logo
२०८० चैत्र १५ बिहीवार



बबई क्याम्पसका प्रमुखको कोरोनाबाट मृत्यु

प्रदेश |


बबई क्याम्पसका प्रमुखको कोरोनाबाट मृत्यु


सिराज खान
नेपालगञ्ज, असोज १० गते । बर्दिया जिल्लाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुखको शनिबार दिउँसो कोरोनाबाट भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले दिनुभएको जानकारी अनुसार बर्दिया गुलरियासिथत बबईका क्याम्पसप्रमुख विनोद अग्रवालको उपचारका क्रममा भेरी अस्पतालमा शनिवार दिउँसो मृत्यु भएको हो ।
उहाँले ५० वर्षीय अग्रवाललाई सास फेर्न समस्या भएपछि शनिवार नै थप उपचारका लागि भेरी अस्पतालमा ल्याईएको बताउनुभयो ।
गत दुई वर्षदेखि फोक्सोको क्यान्सरबाट पिडित अग्रवाललाई शनिवार विहान एक्कासि सास फेर्न समस्या भएपछि उहाँ आफै एम्बुलेन्स चढेर भेरी अस्पताल पुग्नुभएको थियो ।
तर, उहाँको उपचार राम्ररी शुरु गर्न नपाउँदै हर्ट अटेक भै उहाँको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । एक दशक अघिदेखि क्याम्पस प्रमुखको जिम्मेवारीमा रहनुभएका अग्रवालको फोक्सोमा क्यान्सर देखिएपछि गत दुई वर्षदेखि उहाँको उपचार भारतको नयाँदिल्लीस्थित राजीव गाँधी अस्पतालमा भैरहेको आफन्तले जनाएका छन् ।
गत सातानै राजीव गाँधी अस्पतालबाट उपचार गराएर फर्किएपछि उहाँको स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि कुनै लक्षण नदेखिएकोले उहाँ होम आइसोलेसनमा बस्नु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
उहाँको परिवारिक स्रोत अनुसार पछिल्लोपटक राजीव गाँधी अस्पताल दिल्लीमा चिकित्सकले किमो चढाएका थिए ।
अग्रवालको मृत्युसंगै बाँकेका अस्पतालहरुमा कोरोनाबाट मर्ने बाहिरी जिल्लाका नागरिकको संंख्या ६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?