसोर्ट, रेष्टुराँ तथा पबहरू बन्द हुँदा काठमाडौँ उपत्यकाका काँठ क्षेत्रमा उत्पादित खाद्यान्न, मासु, अण्डा, दुग्ध पदार्थ र फलफूलको उपभोग पनि निकै घटेको छ । त्यसैगरी पोखरा, चितवन, सोलुखुम्बु र लाङटाङ क्षेत्रमा पर्यटकको अभावमा त्यहाँ उत्पादित वस्तुहरूमात्र बिक्री नभएका होइनन्, टुरिस्ट गाइड, भरिया तथा कुकहरूको रोजीरोटीसमेत खोसिएको छ । एउटा अध्ययनले के देखाएको छ भने एउटा पर्यटकले नेपाल भ्रमण गर्दा नौजनाले रोजगारी पाउँछन् ।
कुनै पनि पर्यटक आफ्नो एकैखाले दैनिकीबाट रिफ्रेस (पुनर्ताजगी) हुने चाहनाले नयाँ ठाउँ भ्रमण गर्न उत्प्रेरित हुन्छ । र, त्यसैक्रममा एउटा पर्यटक एउटा नयाँ सहरको खोजीमा निस्कन्छ, एउटा नयाँ व्यञ्जन
(कुजिन) को स्वाद चाख्छ र नयनाभिराम (प्यानोरमा) दृश्यहरूको अवलोकन गर्छ । त्यसैले नेपाल भ्रमणमा माथि भनिएको मज्जा लिन लामो दूरी (लङ हल)को हवाई यात्रा गरेर विदेशी हाम्रो देशमा आउँछन् । पश्चिमाहरूले भनेझैंँ नेपाल थर्ड वल्र्ड (तेस्रो विश्व) हुँदै होइन, यो त अनोदर वल्र्ड (अर्को विश्व) हो । भूगोल, इतिहास तथा संस्कृतिको बेजोड समिश्रणले चाखलाग्दो लोकप्रिय मुलुकको छवि नेपालले बोकेको छ ।
नेपाल आफ्नो विशिष्ट विशेषता, विविधतता, सरलता, शान्त तथा रहस्यमय (मिस्ट्रिक) मुलुकका रूपमा विश्वभर प्रसिद्ध छ । सन् १९५० को दशकमा बाहिरी दुनियाँका लागि नेपालले आफ्नो ढोका खोल्दा लामो दूरी (लङहल)को यात्रा तय गरेर आउने यात्रीहरू नेपाल आमोद–प्रमोदका लागि मात्र नभई, साँस्कृतिक तथा आध्यात्मिक चासो भएका विद्वान्, अन्वेषणक तथा रहस्य खोतल्न चाहनेहरू हुन्थे । बहुजातीय, बहुभाषी तथा बहुसाँस्कृतिक हाम्रो परम्परा उनीहरूका लागि निकै चाखको विषय हो । तर, यी अपार विशेषताहरूलाई हामीले पर्यटन प्रवद्र्धनमा उपयोग गर्न अझसम्म सकेका छैनौँ । नेपालले बजारमुखी अर्थतन्त्र अँगालेको सन् १९९० को दशकपछि हो । त्यसयता पर्यटन, व्यापार तथा लगानीका लागि हामी समग्र विश्व प्रतिस्पर्धा (वल्र्ड कम्पिटिटिभनेस)अन्तर्गत १४० मुलुकमध्ये १००औँ स्थानमा छौँ । त्यसैगरी, विद्यमान प्रकृतिको मूल्याङ्कन गर्दा ‘वल्र्ड ट्राभल एन्ड टुरिजम कम्पिटिटिभनेस इन्डेक्स २०१५’ का अनुसार १४१ मुलुकमध्ये हामी १०२ स्थानमा छौँ । कोभिड सङ्क्रमणको विश्वव्यापी प्रभावका कारण दिवङ्गत पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा वर्तमान पर्यटनमन्त्री योगेश भट्टराईद्वारा घोषित महŒवाकाङ्क्षी योजना जीडीपीमा पर्यटनबाट २५ प्रतिशत योगदान सोम शर्माको सातुमा परिणत हुने स्पष्ट देखिन्छ । किनकि केही दशकअघिसम्म बढी खर्च (हाइइन्ड) गर्ने पर्यटकहरू राम्रो सङ्ख्यामा नेपाल आउँथे । तर, हाल प्रतिदिन ४४ डलर खर्च गर्नेहरूको सङ्ख्या बढिरहेको छ । योभन्दा बढी खर्च त हाम्रा आन्तरिक पर्यटकले नै खर्च गर्ने गरेको काठमाडौँ, पोखरा तथा चितवनका पर्यटन व्यवसायीहरूको अनुभव छ । प्रशस्त पैसा खर्च गर्ने पर्यटकहरू हाल न्यून सङ्ख्यामा नेपाल भ्रमण गर्छन् । जङ्गल सफारीका लागि विश्वप्रसिद्ध चितवन जङ्गलभित्रका छवटा रिसोर्टको सञ्चालनमा नेपालले प्रतिबन्ध लगाएपछि त्यस्ता पर्यटकको आगमन स्वात्तै घटेको बताइन्छ । त्यसैगरी, स्याङ्बोचेमा रहेको एभरेष्ट भ्यु होटलमा हेलिकोप्टर चार्टर गरेर जाने स्तरीय पर्यटकको सङ्ख्यामा पनि कमी आएको छ । ०७२ को भूकम्पपछि पर्यटक आगमन २५ प्रतिशत (दक्षिण एसियामा अग्रगामी)सम्मले वृद्धि भयो । तर, टाउको गन्ती धेरै, आम्दानीचाहिँ थोरै भयो । टाइगर टप्सजस्तो गुणस्तरीय सेवा सौराहमा रहेका होटलहरूले दिन सक्दैनन् ।
सन् ७०–८० दशकलाई नेपाली पर्यटन व्यवसायीहरू स्वर्णकाल मान्छन् । किनकि पर्यटक उद्गम बजारहरूमा नेपालको साँग्रिला
(स्वर्ग) छवि थियो । हिप्पीहरू नेपाल भ्रमणबाट फर्केपछि यहाँका प्राकृतिक सौन्दर्यता, जैविक विविधता र धनी जीवन्त संस्कृति विशेषताहरूको आफ्ना इष्टमित्रहरूलाई बखान गरेर यस देशको भ्रमण गर्न उत्प्रेरित गर्थे । तत्कालीन शाही नेपाल वायु सेवा निगमको दुईवटा बोइङबाट फ्र्याङ्कफोर्ट (जर्मनी), पेरिस (फ्रान्स) र लन्डन
(बेलायत)मा सोझो हवाई उडानले ठूलो सङ्ख्यामा अभिजात्य युरोपियन पर्यटकहरूले नेपालको भ्रमण गर्थे । तर, हाल नेपाल वायुसेवा निगम (नेवानि)सँग दुई न्यारो बडी र दुई वाइड बडी जहाज हुँदा पनि युरोपतिरको उडान गर्न पाइरहेको छैन ।
पर्यटकलाई नेपाल बसाइ सस्तो छ । तर, हवाई भाडा महँगो भएकाले सस्तो हवाई भाडा भएको गन्तव्यतिर पर्यटक मोडिन बाध्य छन् । चीनको विशाल बजारसँग पनि यही समस्या छ । विगतमा चीनको साङ्घाई सहर नेपाल एयरलाइन्सको सोझो उडान हुँदा चिनियाँ पर्यटकलाई नेपाल भ्रमण सस्तो थियो । तर, हाल चीनमा उडान छैन । नेपालमा उडान भर्ने चिनियाँ एयरलाइन्सहरूले बढी भाडा असुल्ने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । हालसम्म नेपालले ४० वटा मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तर, त्यसअनुरूप सोझो हवाई सम्पर्क काठमाडौँसँग हुन सकेको छैन । दक्षिण–पूर्व एसिया (आसियान)मा ठूलो सङ्ख्यामा रहेका बुद्धिस्ट मुलुकहरूमा थाइल्यान्डबाहेक अन्य देशमा नेपाल एअरलाइन्सको एउटा पनि उडान छैन । १५÷१६ घन्टा उड्नुपर्ने नेवानिको जहाजले छ÷सात घण्टाको उडानमा खुम्चेर बस्नुपर्ने स्थिति छ ।
विदेशमा नेपाल भनेपछि हिमाली राज्य भन्नेमात्र बुझिन्छ । हाम्रा पर्यटकीय गन्तव्यहरू– हिमाली क्षेत्र तथा पदयात्रा मार्गहरूले प्रशस्त प्रचार पाइसकेका छन् । तर, सुदूरपूर्वको कञ्चनजङ्घा क्षेत्र, गौरीशङ्कर क्षेत्र (दोलखा), सुदूरपश्चिमको शे–फोक्सुन्डो, राराताल, कर्णाली नदीजस्तो ¥याफ्टिङका लागि ‘भर्जिन ल्यान्ड’ र सबैभन्दा बढी पाटेबाघको घनत्व भएको बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन उद्गम बजारमा अत्यन्त न्यून प्रचार–प्रसार छ ।
कोभिड–१९ को दुष्प्रभावले विश्वभरि नै वित्तीय सङ्कट सिर्जना भएको छ । पर्यटन गतिविधिहरू पुरानै लयमा आउन चार÷पाँच वर्ष लाग्ने सम्बन्धित विज्ञहरूको अनुमान छ । पर्यटन उद्योगलाई ‘नेभर इन्डिङ, इभर चेन्जिङ’ (कहिल्यै अन्त्य नहुने, परिवर्तन भइरहने) भनिन्छ । नेपालले पर्यटकलाई आकर्षित गर्न, एयरलाइन्सहरूलाई प्रोत्साहित गर्न केही सुविधाहरू प्रदान गर्नुपर्छ । विदेशी एयरलाइन्सहरूले वर्षौंदेखि नेपालमा हवाई इन्धन संसारमै सबैभन्दा महँगो भएको भन्दै आएका छन् । नेपाल भ्रमण गर्ने उपयुक्त मौसम शरद ऋतु हो । विदेशीहरू नेपाल भ्रमण गर्ने र स्वदेशीहरू पनि दसैँ र तिहारको लामो बिदामा गर्ने ‘पिक सिजन’ भएकाले नेपालका पर्यटन व्यवसायीहरूले यस वर्ष विशेष छुटको व्यवस्था गरेर आफ्नो व्यवसायलाई पुनर्जीवित गर्न सक्छन् । हरेक वर्ष चाडबाडमा यातायात व्यवसायीहरूले मनमौजी भाडा असुल्ने परम्परा त्याग्दै सहुलियत भाडा दरको घोषणा गरेर पर्यटकलाई आकर्षित गर्दा आफ्नै भलाइ हुन्छ । 
(लेखक नेपाल वातावरण पत्रकार समूहमा आबद्ध हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?