logo
२०८१ बैशाख १३ बिहीवार



  सिसी क्यामेराको निगरानीमा मालपोत कार्यालय   

प्रदेश |


  सिसी क्यामेराको निगरानीमा मालपोत कार्यालय   


तनहुँ,असोज ५ गते।  मालपोत कार्यालय तनहुँको गतिविधिलाई सिसी क्यामेराले निगरानी गरिराखेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभागको सहयोगमा साउण्ड रेकर्डर्को सिसी क्यामेरा जडान गरिएपछि सो कार्यालयको गतिविधिको निगरानी भइरहेको हो ।    
    
मन्त्रालय र विभागले सबै मालपोत कार्यालयमा सिसी क्यामेरा जडान गर्ने अभियान थालेको छ । सिसी क्यामेरामा रेकर्ड भएका कुरा छ महिनासम्म सुरक्षित रहने मालपोत कार्यालय तनहुँले जनाएको छ । सिसी क्यामेरा जडानले लेखापढी कानून व्यवसायी र कर्मचारीबीच हुने भनिएको आर्थिक चलखेल र अनियमितता पूर्णरुपमा अन्त्य हुने विश्वास गरिएको मालपोत कार्यालय तनहुँका प्रमुख शेरबहादुर भण्डारीले बताउनुभयो ।    
    
उहाँका अनुसार कार्यालयको सुरक्षा, कर्मचारीद्वारा सेवाग्राहीलाई गरिने व्यवहार, कार्यमा पारदर्शीता, अभिलेखको सुरक्षालगायतका क्षेत्रमा सिसी क्यामेराबाट निगरानी बढाइएको छ । “कार्यालयको १५ वटै कोठामा सिसी क्यामेरा जडान गरिएको छ”, उहाँले भन्नुभयो, “सिसी क्यामेरा जडानपश्चात लेखापढी कानून व्यवसायीलाई कार्यालयको फाँटमा पस्न रोक लगाइएको छ ।”    
कार्यालयले महिला, दलित, जनजाति, शहीद, अपाङ्गता र कृषि फार्मको लागि रजिष्ट्रेशन पास गर्दा २५ प्रतिशत राजस्वमा छुटको व्यवस्था गरेको छ । प्रायः दैनिक भीडभाड हुने यो कार्यालयमा कोभिड– १९ का कारण पछिल्लो समय सुनसान जस्तै देखिएको थियो । अहिले पुनः सेवाग्राहीको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ । कार्यालयले आव ०७५-७६ मा रु २८ करोड ५८ लाख ६९ हजार १९९ र आर्थिक वर्ष ०७६-७७ मा रु २४ करोड ४६ लाख ४८ हजार ८४ राजस्वमा सङ्कलन गरेको जनाएको छ ।    
    
लकडाउनका कारण करिब तीन महिना कार्यालय बन्द नै गर्नुपरेकाले यस आवमा राजस्वमा सङ्कलनमा अझै कमी आउनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?