logo
२०८० चैत्र १५ बिहीवार



गाडी चले, यात्रु आएनन्

प्रदेश |


गाडी चले, यात्रु आएनन्


प्रदेश १ ब्यूरो

विराटनगर, असोज ७ गते । लामो समयको बन्दाबन्दीपछि असोज १ गतेदेखि यातायात क्षेत्र सञ्चालनमा आएको छ । यातायात क्षेत्रको सञ्चालनसँगै व्यवसायीमा उत्साह त थपिएको छ तर सडक यातायात प्रति सर्वसाधारणको विश्वास जाग्न सकेको छैन ।
यात्रुको अभावमा बसपार्कबाट छु्टेका बस रित्तै हुने गर्छन् । ‘यात्रु भेटिँदैनन्, बाटो नै सुनसान हुन्छ, तेल खर्च उठिरहेको छैन’– विराटनगरदेखि उदयपुरको बेलकासम्म जाने यात्रुबाहक बसका चालक रामबहादुर खड्काले भन्नुभयो ।
३१ सिट भएको यो बसमा सात–आठ जना मात्रै यात्रु चढ्ने गरेको खड्काको भनाइ छ । स्वास्थ्य मापदण्ड अनुसार पनि १६ जनासम्म यात्रु राख्न सक्ने भए पनि बाटामा यात्रु नभेटिने गरेको चालक खड्काले बताउनुभयो ।
विराटनगर बसपार्कमा रहेको ट्राफिक बिटको तथ्याङ्कमा पछिल्लो तीन दिनमा दैनिक १२० को हाराहारीमा मात्रै बस छुट्ने गरेको देखिन्छ । बन्दाबन्दीअघि विराटनगर बसपार्कबाट सामान्य अवस्था रहँदा लामो तथा छोटो दूरीका दैनिक २५० देखि २८० बस छुट्ने गरेका थिए ।
मङ्गलबार विराटनगरबाट लामो दूरी अन्तर्गत काठमाडौँका लागि छ, भैरहवाका लागि एक, नारायणगढका लागि दुई र नेपालगञ्जका लागि एउटा बस छुटेको छ  । आन्तरिक उडान खुलेपछि विराटनगर–काठमाडौँ चल्ने बसको सङ्ख्या अझै घटेको छ । हवाई मार्ग खुल्ला गरिएको र भाडादर अति न्यून भएका कारण काठमाडौँ जाने यात्रुले बसलाई भन्दा हवाइजहाजको यात्रालाई छान्न सक्ने विकल्प रहेको सुनौलो पूर्व नेपाल यातायातका राजु धमलाको भनाइ छ । बसमा ५० प्रतिशत भाडा बृद्धि गरेर ५० प्रतिशत नै यात्रु राख्नुपर्ने नियम छ । लामो दूरी भएका कारण सुरक्षित खानपिन र उठबस जस्ता कुरामा अति सावधानी अपनाउनुपर्ने बाध्यताले पनि यात्रुले हवाइमार्गलाई नै रोज्ने गरेको धमलाले बताउनुभयो ।
झापाका विभिन्न स्थानबाट सञ्चालन हुने सवारी साधनको पनि यस्तै अवस्था छ । ती सवारी साधनले पनि यात्रु पाएका छ्रैनन् । असोज ५ गतेदेखि झापा जिल्लाका सबै बस काउन्टरले सेवा सञ्चालनमा ल्याए पनि यात्रु नआउँदा गाडी खाली नै कुदाउनुपरेको मेची बस प्रा.लि.का अध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो । “यातायात व्यवसायीले सडकमा गाडी गुडाउनु भनेको गाडीलाई मर्निङवाक गराउनुजस्तै भएको छ । तेल र कर्मचारीको आधा रकम पनि भाडाबाट उठ्दैन”, श्रेष्ठले भन्नुभयो ।
नेपालको पूर्वीनाका काँकडभिट्टाबाट कोरोना महामारीअघि काठमाडौँ लगायातका गन्तव्यमा साना ठूला गरी दैनिक दुई हजार पाँच सय जति सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने गर्थे तर अहिले मुस्किलले २५० सवारी साधन सञ्चालनमा भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
झापा बिर्तामोडबाट पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर लगायतका जिल्लामा सेवा दिँदै आएका करिब तीन सय साना सवारी साधनमध्ये यतिबेला मुस्किलले दैनिक एक दर्जन सवारी साधन मात्रै सञ्चालनमा रहेको बताइएको छ ।

केही आशा पलाएको छ
भारतबाट नेपाल आइ होल्डिङ सेन्टरमा रहेकाहरुको पीसीआर रिर्पोट नेगेटिभ भएमा मङ्गलबारदेखि सार्वजनिक यातायातबाटै आफ्नो गन्तव्य जान पाउने निर्णय भएकाले आगामी दिन केही सहज हुने आशा यातायात व्यवसायीको छ ।
काकडभिट्टा नाका भएर भारतबाट नेपाल आउने नेपाली यात्रुको सङ्ख्या पनि दैनिक ठूलै हुने भएकाले यसले व्यवसायीलाई केही उत्साहित बनाएको हो । उदयपुरको गाईघाटबाट विभिन्न क्षेत्रमा सञ्चालन हुने सवारी साधनले पनि यात्रु पाएका छैनन् । सार्वजनिक यातायातका साधनले सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरे पनि कोरोना भाइरसको मनोवैज्ञानिक त्रासका कारण सार्वजनिक यातायातका साधनमा यात्रुको अभाव भएको यातायात व्यवसायीले बताएका छन् ।

जाँच नियमित छ
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटलगायत कटारी, बेलटार र रामपुरबाट सञ्चालन हुने सबै किसिमका सार्वजनिक यातायातका साधनले अपनाउने सुरक्षा मापदण्डका विषयमा सुरक्षा चेकपोष्टहरुले नियमित जाँच गर्ने गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होमप्रसाद खनाल बताउनुभयो ।
सवारी साधनमा यात्रुले माक्स र स्यानिटाइजरको प्रयोग गरे नगरेको, सामाजिक दूरी कायम गरे नगरेको, सरकारी मापदण्ड अनुसार यात्रुको व्यवस्थापन भए नभएको र सरकारले निर्धारण गरेअनुसार भाडा लिए नलिएको जस्ता विषयमा निगरानी भइरहेको प्रहरी नायव निरीक्षक खनालले बताउनुभयो

सुनसरीमा यात्रुको चहलपहल बढ्यो
सुनसरीका केही बजार क्षेत्रमा भने यात्रुको चहलपहल बढेको छ । विशेष गरी सुनसरीको सदरमुकाम इनरुवा, इटहरी र धरान क्षेत्रमा यात्रुको चहलपहल बढेको हो । लामो समय देखिको बन्दाबन्दीका कारण काम तथा रोजगारमा जान नपाएका, आफन्तसँग भेटघाट गर्न नपाएकाहरु बाहिर निस्किएपछि यात्रुको चाप बढेको हो ।
जिल्लामा भित्रिने र बाहिरिने दुबै खाले सवारी साधनमा यात्रुको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।

मापदण्ड अनुसार नै सञ्चालन
सोलुखुम्बुबाट चल्ने बसले पनि सेवा सञ्चालन गर्न थालेका छन् । सदरमुकाम सल्लेरीबाट पूर्वको काँकडभिट्टा र काठमाडाँैका लागि दैनिक एक÷एक वटा बस छुट्ने गरेका छन् । बस सञ्चालक कम्पनी मातृभाग्यरेखाका सोलुखुम्बु काउण्टर इन्चार्ज केवल रानामगरका अनुसार बसलाई सरसफाइ गरी यात्रुलाई मास्क र स्यानिटाइजर निःशुल्क उपलब्ध गराउने व्यवस्था छ । बसको एकापट्टिको दुई सिटमा एक जना मात्र यात्रु राखेर यात्रा गराउने गरेको उहाँले बताउनुभयो ।
बसले सरकारको निर्देशन अनुसार साबिक भाडादरमा ५० प्रतिशत बढाएर लिएको छ । हाल पूर्वका लागि दुई हजार तीन सय रुपियाँ र काठमाडौँका लागि एक हजार आठ सय रुपियाँ भाडा तोकिएको छ ।

(मोरङबाट नवराज कट्टेल, सुनसरीबाट जयकृष्ण यादव, झापाबाट लीला झापाली, उदयपुरबाट भक्तिविलाश पोखरेल र सोलुखुम्बुबाट सन्तोष राउतको सहयोगमा)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?