logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा सचिवालय बैठक सकियाे मन्त्रिपरिषद् पुनर्गठन बारे नीतिगत छलफल 

मुख्य समाचार |


नेकपा सचिवालय बैठक सकियाे मन्त्रिपरिषद् पुनर्गठन बारे नीतिगत छलफल 


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । पेरिसडाँडामा करिब साढे तीन घण्टा बसेको बैठकले सरकारको काम कारवाहीलाई थप प्रभावकारी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अहिले सरकारले गरिरहेको काममा थप प्रभावकारी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठनको कुरा भएको छ, तर त्यसको ठोस खाका बन्न बाँकी छ ।
आजको बैठकमा सो विषयको कार्यसूचीले विषय प्रवेश पाए पनि अर्को बैठकमा त्यसबारे थप छलफल हुने उहाँले बताउनुभयो । त्यसबारे नीतिगत सुझाव बैठकमा दिइएको उहाँले जानकारी दिनुभयो । अर्को बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडामै बस्ने उहाँले जानकारी दिनुभयो । पार्टीको स्थायी कमिटीको निस्कर्ष र निर्णयलाई कार्यान्वयन गर्नेगरी सचिवालय बैठक बसेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
आजको बैठकमा चारवटा कार्यसूची तय गरिएको उहाँले बताउनुभयो । पहिलो– कार्यसूचीमा मन्त्रिपरिषदको पुनर्गठन, दोस्रो संवैधानिक–राजनीतिक नियुक्तिको विषय रहेको उहाँले बताउनुभयो । सरकारलाई निर्णय गर्न आधार तयार गर्न सजिलो बनाउनेगरी सचिवालय बैठकमा विभिन्न कोणबाट छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, तेस्रो–कार्यसूचीमा संगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने विषय र चौथो– विविध कार्यसूची तय गरिएको उहाँले बताउनुभयो ।
विविध अन्तर्गत संगठन विभागका निर्णयका सन्दर्भमा छलफल हुने उहाँले बताउनुभयो । स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको स्थानमा पदपूर्ति गर्ने, यसअघि भएको केही कारवाहीका निर्णय बारेमा समेत छलफल भएको बताउनुभयो । केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमितरुपमा आर्थिक सहयोग गर्ने या के गर्ने ? विषयमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । संघीय संसदका सदस्यहरुलाई कोभिड १९ को विषयमा बैठक भत्ता के गर्ने बारेमा पनि छलफलको विषय रहेको उहाँले बताउनुभयो ।
आइतबारको बैठकमा पहिलो एजेण्डामै केन्द्रित भएर छलफल भएपनि स्पष्ट खाका बन्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यका लागि विभिन्न कोणबाट छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 
 
 
 
 
 
 
 
Aa

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?